बाबुरामले यसरी तिरे करिश्माको गुन

बाबुरामले यसरी तिरे करिश्माको गुन


Baburam
गत शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘फागु’ (द कलर अफ लाइफ) यतिबेला विभिन्न कारणले चर्चामा रहेको छ । नेपाली सिनेमा निर्देशनमा नयाँ आयाम ल्याउने जोसका साथ चलचित्र निर्देशनमा लागिपरेकी सम्झना उप्रेती रौनियारको सशक्त निर्देशनको कारण मात्र नभई १२ वर्षपछि चलचित्र निर्माण फर्किएकी बहुचर्चित अभिनेत्री करिश्मा मानन्धर निर्माता भएकाले पनि ‘फागु’ तुलनात्मक रूपमा चर्चामा रहेको हो । यसबाहेक अत्यन्त आशालाग्दी नायिकाको रूपमा चलचित्र फाँटमा उदाएकी शिल्पा पोखरेलको अभिनय पनि फागुलाई चर्चामा राख्ने एक कारक बनेको सिनेसमीक्षकहरू बताउँछन् ।

त्यसो त राजेश हमाल, गौरी मल्ल, टीका पहाडी, सुवास पराजुली, वसन्त भट्टजस्ता कलाकारहरूको यसमा मुख्य भूमिका रहेको छ । तर, निर्देशक सम्झनाले नायिका शिल्पालाई फोकस गरेर विभिन्न माध्यममार्फत फागूको प्रमोसन तथा प्रचारप्रसार गर्दै आएकी छिन् । नेपालको तराई मधेस क्षेत्रका विविध संस्कृतिका साथै सीमावर्ती समस्यालाई उजागर गरिएको फागु हेर्ने सचेत दर्शक वर्गले चलचित्र सन्देशमूलक र सुन्दर बनेको प्रतिक्रिया दिएबाट यसले राम्रै व्यापार गर्ने अपेक्षा सम्बद्ध पक्षले गरेको छ ।

फागु प्रदर्शनको सन्दर्भमा रोचक प्रसङ्ग के छ भने गत आइतबार पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईले समेत उक्त चलचित्रको विशेष शो अवलोकन गरेका छन् । नयाँ शक्ति पार्टीमा आबद्ध अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरको विशेष आग्रहमा भट्टराई श्रीमती हिसिला यमीलाई समेत साथ लिएर राजधानीको क्युज सिनेमा हल पुगेका थिए । भट्टराईदम्पतीले सिनेमा अत्यन्त राम्रो बनेको प्रतिक्रिया दिँदा करिश्मा मात्र नभई निर्देशक सम्झनासहितको चलचित्र युनिट नै दङ्ग परेका थिए । यसैगरी सेलिब्रेटी समाजसेवी अनुराधा कोइरालाले समेत हलमा पुगी फागु हेरेकी छिन् । फागुप्रतिको उनको प्रतिक्रिया पनि करिश्मा, सम्झना र शिल्पाहरूलाई उल्लशित तुल्याउने प्रकारकै रह्यो । अनुराधाले खुलेरै चलचित्र राम्रो बनेको, विषयवस्तु राम्रो छनोट गरिएको बताएकी थिइन् ।

यसरी बाबुराम भट्टराई पत्नीसहित करिश्माको चलचित्र हेर्न पुगेपछि एक चलचित्रकर्मीको प्रतिक्रियाचाहिँ यस्तो थियो, ‘बाबुरामको पार्टीमा करिश्मा आबद्ध भइदिँदा नयाँ शक्तिलाई व्यापक पब्लिसिटी मिलेको थियो, त्यसैको पैँचो तिर्न बाबुराम पनि हलमा आइदिए र फागुलाई विशेष चर्चा दिलाइदिए ।’ ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा भनेको यही नै होला ।