हरेक कोणबाट अखिल नेपाल फुटबल सङ्घ (एन्फा) असफल भइरहेको अवस्थामा नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक ओसेम्सले एन्फासँग सम्झौता नवीकरण नगर्ने बताएर चहर्याइरहेको घाउमा नुन–चुक दल्ने इरादा पक्का पारेका छन् । भ्रष्टाचार र खेल मिलेमतोको आरोपले गाँजेको एन्फामा बेथिति फस्टाएको र गैरव्यावसायिक रूपमा चलेको आरोप ओसेम्सले लगाएका छन् । त्यस्तै एन्फाको नेतृत्व ज्यादै कमजोर भएको र महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बेलामा असफल भएको आरोपसमेत उनले लगाएका छन् । लक्ष्यहीन र गतन्तहीन ठाउँमा बसेर केही गर्न नसक्ने दाबी गर्दै आफूले एन्फासँग नयाँ सम्झौता नगर्ने खुलासासमेत गरेका छन् । ओसेम्सलाई गत सेप्टेम्बरमा ६ महिनाका लागि नियुक्ति गरिएको थियो । उनको कार्यकाल फेब्रुवरीमा सकिँदै छ ।
भ्रष्टाचार गरेको आरोपमा गणेश थापालाई दशवर्षे प्रतिबन्ध लागेपछि यतिबेला नेपाली फुटबल पतोन्मुखतर्फ अग्रसर छ । नरेन्द्र श्रेष्ठलाई एन्फाको कार्यबाहक अध्यक्ष बनाए पनि उनको नेतृत्व सबल देखिएको छैन । उल्टै प्रतिबन्धित थापाकै इसारामा नाचेको आरोप लागेको छ । अर्को महत्त्वपूर्ण कुरा, यतिबेला एन्फाका पदाधिकारी दबाबमा देखिएका छन् । उनीहरू एन्फालाई गतिवान बनाउनुको साटो काम चलाउको हिसाबले हाँकिरहेका छन् । जुन फुटबलका लागि दुर्भाग्य बन्दै छ । एन्फामा पारदर्शी र शुद्धीकरण हुनुपर्छ भन्नेहरूको आवाज यतिबेला बुलन्द भइरहेकाले एन्फामा पनि कार्य सम्पादन समिति गठन गरेर अगाडि बढ्ने सुझावहरू आइरहेका छन् ।

क्रिकेटलाई लामो समयदेखि भ्रष्टाचार र विवादले गाँजेपछि केही समय पहिले राष्ट्रिय खेलकुद परिषद्ले क्रिकेटको सम्पूर्ण जिम्मेवारी सीईओ भावना घिमिरेलाई सुम्पेको थियो । यतिबेला फुटबलको अवस्था पनि यस्तै देखिएको छ । नरेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्ष बनाउन एन्फाका पदाधिकारी सफल भए पनि फुटबलमा नेतृत्वदायी भूमिका निभाउन उनी सफल सावित भएका छन् । जुन कुराको पुष्टि विदेशी प्रशिक्षक ओसेम्सले दिएको अभिव्यक्तिले समेत गरिसकेको छ । अहिले ओसेम्सले दिएको अभिव्यक्ति र राखेपले क्यानमा गरेको नियुक्ति एन्फाका लागि चेतावनी बन्न पुगेको छ । यदि एन्फाले आफ्नो कार्यकुशलतामा समयमै सुधार नल्याए वा विवादबाट मुक्त हुन नसके राखेपले एन्फामाथि हस्तक्षेप नगर्ला भन्न सकिँदैन । तसर्थ क्रिकेटको कारबाहीसँगै एन्फाका पदाधिकारी अहिले हच्किन पुगेका छन् । आफूमाथि हस्तक्षेप हुने सन्त्रासले उनीहरूलाई पिरोलिराखेको छ ।
