भारत भ्रमण गर्ने ओलीको प्रस्तावमाथि नयाँदिल्लीमा छलफल

भारत भ्रमण गर्ने ओलीको प्रस्तावमाथि नयाँदिल्लीमा छलफल


india
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारतको भ्रमणमा आउन चाहेको औपचारिक प्रस्ताव समक्ष राखेका छन् । ओलीको प्रस्ताव लिएर भारतीय राजदूत रञ्जित रे नयाँदिल्ली पुगेका छन् र उनले यसै साताभित्र भ्रमणको टुङ्गो गरेर फर्कने विश्वास प्रधानमन्त्री ओलीले गरेका छन् । राजदूत रे बुधबार (पुस २९) काठमाडौं फर्कने बुझिएको छ, तर ओलीको भारत भ्रमणको तिथि तत्काल निर्धारण हुने सम्भावना भने कम रहेको छ । ओलीले फेब्रुअरीको दोस्रो या तेस्रो सातामा आफू भारत आउन चाहेको सन्देश कूटनीतिक च्यानलमार्फत लिखित र मौखिक दुवै रूपमा पठाएका छन् । नयाँदिल्लीमा ओलीको निवेदनलाई लिएर बहस–छलफल चलिरहेको बुझिएको छ । दुई मुलुकबीच उत्पन्न असमझदारी अन्त्य गर्न ओली दिल्ली आगमनको औचित्य रहने सम्भावना देखिएमा भारतले ओलीलाई स्वागत गर्ने कूटनीतिज्ञहरूको धारणा छ ।

तर, भ्रमण ओलीले चाहेका बखतभन्दा भारतीय समकक्षीको समय अनुकूलताका आधारमा तय हुने जानकारहरूको भनाइ छ । आगामी मार्चको आखिरी या अप्रिलतिर ओलीको दिल्ली भ्रमण हुनसक्ने उनीहरूको अनुमान छ । यद्यपि नयाँदिल्लीमै कतिपयले नेपाली प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न ढिलाइ गर्न नहुने बताइरहेका छन् । ओलीलाई यथाशीघ्र नयाँदिल्लीमा आमन्त्रण गरेर दुईपक्षीय सम्बन्धमा उत्पन्न सबैखाले असमझदारीको अन्त्य तत्काल गर्नुपर्ने उनीहरूको धारणा छ । त्यस्तै, केपी ओलीलाई दिल्ली बोलाइरहनुपर्ने औचित्य सकिएको ठान्नेहरूको पनि कमी छैन । नेपालभित्रबाट समेत केपी ओलीलाई नयाँदिल्लीमा स्वागत नहोस् भन्ने दबाब परिरहेको छ ।

त्यसो त केपी शर्मा ओली स्वयम् पनि प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो भ्रमण भारत नभई चीनको हुनुपर्छ भन्ने ठान्दथे । एमालेको अध्यक्ष भएदेखि नै ओलीले आफूलाई चीनसँग निकट रहेको देखाउने गरेका छन् । बालकोटस्थित आफ्नो निवासस्थानमा नेपालको राष्ट्रिय झन्डा फहराउने कार्यक्रममा समेत ओलीले चिनियाँ राजदूतलाई आफ्नो छेउमै राखेका थिए । तर, पछिल्लो समयमा नेपाल–भारतबीच उत्पन्न तनाव र त्यसको समाधान निम्ति भइरहेको दबाब तथा चिनियाँ पक्षले ‘पहिले भारत गएर बेइजिङ आउन’ दिएको सुझावका कारणले मात्र प्रधानमन्त्री ओली भारत भ्रमणको प्रस्ताव पठाउन बाध्य भएको बुझिएको छ । भारतभन्दा पहिले चीनको भ्रमण गर्दा आफ्नो राष्ट्रवादी छविमा निखार आउने विश्वास नेपालका सबै कम्युनिस्टझैँ केपी ओलीमा पनि रहेको छ । त्यसैले गत १६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी भारत भ्रमण निम्ति निमन्त्रणा दिँदा ओलीले पहिले नाका सुचारु हुनुपर्ने सर्त राखिदिएका थिए । ओलीको यस्तो जवाफलाई गैरकूटनीतिक शैलीको संज्ञा दिइएको थियो ।

प्रधानमन्त्री ओलीको सोच, बोली र व्यवहारबाट हैरान भएको भारतले ओलीलाई सजिलै कसरी स्वागत गर्न सक्ला जिज्ञाशाको विषय बनेको छ । उनको दिल्ली भ्रमण भइहाले पनि भारतको ‘बजेटपछि’ मात्र हुनसक्ने सम्भावना छ । भारतमा बजेट मार्च महिनामा प्रस्तुत गर्ने परम्परा रहिआएको छ । यस आधारमा ओलीको भ्रमण आगामी अप्रिल महिनातिर मात्र हुनसक्ने देखिन्छ । तथापि नयाँदिल्लीमा एकाथरीले तत्कालै ओलीलाई भारत भ्रमणमा बोलाएर सहमति बनाउनु उचित हुने भनी लबिङ गर्न थालेका छन् । आउँदो केही दिनभित्रै ओलीको भारत भ्रमणबारे टुङ्गो लाग्ने देखिएको छ । तर, भारत जान भनेर ओलीले चीनको भ्रमण कहिलेसम्म ‘स्थगित’ गर्लान्, प्रतीक्षाको विषय बनेको छ ।