गुल्मीमा ब्लड बैंक स्थापना

गुल्मीमा ब्लड बैंक स्थापना


– विशाल भट्टराई

Gulmi
लामो समयको कोशिशपछि गुल्मीमा ब्लड बैंक स्थापना भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीले जिल्ला अस्पताल तम्घासमा ब्लड बैंकको स्थापना गरेको हो । प्रजातन्त्र दिवसको अवसरमा स्थापना भएको उक्त ब्लड बैंकको सांसद चन्द्र भण्डारीले रक्तदान गरेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमकै अवसरमा एक दर्जन बढी दाताहरुले रगत दान गरेका छन् । केही समय अघिदेखि नै ब्लड बैंक स्थापनाका लागि रेडक्रसले कोशिश गरिरहेको भए पनि विभिन्न प्राबिधिक कारणले स्थापना हुन सकेको थिएन । भौतिक पूर्बाधार, आर्थिक तथा प्राबिधिक कारणले ब्लग बैंक स्थापना हुन नसकेको हो ।

नेपाल रेडक्रस सोसाइटी गुल्मीका सभापति अनुपकुमार श्रेष्ठले पहिले आपतकालिन अवस्थामा मात्रै रगत उपलब्ध गराएकोमा अव त्यो चौविसै घण्टा उपलब्ध भएको बताए । ‘अब जिल्ला अस्पतालबाट चौविसै घण्टा रगतको ब्यवस्था गर्न सकिन्छ,’ उनले भने, ‘ब्लडबैंक खुलेसँगै रगतकै कारण विरामीहरुलाई पाल्पा, बुटवल जान पर्दैन ।’ श्रेष्ठले अब रगत दान गर्न चाहानेहरुलेपनि चौबिसै घण्टा जिल्ला अस्पतालमा रहेको ब्लड बैंकमा पुगेर दान गर्न सक्ने बताए ।

रेडक्रस सहित जिल्ला विकास समिति, रेसुंगा नगरपालिका, उद्योग बाणिज्य संघ र अस्पताल विकास समितिको सहयोगमा ब्लड बैंक स्थापना गरिएको हो । अहिले सामान्य अवस्थामा स्थापना भएको बैंकले अझ बढी अत्याधुनिक गराउन सहयोग दाताहरु समेत खोजिएको उनले बताए । रेडक्रसले ब्यक्ति तथा संस्थाहरुसँग सहयोग माग्न समेत सुरु गरेको छ । ब्लड बैंकमा लागि तम्घासमा घर भइ हाल युकेमा रहेका रामप्रसाद सापकोटाले पहिलो सहयोगदाताको रुपमा ५० हजार सहयोग गरेका छन् ।
Gulmi Blood Bank
सामान्यतया रगतको बैंकमा रहेको रगतको आयु ३५ दिने हुने भएपनि गुल्मीमा २० दिन सम्म मात्रै रगत राख्न सकिन्छ । ‘२० दिन सम्म पनि प्रयोग भएन भने हामी त्यो रगतलाई बुटवलमा रहेको रेडक्रसकै बैंकमा पठाउँछौँ,’ श्रेष्ठले भने, ‘त्यो हाम्रा लागि ब्याकपको रुपमा रहन्छ, उनीहरुले पछि फिर्ता गर्छन् ।’श्रेष्ठले अहिले लगभग पाँच लाखको लगानीमा ब्लड बैंक स्थापना भएको बताए । अहिले २५ देखि ३० पोइन्ट मात्रै ब्लड बैंकमा स्टोर गर्न सकिन्छ । स्टोर क्षमता बढाएर तीन महिना भीत्र ५० जना बिरामीलाई पुग्ने गरि रगत सञ्चय गर्ने तयारी पनि गरिएको छ ।

अहिले जिल्ला हस्पिटलकै सामग्रीहरु प्रयोग गरेर बैंक स्थापना गरिएको हो । यसमा निक साइमनको पनि सहयोग रहेको श्रेष्ठले बताए । रक्तदान गरिसकेपछि सांसद भण्डारीले गुल्मीमा ब्लड बैंक स्थापना हुनु गुल्मेलीका लागि खुसीको कुरा रहेको बताए । साथै उनले रेडक्रसलाई ब्लडबैंक संचालनार्थ कम्तिमा पनि १० लाखको सहयोग जुटाउने प्रतिबद्धता जनाएका छन् । ब्लड बैंक स्थापना भएसँगै सामान्य प्रकृतिका अप्रेशनहरु गुल्मीमा हुने छन् । रगत नहुँदा डाक्टरहरुले अप्रेशनमा समेत मानसिक रुपमै असहजता महसुस गरेका थिए ।