भव्यताका साथ पृथ्वी जयन्ती मनाइने तयारी

भव्यताका साथ पृथ्वी जयन्ती मनाइने तयारी


पृथ्वी जयन्ती मनाइने

काठमाडौं । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९४ औँ जन्मजयन्तीको अवसरमा पुस २७ गते प्रज्ञाप्रतिष्ठानले भव्यताका साथ पृथ्वी जयन्ती मनाउने भएको छ । उक्त दिन बिहान बग्गीसहित सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको प्रतिमासम्म जाने र पृथ्वीनारायणको शालिकमा माल्यार्णपन गर्ने कार्यक्रम रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिनुभयो । ६२-६३ सालको जनआन्दोलनपछि मनाउन छाडिएको राष्ट्रिय एकता दिवस यो वर्षबाट पुनः मनाउन लागिएको हो । उहाँले भन्नुभयो, “नेपाल निर्माणको प्रक्रियालाई विवादमा पारेर ओझेलमा पार्ने कोसिस गरिएकाले प्रज्ञाले यो वर्षबाट पृथ्वी जयन्ती मनाउन लागको हो ।”

उहाँले सरकारले पृथ्वी जयन्ती मनाउन औपचारिक रुपमा निर्णय नगरेपनि राष्ट्रिय एकीकरणको उद्देश्य र पृष्ठभूमिको स्मरण गराउन प्रज्ञाले पृथ्वी जयन्ती मनाउन लागेको बताउनुभयो । पृथ्वीजयन्तीलाई सरकारले पहिलेकै जस्ते मान्यता दिनुपर्ने उहाँको कथन थियो । प्रतिष्ठानका सदस्यसचिव प्राडा जीवेन्द्रदेव गिरीले पृथ्वी जयन्ती मनाउन प्रज्ञाले २९४ औँ पृथ्वीजयन्ती नागरिक समारोह समिति, नेपाल इतिहास सङ्घसँग सहकार्य गरेको जानकारी दिँदै देशमा राष्ट्रिय बिखण्डताका कुरा बढिरहेका बेला राष्ट्रिय एकताको खाँचो झन् बढेर गएको स्पष्ट पार्नुभयो ।

प्रज्ञाले पुस २७ गते दिउँसो नेपालको राष्ट्रिय एकता एवम् अन्तर्राष्ट्रिय सम्बन्धमा पृथ्वीनारायणको दिव्योपदेशले दिएको आर्थिक समृद्धिका आधार, राष्ट्रिय एकीकरणमा जनजातिको सहभागिताको विषयमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।