राष्ट्रिय खेलकुद परिषद् एन्फा र क्यानलाई विवादमुक्त बनाउने रणनीतिमा लागेको कसैबाट छिपेको छैन । राखेपले अहिले क्रिकेटको विवाद समाप्त गरिसकेको अवस्था छ भने एन्फालाई विवादमुक्त गर्ने होमवर्कमा जुटेको छ । एन्फाको वागडोर सम्हाल्न राजनीतिक कार्यकर्ताभन्दा पनि फुटबलमा योगदान दिएको व्यक्तित्वको खोजीमा राखेप लागेको छ । पछिल्लो समयमा खेल क्षेत्रमा यसको व्यापक चर्चासमेत चल्दै आएको छ । र पनि, अहिलेसम्म राखेपले त्यस्तो व्यक्तिको खोजी अर्थात् पहिचान गर्न सकेको छैन । एन्फाको नेतृत्व सम्हाल्नका लागि नेताको दैलोदेखि राखेप सदस्यसचिव केशवकुमार विष्टको चाकरी गर्नेहरूको अहिले ताँती नै लागेको छ । यसका लागि आर्थिक चलखेलको समेत शुभारम्भ भएको थाहा हुन आएको छ । तर, राखेपले अहिलेसम्म कुनै पनि व्यक्तिलाई आश्वासन भने नदिएको जानकारीमा आएको छ । खेलकुदलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने र योग्य व्यक्तिलाई योग्य पदमा आसीन गराउने राखेपको मानसिकता छ । तर, पैसा र पावरका अगाडि राखेप कतिन्जेल टिक्न सक्छ त्यो हेर्नलायक भएको छ ।
दव वर्षको प्रतिबन्ध लागे पनि अहिले पनि एन्फामा गणेश थापाको दबदबा कायम रहेको छ । साँचो अर्थमा भन्नुपर्दा एन्फाका सम्पूर्ण पदाधिकारीहरू थापाकै इसारामा नाचेका छन् । यसको प्रमुख कारण विगतमा एन्फामा भएको भ्रष्टाचार प्रमुख कारण मानिएको छ । एन्फामा बाह्यरूपमा मात्र नभई आन्तरिक रूपमा पनि ठूलो भ्रष्टाचार भएको एन्फाको विरुद्धमा उत्रिएका एन्फाकै पदाधिकारीले बारम्बार दोहोर्याउँदै आएका छन् । उनीहरूले यसको फेहरिस्त अख्तियार अनुसन्धान आयोग, युवा तथा खेलकुद मन्त्रालय, राखेप र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएर जानकारी गराइसकेका छन् । यस्तो अवस्थामा फिफाले थापालाई मात्र भ्रष्टाचार गरेको दश वर्ष प्रतिबन्ध लगाएको अवस्था छ । तर, अन्य पदाधिकारीहरू भने निर्दोष सावित भएका छन् ।
तसर्थ आन्तरिक रूपमा फुटबलमा भ्रष्टाचार गर्नेलाई पनि कानुनी दायरामा ल्याउन राखेपले हालै छानबिन समिति गठन गरेको छ । अहिले उक्त छानबिन कमिटीले आफ्नो कार्य गरिरहेको र प्रारम्भिक चरणको कार्य सम्पन्न गरिसकेको छ । अब उक्त छानबिन कमिटीले बुझाउने अन्तिम प्रतिवेदनले एन्फाका पदाधिकारी को कति पानीमा छन् त्यसको छिनोफानो गर्नेछ । त्यसका लागि केही समय प्रतीक्षा गर्नुपर्नेछ । प्राप्त जानकारीअनुसार पहिले छानबिन समितिलाई एन्फाका पदाधिकारीले छानबिनका लागि असहयोग गरे पनि अहिले सहयोग गरिरहेको छानबिन समितिका एक सदस्यले बताएका छन् । छानबिन गर्दा लहरो तान्दा पहरो गर्जिने भएकाले छानबिन कमिटीले निष्पक्ष भएर छानबिन गरे एन्फाका केन्द्रीय पदाधिकारी मात्र नभई जिल्ला र क्षेत्रका पदाधिकारी पनि तानिने विश्वास गर्न सकिन्छ ।
प्रतिक्रिया