निर्देशक बन्ने करिश्माको रहर

निर्देशक बन्ने करिश्माको रहर


डा. बाबुराम भट्टराईद्वारा सुरु गरिएको ‘नयाँ शक्ति नेपाल’ नामक राजनीतिक समूहको नेतृत्व तहमा विराजमान हुने शौभाग्य पाएकी चर्चित अभिनेत्री करिश्मा मानन्धरले आउँदो वर्ष आफ्ना लागि विशेष महत्त्वको हुने उद्घोषसहित फिल्म निर्देशनमा हात हाल्ने सङ्केत गरेकी छिन् । हलिउडदेखि बलिउडसम्मै प्राय: कलाकारले बुढेसकालमा निर्देशनको रहर गरेका देखिन्छन्, तर ती सबै सफल भएका उदाहरण भने छैनन् । यस अर्थमा करिश्माको रहरको फसल कत्तिको उर्वर हुने हो, प्रतीक्षाकै विषय रहनेछ । नायिका र निमात्री बनियो, अब निर्देशनमा पनि नाम किन नराख्ने भन्ने सोचबाट करिश्मा अभिप्रेरित भएकी हुन् भने उनले रहर पूरा गर्न पाउनैपर्छ । उनले निर्देशनमा हात हाल्न लागेको सन्दर्भ जोडेरै आफ्नो आगामी वर्ष महत्त्वपूर्ण हुने ठानेकी हुन् भनेचाहिँ वास्तवमा त्यो महत्त्वपूर्ण नहुन सक्छ भन्नेमा मानसिक रूपले तयार रहनैपर्छ ।
Karishma Baburam
त्यसो त राम्रो कन्टेन्टमा आफूले निर्देशन गर्ने भन्दै उनले दर्शकको मनोभावनाअनुरूप फिल्म बनाउने दाबी गरेकी छिन् । करिश्माले के बिर्सन हुन्न भने आजसम्म जसले जति नै झुर फिल्म बनाए पनि रिलिज नहुँदाका दिनसम्म सबैले राम्रै दाबी गर्दै आएका छन् । अन्यत्र किन जानुपर्‍यो र † पोस्टर टाँसेको पैसासमेत उठाउन असमर्थ आफ्नै फिल्म ‘बाबुसाहेब’लाई पनि करिश्माले रिलिज नहुँदासम्म ‘राम्रो’ भनेर दाबी गर्दै आएकी थिइन् । तर, उक्त पिल्मले पानी पिउनसमेत नपाएपछि करिश्मा हतास भएर अमेरिका पलायन हुनुपरेको थियो । १२ वर्षपछि फिल्म निर्माणमा फर्किएकी करिश्माको ‘फागु’ आउँदो ७ फागुनमा प्रदर्शन हुने भएको छ । उक्त चलचित्रमा शिल्पा पोखरेलले नायिकाको भूमिका निर्वाह गरेकी छिन् भने मुम्बईबाट निर्देशनको तालिम हासिल गरेकी प्रतिभाशाली सम्झना उप्रेती रौनियारको निर्देशन क्षमता चलचित्र फागुमा देख्न पाइने छ ।