‘भारत भ्रमणलगत्तै प्रधानमन्त्री चीन जाने’

‘भारत भ्रमणलगत्तै प्रधानमन्त्री चीन जाने’


KP-oli-PM
छिमेकी मित्रराष्ट्र भारतको पाँचदिने भ्रमणमा शुक्रबार जम्बोटोलीका साथ प्रस्थान गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण दलमा सहभागी सदस्यहरूलाई नेपालको सम्मान र गरिमा बढ्ने गरी प्रस्तुत हुन आग्रह गरेका छन् । बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा टोलीका सदस्यहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा दुई देशबीच बिग्रिएको सम्बन्धलाई समझदारीमा फर्काउने विषयलाई प्राथमिकतामा राखिने जानकारी दिँदै त्यस्तो आग्रह गरेका हुन् ।

सो क्रममा उनले भारत सरकारले यस भ्रमणलाई विशेष महत्व र गम्भीरताका साथ लिएकाले दुई देशबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिने विश्वास समेत व्यक्त गरे भने उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले भ्रमणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए ।

यसैबीच सूचना तथा सञ्चार मन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुई देशबीचको चिसोपन र असमझदारीे अन्त्य गर्नमा नै बढी केन्द्रित हुने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाल र भारतबीच विगतमा विकास आयोजनामा भएको सम्झौतालाई कार्यान्वयन गर्न र आपसी विश्वासको आधार बनाएर दुई देशको सम्बन्ध सुदृढ बनाउन पनि भ्रमणले जोड दिने धारणा राखे ।

प्रधानमन्त्रीको भ्रमणबाट राष्ट्रको हितविपरीत तल माथि हुनेगरी केही काम नहुने भन्दै मन्त्री राईले भारत भ्रमण सकेलगत्तै प्रधानमन्त्रीले छिमेकी मित्रराष्ट्र चीनको पनि भ्रमण गरी दुई देशबीच व्यापार तथा पारवाहन र इन्धनलगायत ऐतिहासिक सम्झौता हुने खुलासा गरे ।