छापामार शैलीमा लुम्बिनी विकास कोषमा अख्तियारको छापा

छापामार शैलीमा लुम्बिनी विकास कोषमा अख्तियारको छापा


लुम्बिनी विकास कोष
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषको प्रधान कार्यालयमा छापा मारेर पाँच बोरा कागजपत्र नियन्त्रणमा लिएको छ । कोषभित्र भ्रष्टाचार मौलाएको आशङ्कामा अख्तियारले केही दिनदेखि कोषको विषयमा अन्तरिक अनुसन्धान गरिरहेको थियो । अख्तियारको बुटवल सम्पर्क कार्यालयले कोषमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो ।

यसरी लुम्बिनी विकास कोषमा छापा मारेर कागजपत्र नियन्त्रण लिनका लागि भने अख्तियार टोलीले निकै कसरत गर्नुपरेको बुझिएको छ । तराईमा जारी आन्दोलनका कारण सार्वजनिक यातायात तथा चारपाङ्ग्रे सवारी साधन चल्न नसके पछि अख्तियारको टोली बुटवलदेखि मोटरसाइकल प्रयोग गरेर लुम्बिनी पुगेको थियो । लुम्बिनी विकास कोषको लेखा तथा विकास निर्माण एवम् ठेक्कासम्बन्धी कागजात नियन्त्रणमा लिन अख्तियारले मौका नै ढुक्नु परेको आयोगका बुटवल कार्यालय प्रमुख उमेशराज जोशीको भनाईबाट बुझ्न सकिन्छ । यसअघि अख्तियारको टोली पटकपटक जाँदा कोषका कर्मचारी कार्यालयमा ताल्चा लगाएर आन्दोलनमा उत्रिएका कारण कागजपत्र लिनमा कठिनाइ भइरहेको थियो । पुस २४ गते शुक्रबार कोष कार्यालयको ताल्चा खुल्ला भएको सूचना पाएपछि अख्तियारले छापा मारेको हो ।