तेइस वर्षपछि फटबललमा नेपालले रच्यो इतिहास

तेइस वर्षपछि फटबललमा नेपालले रच्यो इतिहास


gold-medalist
१२औँ दक्षिण एसियाली खेलकुद (साग)मा आयोजक भारतलाई पराजित गर्दै नेपालले तेइस वर्षपछि स्वर्ण पदक जितेको छ । इन्दिरा गान्धी स्टेडियम, गुवाहाटीमा भारतलाई २–१ ले पराजित गर्दै नेपाली टिमले क्षेत्रीय खेलकुदको उपाधिमाथि कब्जा जमाएको हो । नेपालको जितमा प्रकाश बुढाथोकीले ६६ औँ तथा नवयुग श्रेष्ठले ७० औँ मिनेटमा गोल गरेका थिए । एक गोलले पछि परेको नेपालले खेलमा फर्कँदै भारतलाई उपाधि विमुख गराएको हो ।

यसअघि भारतले हलिचरण नाजारेको प्यानल्टी गोलको मद्दतले पहिलो हाफको ३२ औंँ मिनेटमा अग्रता लिएको थियो । नेपाली रक्षक आदित्य चौधरीले डि–एरियामा भारतका उदन्त सिंहलाई फल गरेपछि उसले प्यानल्टीको अवसर पाएको थियो जसलाई नाजारेले सजिलै गोलमा परिणत गरे । गोल खाएर सम्हालिएको नेपालले त्यसपछि केही राम्रा आक्रमण ग¥यो । नेपालका लागि ६५ औंँ मिनेटमा बुढाथोकीले गर्दै खेल बराबरीमा ल्याए । उनले आकर्षक फ्रि–किक मार्फत गोल गरेका हुन् । त्यसपछि पनि नरोकिएको नेपालका लागि ७० र्औं मिनेटमा श्रेष्ठले गोल गर्दै अग्रता दिलाए र अन्त्यमा सोही गोल निर्णायक बन्यो ।

दशरथ रङ्गशालामा १९९९ मा भएको आठौँ साफ गेम्समा स्वर्णका लागि भएको फाइनलमा नेपाल १–० ले बङ्गलादेशसँग हारेको थियो । त्यसबेलासम्म राष्ट्रिय टोली सहभागी हुन्थे । नवाँैं साफ गेम्स २००४ देखि फुटबलमा यु–२३ टोलीले प्रतिस्पर्धा गर्न थालेको हो । यसपालि फाइनल प्रवेशसँगै नेपालले कोलम्बो साग २००६ मा कास्य हात पारेको थियो । सागमा नेपालले फुटबलमा अहिलेसम्म तीन स्वर्ण, दुई रजत र दुई कास्य जितिसकेको छ ।

फुटबल प्रशिक्षक राजुकाजी शाक्य दक्षिण एसियाली खेलकुदमा तीन फरक भूमिकाबाट देशलाई स्वर्ण पदक दिलाउने दाउमा थिए । आफ्नै देशबाट सन् १९८४ मा सुरु साफ (तत्कालीन दक्षिण एसियाली महासङ्घीय खेलकुद, साफ) खेलकुदको पहिलो संस्करणमा नेपालले फुटबलको स्वर्ण जित्दा उनी खेलाडी थिए । सन् १९९३ मा ढाका साफमा उनकै कप्तानीमा नेपाली फुटबल टोलीले स्वर्ण जितेको हो । सन् १९९९ मा आफ्नै भूमिमा आठँौं साफ हुँदा शाक्य सहायक प्रशिक्षकमा थिए । त्यतिखेर नेपालले रजत पदकमै चित्त बुझाउनुपरेको थियो । त्यसयता नेपाली टोली उपाधिविहीन बन्दै आएको अवस्थामा नेपालले तीन साताअघि ढाकामा सम्पन्न बङ्गबन्धु गोल्डकप जितेर उपाधिको खडेरी २३ वर्षपछि मेटेको थियो ।
Nepali national team
आर्मीका फरवार्ड नवयुग श्रेष्ठले पछिल्ला छ खेलमा तीन ह्याट्रिक सहित ११ गोल गरिसकेका छन् भने सागमा मात्रै दुई ह्याट्रिक सहित सात गोल गरिसकेका छन् । अघिल्लो महिना बङ्गबन्धु गोल्डकपको उपाधि जितेर हौसिएका कप्तान विराज महर्जनले भारत प्रस्थान गर्नुअघि भनेका थिए “हामी पुनः उपाधि जितेर फुटबलप्रेमी समर्थकलाई खुसी बनाउने छौँ ।” उक्त भनाइ सोमबार सार्थक भएको छ । हुन पनि नेपालले भारतजस्तो बलियो प्रतिद्वन्दीलाई उसकै घरेलु मैदानमा हराएर स्वर्ण जितेको छ ।

यसअघि सन् १९८७ मा भारतले नेपाललाई हराउँदै साफमा स्वर्ण जितेको थियो । आज नेपालले त्यसैको बदला लिएको छ । यससँगै नेपालले साग फुटबलमा तीन स्वर्ण जित्न सफल भएको छ । यसअघि नेपालले सन् १९८४ र १९९३ को साफ गेम्समा स्वर्णपदक जितेको थियो । फुटबलमा स्वर्ण जितेसँगै नेपालले जारी सागमा तीन स्वर्ण पु¥याएको छ ।