भूकम्पपीडित खेलपत्रकारलाई सहयोग

भूकम्पपीडित खेलपत्रकारलाई सहयोग


10
विश्व तेक्वान्दो महासङ्घ (डब्लूटीएफ) ले गत १२ वैशाखको भूकम्पले प्रभावितलाई नेपालमा सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका महासङ्घ अध्यक्ष डा. छुङवोन छाले ‘तेक्वान्दो ह्युमेनटेरियन फाउन्डेसन पाइलट प्रोजेक्ट र नेपाल अर्थक्वेक बिलिफ प्रोग्रामबारे जानकारी गराउँदै सो कुरा उल्लेख गरेका हुन् । सन् २०१५ मा तेक्वान्दो खेलले फड्को मारेपछि मानवीय संवेदनाको क्षेत्रमा पनि सक्रिय हुनुपर्छ भन्ने सोचसहित यो परियोजना अघि बढेको महासङ्घका अध्यक्ष छोले बताए । उनले जोर्डन र नेपाल पहिलो चरणमा परेको बताए ।
साथै उनले सन् ८० को दशकमा उत्कृष्ट लयमा रहेको नेपाली तेक्वान्दोले फेरि फड्को मार्ने विश्वास व्यक्त गर्दै महासङ्घ यसमा सकारात्मक रहेको प्रतिक्रिया दिए । महासङ्घका अध्यक्ष छोले सुरुमा दुई सयजना तेक्वान्दो खेलाडीलाई सहयोग गरे पनि दीर्घकालीन योजना बनाइने जानकारी दिए । छोले महासङ्घले आप्रवासीका लागि पनि ओलम्पिकको ढोका खोल्ने नीति बनिसकेको र यो क्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी पनि सहयोगी रहेको बताए ।

नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणले भूकम्पपछि नेपालले राखेको प्रस्तावलाई महासङ्घले स्वीकार गरेको बताए । सङ्घका महासचिव दीपराज गुरुङले महासङ्घको सहयोग महत्त्वपूर्ण हुने बताए । हाल छोसहित अफ्रिकन तेक्वान्दो युनियनका अध्यक्ष अहमद एलफोली, युरोपियन तेक्वान्दो युनियनका अध्यक्ष अत्हाना सियोस प्रागालोस, ओसियना तेक्वान्दो युनियनका अध्यक्ष जोन कोत्सिफास, एसियाली तेक्वान्दो युनियनका अध्यक्ष क्यु सियोक ली, तेक्वान्दो महासङ्घका डाइरेक्टर जेनरल रोजर पियारुली, तेक्वान्दो महासङ्घका सल्लाहकार चाङसिन चोइसहितको टोली नेपालमा रहेको छ । उक्त टोलीले सिन्धुपाल्चोकका भूकम्पपीडितलाई राहत वितरण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै पोखरामा हाइअल्टिच्युटमा हुने पुम्से प्रतियोगिताको स्थलगत निरीक्षण पनि गर्ने नेपाल तेक्वान्दो सङ्घले जनाएको छ ।

भूकम्पपीडित खेलपत्रकारलाई सहयोग

नेपाल जुडो सङ्घले गत वैशाखको भूकम्पबाट पीडित विभिन्न सञ्चारमाध्यमका खेलपत्रकारलाई राहतस्वरूप आर्थिक सहयोग प्रदान गरेको छ । तेस्रो चरणमा खेलपत्रकारलाई सहयोग गरिएको हो । पहिलो चरणमा भूकम्पका कारण ज्यान गुमाएका जुडो खेलाडीका परिवार तथा दोस्रो चरणमा घर क्षति भएका जुडोसम्बद्धलाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।

नागरिकका ध्रुव तुलाधर, दिपेश तिमल्सिना, हिमालय टेलिभिजनकी सोनिका अर्याल, नेपाल समाचार पत्रका फिरोज राजोपाध्याय, द राइजिङ नेपालका अञ्जन खड्का, सुभाष हुमागाईं, द हिमालय टाइम्सका महेश आचार्य, अन्नपूर्ण पोस्टका गोविन्द रेग्मी, रातोपाटीका राजेश भण्डारी, सौर्यका दिलबहादुर तामाङ, नागरिकका अजय फुँयाल, नेपाल वानकी मोती आम्गाईं, समज्ञप्रसाद लाकौल, सौर्यका मनोज घिमिरे, अन्नपूर्ण पोस्टका दीपेन्द्र गुरुङ, सौर्यका अनिल मल्ल ठकुरी, नेपाल टेलिभिजनका प्रज्ज्वल शाक्य, प्रदीपमान सिंह तथा बीबीसी नेपालका निरञ्जन राजवंशीलाई समान २५ हजार नगद प्रदान गरिएको थियो ।

वैशाख १२ गतेको भूकम्पका कारण ज्यान गुमाएका गोरखापत्रका खेलपत्रकार सुमन बोम्जनको परिवारलाई ५० हजार उपलब्ध गरायो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले उपरोक्त रकमबराबरको चेक हस्तान्तरण गर्दै सहयोग सानो भए पनि मानवीय भावना व्यक्त गर्नु ठूलो कुरा भएको बताए ।