फेरि बढ्यो ‘लोडसेडिङ’

फेरि बढ्यो ‘लोडसेडिङ’


New Loadshedding

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौती (लोडसेडिङ)को समय बढाएको छ । सोमबारबाट लागू हुनेगरी प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार अब दैनिक १२ घन्टा र कुनै दिन त १५ घण्टासम्म विद्युत् कटौती हुनेछ । यसअघि दैनिक ११ घन्टा लोडसेडिङ हुँदै आएको थियो ।

नदीमा जलप्रवाह घट्दा विद्युत् उत्पादनमा कमी आएको र विद्युत्को माग अत्यधिक बढेका कारण विद्युत्भार कटौतीको समय बढ्न गएको प्राधिकरण भार प्रेषण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हाल मुलुकभर एक हजार २ सय ७५ मेगावाट विद्युतको माग रहेकामा सञ्चालनमा रहेका आयोजनाबाट ३१० मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ । भारतबाट २ सय ३५ मेगावाट विद्युत् आयात भइरहेको छ भने केन्द्रीय प्रणालीमा ७२० मेगावाट विद्युत् अपुग हुँदै आएको छ । मुलुकभर सञ्चालनमा रहेका अधिकांश आयोजना नदी प्रवाहमा आधारित छन् । प्राधिकरणको जलाशयुक्त आयोजनाका रुपमा रहेको कुलेखानी प्रथम ६० मेगावाट र ३२ मेगावाटको कुलेखानी दोस्रो भने सञ्चालनमा ल्याएको छैन ।
'लोडसेडिङ'
हाल मुलुकभर ४८ आयोजना सञ्चालनमा रहेका छन् । तीमध्ये गत वैशाखको गोरखा भूकम्पका कारण माथिल्लो भोटेकोसी अवरुद्ध भएको छ । सो आयोजनाबाट ४५ मेगावाट विद्युत् उत्पादन हुन्थ्यो । निजी प्रर्वद्धकले उत्पादन गर्दै आएको १०६ मेगावाट विद्युत् भूकम्पका कारण राष्ट्रिय प्रसारण लाइनबाट कटेको छ । पछिल्लो दिनमा खाना पकाउने ग्यासको अभावका अधिकांश उपभोक्ता विद्युत्मा भर परेका छन् । विद्युत् कटौतीको समय बढेपछि उपभोक्ता थप मारमा पर्नेछन् ।