महोत्तरीको जनजीवन सामान्य, सरकारी कार्यालय अझै बन्द

महोत्तरीको जनजीवन सामान्य, सरकारी कार्यालय अझै बन्द


काठमाडौं । तराई मधेसमा झन्डै पाँच महिनादेखि जारी राखेको मधेसी मोर्चाको आन्दोलनको प्रभाव विस्तारै सेलाउँदै गएको अनुभूति गरिएको छ । महोत्तरीबाट प्राप्त जानकारीअनुसार आन्दोलनका कार्यक्रम कम हुँदै गएसँगै अस्तव्यस्त बनेको सो क्षेत्रको जनजीवन पछिल्लो समयमा आएर सामान्य बन्दै गएको छ ।
महोत्तरीको सदरमुकाम जलेश्वरलगायत ग्रामीण भेगमा रहेको साप्ताहिक हाटबजार क्रमिक रुपमा खुल्दै गएबाट यस क्षेत्रको माहोल शान्त हुँदै गएको छ, जसका कारण सर्वसाधारणको शान्तिपूर्ण दैनिकी बिताउने चाहना र आशासमेत साकार बन्दै गएको छ ।
Madhesi People
पछिल्लो समय जलेश्वरमा आन्दोलनको प्रभाव पनि खासै परिरहेको थिएन । त्यहाँका बजार पसल खुलेका छन् भने जिल्लाका प्रमुख व्यापारीक केन्द्रका रुपमा रहेको गौशाला, सम्सी, रामगोपालपुर, औरही, भ्रमरपुरालगायतका बजार पनि निर्वाध रुपमा सञ्चालनमा रहेको छ । सुरुवातको समयमा तराई मधेसका हरेक पसल, हाटबजार, सवारी साधन चलाउनमा रोक लगाए तापनि पछिल्लो समयमा सार्वजनिक रुपमा चल्ने यात्रुबाहक बस तथा मालबाहक सवारी साधनबाहेक इ–रिक्सा, टेम्पोलगायतका साना सवारी साधन निर्वाध रुपमा सञ्चालनमा आएका हुन् ।

सीमा नाकामा मोर्चाले धर्ना दिँदै आएका स्थलहरु प्रायः सुनसान देखिन थालेका छन् । सीमा नाकामा धर्नाकारी जुट्न छाडेपछि बजारमा सामानको आयात पनि बढेको स्थानीय व्यापारीहरु बताउँछन् । तर, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल र जिल्ला अदालतबाहेकका सरकारी कार्यालय चाहिँ अझै पनि सञ्चालनमा आउन नसकेको महोत्तरी प्रहरीले जनाएको छ ।