देउवा यसरी अगाडि देखिए

देउवा यसरी अगाडि देखिए


sher bahadur deuba
नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनले दुई दशकदेखि एकछत्र नेतृत्वमा रहँदै आएको संस्थापन पक्ष भनिने कोइराला परिवारलाई बिदा गर्ने सम्भावना बढेको छ । क्षेत्रीय अधिवेशनहरूबाट प्राप्त परिणामले कोइराला पक्षलाई ठूलो क्षति पुर्‍याएको देखिन्छ भने पचहत्तरवटै जिल्लामा शेरबहादुर देउवालाई मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरूको सङ्ख्यात्मक वृद्धि भएको छ । बाह्रौँ महाधिवेशनमा देउवालाई प्राप्त मतका आधारमा हेर्दा पूर्वाञ्चल तथा मध्यमाञ्चल सर्वाधिक कमजोर देखिएका थिए । यसपटक दुवै विकास क्षेत्रमा देउवा पक्षले निकै ठूलो छलाङ मारेको छ ।

पूर्वाञ्चलको मत परिणामले कोइरालाभन्दा देउवा अगाडि भएको देखाएको छ । मध्यमाञ्चल क्षेत्रमा पनि देउवा पक्षले उल्लेख्य प्रगति गरेको छ । काठमाडौं उपत्यकामा पहिले कोइराला पक्ष धेरै मतान्तरले अगाडि रहेकोमा यसपटक दुवै पक्ष हाराहारीमा रहेका छन् । भीमसेनदास प्रधानले साथ दिएमा करिब पैंसट्ठी प्रतिशत मत देउवालाई जानसक्ने बताइन्छ । यसअघिको महाधिवेशनमा देउवालाई दश मत पनि नपठाउने नुवाकोटबाट यसपटक छत्तीसमध्ये कम्तीमा छब्बीस मत देउवाको समर्थनमा छ ।

त्यस्तै, पहिले बढीमा पाँच मत मिलेको धादिङबाट यसपटक कम्तीमा तेह्र मत देउवालाई प्राप्त हुने देखिएको छ । चितवनबाट पनि यसपटक देउवालाई राम्रो मत प्राप्त हुने देखिएको छ । चितवनको साठी मतमध्ये बाह्रौँ महाधिवेशनमा देउवालाई बढीमा २१ मत प्राप्त भएको थियो, यसपालि कम्तीमा बत्तीस मत उहाँले पाउनुहुने निश्चित भएको छ । मकवानपुरमा पनि देउवा पक्षले पाँच मत बढाएको बुझिएको छ । सिन्धुपाल्चोकमा दुवै पक्षको स्थिति हाराहारीमा रहेको छ । ललितपुर र भक्तपुरमा पहिलेको तुलनामा देउवा पक्ष थप बलियो भएको छ । ललितपुरको छत्तीसमध्ये बीसभन्दा बढी मत देउवालाई प्राप्त हुने देखिएको छ ।

सुदूरपश्चिमाञ्चलमा सत्तरी प्रतिशतभन्दा बढी मत देउवाको समर्थनमा रहेको छ । त्यस्तै मध्यपश्चिमा सन्ताउन्न र पश्चिमाञ्चलमा एकाउन्न प्रतिशत मत देउवाको पक्षमा रहेको पाइएको छ । बर्दिया जिल्लामा कोइराला पक्षको बलियो पकड रहेको मानिन्छ, तर बर्दियामा पनि देउवालाई सत्ताइस र कोइराला पक्षलाई एक्काइस मत मात्र प्राप्त हुने अवस्था छ । सुशील कोइरालाको गृहजिल्ला बाँकेको अठचालीस मतमध्ये देउवालाई कम्तीमा पच्चीस मत जाने स्पष्ट भएको छ । नवलपरासीमा देउवालाई बयालीस र कोइराला पक्षलाई तीस मत प्राप्त हुने अवस्था छ । सल्यानको चौबीसमध्ये सत्र देउवालाई र सात कोइराला पक्षमा जाने देखिएको छ ।

पचहत्तरमध्ये देशको एउटा यस्तो जिल्ला छैन जहाँ देउवाको मत बढेको नहोस् । तराईका जिल्लाहरूमा पनि देउवा पक्षको स्थिति निकै सुदृढ भएको छ । देशभरिको चुनाव परिणामले सभापतिमा शेरबहादुर देउवाको विजय सुनिश्चित गरेको छ । बाह्रौँ महाधिवेशनमा सुशील कोइराला तीन सय मतले विजयी बन्नुभएको थियो, यो (तेह्रौँ) महाधिवेशनमा देउवा कोइराला पक्षको भन्दा करिब पाँच सय मतान्तरले विजयी बन्नुहुने देखिएको छ । तर, अब कोइराला पक्षको नेतृत्व रामचन्द्र पौडेलले गर्नुहुने अवस्था पैदा भएकोले निर्वाचन परिणाममा अन्तर आउनसक्ने सम्भावना छ । पौडेल र देउवाबीचको प्रतिस्पर्धामा मतान्तर कुन स्तरमा प्रकट हुने हो सो भने अहिले नै भन्न सकिने अवस्था रहेको छैन ।