अधिवेशनमा झल्कियो कांग्रेसको खुसी र पीडा

अधिवेशनमा झल्कियो कांग्रेसको खुसी र पीडा


Laxmikanta Paudel
:: लक्ष्मीकान्त पौडेल ::

चुनावको माध्यमबाट नेपाली हरू पूरा भएका छन् र कांग्रेस १३औँ महाधिवेशनको अन्तिम चरणमा छ । एकजना हजुरबा पुस्ताबाटै कांग्रेसी परिवारमा रहेका र आफूसमेत नगरको चुनावमा जितेर अब त्यसभन्दा माथि नउठ्ने विचार लिएका अधबैंसे साथीले आफ्नो छोरासमेत कांग्रेसमा नै रहेको बताए । उनले थपे कि एउटा गुटको व्यक्तिसँग बोलेमा अर्को गुटको रिसाउने, गुटको आधारमा राजनीति गर्ने, क्षमताहीन र महत्त्वाकाङ्क्षीहरूले गुट नभए राजनीति गर्न नसक्ने हुँदा उनीहरूले गुट बनाउने र उनीहरूकै सङ्ख्या बढी भएको, बूढाहरूले नेतृत्व नछोड्ने, कमाउनका लागि राजनीतिमा लाग्नेहरूको हातमा राजनीति रहेकोमा त्यो अन्त्य हुनुपर्छ । उनले दु:खी हुँदै भने, ‘क्षमतावान्, इमानदार र क्रियाशीलहरू माथि आउनुपर्छ र विश्वको श्रेष्ठ विचार बोकेको कांग्रेसबाट देश र जनताको हित गर्न लाग्नुपर्छ । अरू दलहरूको न सिद्धान्त ठीक छ न नेता नै ठीक छन्, तर कांग्रेसको सिद्धान्त राम्रो भएकाले भनेजस्तो गर्न नसके पनि मानिसहरू कांग्रेसलाई आफ्नो आस्थाको केन्द्र मान्दछन् ।’ उनको भनाइसँग मिल्ने नै भावना धेरै कांग्रेसजनले राखेका छन् । मधेसको समस्या समाधान, गरिबको हित, विकास र शान्ति कांग्रेसबाट मात्र हुन सक्ने धारणा धेरैको छ । कांग्रेसले आफ्नो विचार सबै जनतामा राख्न सक्ने हो र सदस्यता खुला गर्ने हो भने अधिकांश मानिस कांग्रेस बन्न चाहनेसमेत धेरैको विचार देखियो ।

चुनावमा सौहार्दता देखिएन र पैसा खर्च पनि भयो र पैसा नहुनेले चुनावमा प्रतिस्पर्धा गर्न नै नसक्ने अवस्था आएको पो हो कि भन्ने कुरा पनि चले । तर, कांग्रेसमा ९९ प्रतिशतमा सौहार्दता छ र गुटको भावना छैन । केही पद र शक्तिका अस्वाभाविक लोभ गर्नेले भ्रम दिएकाले मात्र त्यस्तो देखिएको हुनसक्छ । पैसा होइन जनताको पक्षमा काम गर्नेले स्थान पाउनुपर्छ भन्ने भावना धेरै साथीमा रहेकाले पैसा खर्चले क्षमतावान्हरूलाई धेरै हदसम्म असर गर्दैन भन्ने सोच्दासोच्दै पनि कतिपय स्थानमा त्यस्तो भयो । गलत सोचले महाधिवेशनमा स्थान पाउनुहुँदैन । त्यसैले सचमुच सौहार्दता नभएको स्थानमा पनि त्यो भ्रम दिन खोजिएको हो भन्ने हामीले बुझ्न आवश्यक छ किनभने हाम्रो लक्ष्य एउटै हो र हामीभन्दा बाहिरका भन्दा हामी जहिले पनि जनताको हितको पक्षमा प्रस्ट भएकाले एक छौँ । हामीले हारेर पनि हारेका छैनौँ र जितेर पनि जितेका छैनाँै, किनभने यो खुसी र दु:खभन्दा भूमिकाको छनोट हो । हामी एक छौँ, हुनुपर्छ र एक हुँदा हार र जितको कुरा नै हुँदैन । चुनावी हार–जित दोहोरिने गणितको विषय मात्र हो र हाम्रो एकता समाजका लागि हो, लोकतन्त्रका लागि हो भन्नेमा कांग्रेसहरू प्रस्ट हुनु स्वाभाविक हो ।
congress office
अब चुनावमा कांग्रेसजनका भावनालाई समेट्न सक्नुपर्छ । कांग्रेस माथिदेखि तलसम्म एक होस् र मुद्दामा मात्र छलफल र विवाद होस् भन्नेमा केन्द्रित हुनैपर्छ । स्थायी गुटलाई अन्त्य गर्नैपर्छ । अहिले देश जलिरहेको छ । जनताका आधारभूत आवश्यकताहरू ओझेलमा परेका छन् । देशमा स्रोत र अवसर हुँदाहुँदै पनि युवाहरूलाई उचित साथ र अवसर नहुँदा बिदेसिने वा बेरोजगर रहने अवस्था आएको छ । विगतको हिंसाको कारण अरूलाई अविश्वास गर्ने र लुटेर खाने प्रवृत्तिको विकास भएको छ । यो लुटाहा गैरलोकतान्त्रिक चरित्र अर्थात् सर्वसत्तावादी कम्युनिस्ट चरित्रलाई चिर्दै कांग्रेसले आन्तरिक एकता र गरिब जनता र विकासप्रति सजग भएर नै लक्ष्य पूरा गर्नुपर्छ । यसैले नै शान्ति दिन्छ र यो कांग्रेसबाटै सम्भव छ । यसलाई अझ मूर्तरूप यस महाधिवेशनमा छानिने केन्द्रीय समितिले नै गर्ने हुँदा समयमा नै सबै मतदाता साथीहरूले गुट होइन क्षमता र कमाउने र कमाएका होइन इमानदार तथा अपेक्षाकृत धेरै युवालाई क्रियाशीलता तथा क्षमताको आधारमा चुन्न सक्नुपर्छ । अहिलेसम्म देखिएका र स्थापित हुन खोजेका गलत प्रवृत्तिलाई तोड्न सक्नुपर्छ भन्ने कांग्रेसजनको मान्यताले यो चुनावमा मूर्तरूप पाउनैपर्छ ।

