प्रस्ताव नमान्दा नवनायिकाको हत्या

प्रस्ताव नमान्दा नवनायिकाको हत्या


पोखरेली नायिका नेहा पुनको रहस्यमयी एवम् बीभत्स ढङ्गले हत्या भएपछि नेपाली चलचित्रकर्मीहरू त्रस्त र सरकारको सुरक्षा व्यवस्थाप्रति आक्रोशित छन् । वास्तविक नाम योरुना पुन मगर रहेकी १८ वर्षीया प्रतिभाशाली अभिनेत्री नेहाले केही मातृभाषी (मगर भाषाका) चलचित्रमा अभिनय गरेकी छिन् । गत साता पोखरास्थित उनकै निवासस्थलभन्दा चार सय मिटर पर बीभत्स अवस्थामा नेहाको शव भेटिएको थियो । टाउकोमा चोट र शव अर्धनग्न भएकाले उनको बलात्कारपछि हत्या भएको आशङ्का गरिनु अस्वाभाविक थिएन । नेहाको हत्याविरुद्ध चलचित्रकर्मीले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्नुको साथै तत्काल दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
neha
हत्यारामाथि कडा कारबाही नभए नेपाली छोरीहरूको हालत नेहाकै जस्तो भइरहन सक्ने भन्दै नेपाली चलचित्रका नायिकाहरूले पनि सामूहिक रूपमा सरकारलाई महिलाको सुरक्षा गर्न आग्रह गरेका छन् । ‘इयू–पा’ नामक मगर भाषामा बनेको चलचित्रकी नायिका नेहाको हत्या किन, कसबाट र कसरी भयो भन्ने सम्बन्धमा शङ्कास्पद एक दर्जनजति व्यक्तिसँग प्रहरीले सोधपुछ गरेपछि हत्यारा सतीश भनिने कृतन खड्गी पक्राउ परेका छन् । आफूहरू सँगै बसेर मदिरा सेवन गरेको र घर पुर्‍याउन लैजाने क्रममा घटना स्थल अर्थात् पोखराको नयाँगाउँको सडक किनारा पुगेपछि आफूले लेकसाइड गएर रमाइलो गर्ने प्रस्ताव राखेको, तर नेहाले नमानेपछि हेल्मेटले हानेर ढालेको बयान खड्गीले दिएको छ । त्यसरी ढलेकी नेहासँग शारीरिक सम्पर्क गर्न खोजेको तर उनको नाक र कानबाट रगत बगेकाले आफू घरतर्फ गएको प्रहरीसँगको बयानमा अभियुक्तले खुलाएको छ । स्मरण रहोस्, ‘इयू–पा’ चलचित्र निर्माण समूहले नेहाको सम्झनामा देशभर उक्त चलचित्र प्रदर्शनको तयारी गरेको छ ।