नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न


NC Chhetriya Adhibeshan
नेपाली कांग्रेसको १३औं महाधिवेशनअन्तर्गत शुक्रबार साँझसम्म ५३ जिल्लाका १ सय ९० निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भए पनि मत परिणाम भने शनिबार साँझसम्म मात्रै प्राप्त हुने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । शुक्रबार सम्पन्न भएका अधिवेशनले क्षेत्रीय कार्यसमिति प्रतिनिधि र महाधिवेशन प्रतिनिधि चयन गर्नेछन् । बताइएअनुसार बाँकी रहेका निर्वाचन क्षेत्रमा यही माघ २५ गतेसम्म जिल्ला र क्षेत्रीय महाधिवेशन सम्पन्न हुनेछन् । एउटा मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा भने शनिबार र आइतबारसम्म महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्वको चयन हुने कार्यतालिका रहेको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार एक निर्वाचन क्षेत्र भएका जिल्ला र प्राविधिक कठिनाइले स्थानीय तहको निर्वाचन हुन बाँकी लगभग २० निर्वाचन क्षेत्रमा भने माघ २५ गते निर्वाचन हुनेछ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन एकै दिन हुन्छ । शुक्रबारको निर्वाचनमा सम्बन्धित क्षेत्रका नगर वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा गाउँ कार्य समिति, नगर वडा र नगर कार्यसमितिका सभापति, सो क्षेत्रका सांसद एवम् संविधानसभाको पछिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फबाट पार्टीको उम्मेदवार भएको व्यक्ति, सो क्षेत्रमा रहेका पार्टीको केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यले भाग लिएका थिए ।

माघ १५ गते गाउँ, नगर वडा र नगरको अधिवेशन गरेको कांग्रेसले जिल्ला अधिवेशन भने माघ २५ गते गर्ने तालिका यसअघि नै सार्वजनिक गरेको छ । कांग्रेसको १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ ।