बन्दनालाई अन्तर्राष्ट्रिय अवार्ड

बन्दनालाई अन्तर्राष्ट्रिय अवार्ड


Bandana Rana
संयुक्त राष्ट्रसङ्घको ‘कमिसन अन दी स्टेट्स अफ विमेन’को एनजीओ कमिटीद्वारा प्रदान गरिने वुमन अफ दी इयर डिस्टिङसन अवार्डबाट नेपालकी अधिकारकर्मी बन्दना राणा पुरस्कृत हुनुभएको छ । साथी संस्थासँग आबद्ध बन्दना महिलामाथि हुने हिंसाविरुद्धको राष्ट्रिय सञ्जालकी संयोजक तथा महिला शान्ति र सुरक्षासँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट पारित प्रस्ताव १३२५ र १८२० लाई कार्यान्वयन गर्नका लागि गठित ‘१३२५ एक्सन ग्रुप’की संयोजक हुनुहुन्छ ।

विगत २५ वर्षदेखि महिला अधिकारको क्षेत्रमा कार्यरत बन्दनालाई नेपालका ग्रामीण महिलाका मुद्दालाई अन्तर्राष्ट्रिय जगत्सम्म पुर्‍याएको तथा अन्तर्राष्ट्रिय नीति तथा संयन्त्रहरूलाई कार्यान्वयन गर्नका लागि राष्ट्रिय स्तरमा पहल गरी महिला अधिकारको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएकोमा यो पुरस्कार प्रदान गरिएको हो । यही मार्च महिनामा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा आयोजना हुने एक विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिनेछ । महिलाको क्षेत्रमा कार्यरत विश्वभरका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहने उक्त कार्यक्रमलाई बन्दनाले सम्बोधन गर्नेसमेत कार्यक्रम रहेको छ ।

घटना र विचारसँग कुरा गर्दै बन्दनाले भन्नुभयो, ‘पुरस्कार या मान–सम्मानका लागि नभएर नेपालका मुद्दाहरूसमेत समेटिने प्रकारले अन्तर्राष्ट्रिय नीतिहरू तय हुन् भनेर मैले हिंसामा परेका महिला तथा द्वन्द्वपीडित महिलासँग ग्रामीणस्तरमा गरेका कामको अनुभवलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याएकी थिएँ । पुरस्कार पाएपछि मेरो निरन्तर वकालतलाई संयुक्त राष्ट्रसङ्घले पहिचान गरेको अनुभव भइरहेको छ । आगामी दिनमा ग्रामीण क्षेत्रका महिलाका मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन र ग्लोबलस्तरमा भएका कुरालाई ग्रामीणस्तरसम्म पुर्‍याउन आफूलाई थप उत्साह मिलेको छ ।’