रहेनन् कर्मयोगी लुनकरणदास चौधरी

रहेनन् कर्मयोगी लुनकरणदास चौधरी


Founder Chairman-Final
काठमाडौं । चौधरी ग्रुपका संस्थापक अध्यक्ष लूनकरणदास चौधरीको काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटलमा बिहिबार दिउँसो ९३ वर्षको उमेरमा निधन भएको छ । प्रसिद्ध उद्योगपति विनोद चौधरी, साहित्यकारसमेत रहेका वसन्त चौधरी र उद्यमी अरुण चौधरीका पिता स्वर्गीय चौधरीको पहिचान नेपाली व्यवसायिक एवम् औद्योगिक फाँटका एक दूरदर्शी र अग्रणी उद्योगपति मात्रै नभएर औद्योगिक क्षेत्रका उदाहरणीय व्यक्तित्वकै रूपमा रहेको थियो ।

नेपाली उद्योग व्यवसायका क्षेत्रमा झण्डै डेढ शताब्दीपूर्व अर्थात् राणाकालीन युगमै कपडाको व्यापारबाट व्यवसाय आरम्भ गर्ने स्व. भूरामल चौधरी तथा स्व. सरस्वतीदेवी चौधरीका सुपुत्र, नेपाली उद्योग व्यवसायका एकलब्य, कर्मठ एवम् दूरदर्शी उद्योगपति, समाजसेवी, नेपाली निजी क्षेत्रका अग्रणी उद्योगपति स्व. लूनकरणदासको बाल्यकालमै अर्थात् स्वअध्ययनको समयमै स्व. भूरामलको देहान्तपछि स्व. भूरामलको पदचाप पच्छ्याउने जिम्मेवारीे काँधमा आइपरेको थियो । दूरद्रष्टा स्व. लूनकरणदासले आजको नेपाली बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपको संस्थापक अध्यक्षका हैसियतले नेपाली उद्योग व्यवसायमा जापानी प्रविधिको स्टील, फ्लोरिङ एण्ड फर्निसिङ फ्रान्स र बेलायतका विविध विद्युतीय सामग्री, एप्पारेल्स इत्यादि समेतको व्यवसाय गर्नुभई राष्ट्रकै दोस्रो र पूर्वाञ्चलको पहिलो बिस्कुट तथा कन्फेक्सनरी, मैदा मिल्स, प्याकेजिङ उद्योग आदि सञ्चालनका लागि जर्मन प्रविधि भिœयाउनुभएको थियो नेपालकै पहिलो डिपार्टमेन्टल स्टोर (अरुण इम्पोरियम) समेत स्व. चौधरीले स्थापना गरी नेपालमा डिपार्टमेन्टल युगको श्रीगणेश गर्नुभएको थियो ।

हाल उहाँद्वारा स्थापित ५ दर्जन भन्दा बढी औद्योगिक प्रतिष्ठानमा ७,५०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका चौधरी समूहले जनाएको छ । विविध सामाजिक गतिविधिमा गहन अभिरुचि राख्ने चौधरी मारवाडी सेवा समिति नेपालका संस्थापक तथा आजीवन सदस्य, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य संघका संस्थापक सदस्य, चौधरी फाउण्डेशनका संस्थापक तथा श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्य–कला मन्दिर, श्री लूनकरणदास–गङ्गादेवी चौधरी च्यारिटी हस्पिटल, दुहवी सुनसरीका संस्थापक तथा संरक्षक स्व. चौधरीका ३ छोरा र एक छोरी हुनुहुन्छ ।