हामी सारमा एक भएर पनि रूपमा विवादजस्तो देखिएको छ । यसको निवारणका लागि हामीबीच अझ दह्रो एकता अनिवार्य भएको छ । दलभित्र विषयका आधारमा पक्ष–विपक्ष हुनुपर्छ । यसले नै अझ राम्रो पक्षलाई प्रस्ट गर्छ । त्यसैले बादेबादे जायते तत्त्वबोध अर्थात् छलफल र वादविवादले सत्यको ज्ञान दिन्छ । लोकतन्त्र र बहुलवादमा यो अनिवार्य नै छ । तर, सत्ता र शक्तिका लागि आफूबीच सिद्धान्तहीन स्थायी समूह हुँदा हाम्रा ऊर्जा जनताको पक्षमा र जनविरोधीको विपक्षमा हुनुपर्नेमा आपसी विवादमा खर्चिने त होइन भन्ने सबैको चासो र पीडा हो भन्ने मलाई महसुुस भएको छ ।

त्यसैले सिद्धान्तहीन स्थायी गुटको अन्त्य र इमानदार तथा सादगी र देश र जनताका लागि समर्पित नेतृत्व स्थापित हुनुपर्छ भन्ने भावनाको पक्षमा काम गर्नु अहिलेको आवश्यकता हो । यही नै नेपाल, नेपाली, गरिब जनता, महामानव बीपीपक्षको सोच हो भन्ने तथ्य नै सबैले छातीमा हात राखेर सोच्दा भेटिने सत्य हो । हामी के गर्नुपर्नेमा केमा अल्झेका छौँ भन्ने पनि सबैलाई महसुस छ र त्यो महसुस भएको तथ्यलाई चुनावमा देश र दलको हितका लागि प्रकट गर्नैपर्छ । यसका लागि निकास चुनाव नै हो । इमानदारी, क्रियाशीलता र सादगीले दलमा राम्रो स्थान पाउने वातावरण हुनपर्छ ।

सबै मिलेर कांग्रेसको ऊर्जालाई आपसी विवाद होइन जनताको पक्षमा र सहिदको सपनाको पक्षमा लगाउन सक्नुपर्छ । दूरदराजमा रहेका जनप्रिय तथा त्यागी नेताहरूको अघिपछि लाग्न नसक्नेहरूको हात बलियो बनाउन सकौँ भन्ने भावना सघन हुनैपर्छ । राजनीतिमा समर्पण, शरीर र सम्पत्ति नै अर्पण गरेकाहरूको उचित कदर र जीवनयापनको व्यवस्था काङ्ग्रेसले गर्नुपर्छ र चुनावमा मात्र होइन महाधिवेशनमा जनता, विकास, शान्ति र असल, तर अप्ठ्यारोमा परेका नेता–कार्यकर्ताको पक्षमा के गर्ने भन्ने सम्बन्धमा अझ राम्रोसँग छलफल भएर निष्कर्ष निस्कनुपर्छ ।