मधेसमा मधेसी नेताकै जल्न थाल्यो पुत्ला

मधेसमा मधेसी नेताकै जल्न थाल्यो पुत्ला


पुतला दहन
माग सम्बोधन नभई आन्दोलन तुहाएको भन्दै वीरगञ्जमा मधेशी मोर्चाका शीर्ष नेताहरुको पुतला दहन गरिएको छ । मधेश आन्दोलन तुहाएको आरोपमा आन्दोलन संघर्ष समितिका आक्रोशित कार्यकर्ताहरुले ठूला दलका शीर्ष नेतासहित मधेसी नेताहरुको पुत्ला जलाएका हुन् । आन्दोलन तुहाउन मधेशी मोर्चाका नेताहरूले षड्यन्त्र गरेको उनीहरूको आरोप छ ।

वीरगञ्जबाट प्राप्त जानकारीअनुसार अबको आन्दोलन मधेशी नेताहरुकै विरुद्धमा हुने विभिन्न संकेतहरु देखा परिरहेका छन् । आन्दोलन संघर्ष समितिको अगुवाईमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवको पुतला जलाइएको हो । असन्तुष्ट जनताले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डको पनि पुत्ला जलाएका छन् ।

मधेशी जनअधिकार फोरम मधेशका अध्यक्ष भाग्यनाथ गुप्ताले प्रधानमत्री केपी ओली, काग्रेस सभापति शुशिल कोइराला, एमाओवादी अध्यक्ष प्रचण्डलाई राष्ट्रिय गद्दार र मोर्चाका शीर्ष नेतालाई मधेशी गद्दारको संज्ञा दिँदै अबको आन्दोलन शासक वर्गको विरुद्धमा मात्र नभएर मधेशीका दलका दलाल प्रवृत्तिका नेताहरुको विरुद्ध हुने चेतावनी दिएका छन् । उनले मधेशी मोर्चाका शीर्ष नेताहरुकै कारण आज आन्दोलन कमजोर हुन लागेको आरोप लगाएका छन् ।

यसैबीच संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले जारी संघर्षलाई निर्णायक बनाउन राजधानी केन्द्रीत आन्दोलनका लागि तयार रहन काठमाडौंवासीलाई आह्वान गरेका छन् । काठमाडौंका नेवार र वरिपरिका तामाङ समुदायलाई आन्दोलनमा सहभागी भई यसलाई निष्कर्षमा पुर्याउन अध्यक्ष यादवले आह्वान गरेका हुन् । ‘उपत्यकाभित्रका नेवार र तामाङ समुदाय संघर्षमा नउत्रिदाँसम्म सरकारले घँुडा टेक्दैन’– ल्होछारको अवसरमा समाजवादी तामाङ संघले काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान समारोहलाई सम्बोधन गर्दै फोरम नेपालका अध्यक्ष यादवले भने, ‘उत्पीडित जनतालाई अधिकार दिने सवालमा सरकार संवेदनहीन देखिएकोले उपत्यकाबासी सडकमा उत्रिनुको विकल्प छैन ।’

मधेशी, नेवार र तामाङ समुदाय संयुक्त रुपमा संघर्षमा उत्रे मात्र जारी आन्दोलन आन्दोलन उत्कर्षमा पुग्ने उनले बताए । ‘अहिले जारी रहेको लडाई मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुश्लिम लगायत उत्पीडित एवं सीमान्कृत समुदायको अस्तित्वको लडाई भएकोले अधिकार प्राप्ति बेगर आन्दोलन रोकिदैँन’, उनले भने, मधेशमा अहिले विरोध प्रदर्शन र सीमा नाका केही खुकुलो भयो भन्दैमा आन्दोलन नै समाप्त भएको भ्रम कसैले नराखे हुन्छ, हाम्रो संघर्ष र आन्दोलन जारी छ ।’ भूकम्प पीडितको बिचल्ली हुँदा पनि सरकार तमासे बनेको यादवको आरोप छ । ‘चियोयाममा भूकम्प पीडितको बिचल्ली छ । लोडसेडिङले जनता अक्रान्त छन् । इन्धन अभावले चरम सास्ती खेप्नु परेको छ । कालो बजारिया हावी भएर महँगी आकासिएको छ । तर पनि सरकार आफ्नो गल्ती कमि कमजोरी ढाकछोप गर्न उद्दत छ’– उनले भने । भ्रष्ट सरकारले आफ्नो कमजोरी लुकाउन वार्ता र आन्दोलनलाई बेवास्ता गरेको उनले आरोप लगाए ।