हटेकै हो त असमझदारी ?

हटेकै हो त असमझदारी ?


ghatana
प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मित्रराष्ट्र भारतको ६ दिवसीय ‘राजकीय भ्रमण’ सम्पन्न भएको छ । ओली स्वयम् र उहाँको भ्रमण दलमा रहेका सदस्यहरूले प्रधानमन्त्रीको भारत यात्रा ‘अभूतपूर्व’ किसिमले सफल भएको र ऐतिहासिक महत्त्व राख्ने प्रकृतिको रहेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीकै शब्दमा भन्नुपर्दा उहाँ कुनै ‘सपिङ लिस्ट’ लिएर भारत प्रस्थान गर्नुभएको थिएन, केवल पछिल्लो चरणमा छिमेकी भारतसँग चिसिएको सम्बन्ध सुधार गरी मित्रतालाई पूर्ववत् स्थितिमा फर्काउन या अझ प्रगाढ तुल्याउन सद्भाव भ्रमण गरिएको हो । अर्थात्, यसपटक भारतसँग कुनै सहयोग लिने या नेपालले केही दिने उद्देश्यले प्रधानमन्त्रीको भ्रमण भएको होइन । सम्बन्धमा असमझदारी र चिसोपन बढ्न लागेको परिवेशमा मित्रराष्ट्र भारतले राजकीय स्वागतका साथ आतिथ्यता प्रदान गरेबाट नेपाल–भारतबीचको असमझदारी पूरै हटेको प्रधानमन्त्री ओलीको बुझाइ र विश्लेषण छ ।

आफ्नो भारत–यात्रापछि नेपाल र भारतबीचको सम्बन्ध नै नयाँ युगमा प्रवेश गरेको, सबै प्रकारका असमझदारी हटेको र अब अग्रगामी सम्बन्धलाई अघि बढाउने काम मात्र बाँकी रहेको प्रधानमन्त्री ओलीको कथन छ । उहाँका यी अभिव्यक्तिमाथि विश्वास गर्ने हो भने सदियौँदेखि अन्योन्यास्रित सम्बन्ध रहँदै आएको भारत र नेपालको मित्रता अहिले आएर ‘स्वर्ण चरण’मा प्रवेश गरेको मान्नुपर्छ । तर के नेपाल र भारतबीच स्वर्ण–सम्बन्धको चरण आरम्भ भएकै हो त ? पछिल्ला केही महिनायता पैदा भएको असमझदारी र त्यसबाट उत्पन्न असहजता एवम् नेपाल र नेपालीले व्यहोर्नुपरेको दु:खदायी अवस्थाको अन्त्य भइनसकेको परिवेशमा प्रधानमन्त्री ओलीबाट व्यक्त भएका अत्योत्साहित अभिव्यक्तिले आमनागरिकमा कुतूहलपूर्ण जिज्ञासा स्वत: जगाएको छ ।

कुनै सन्धि, सहमति वा लेनदेन नगर्ने योजनामुताबिक खास एजेण्डा तय नगरी भएको भ्रमणका क्रममा भारतसँग सातबुँदे समझदारी भने गरिएको छ । पहिले नै सहमति भएका, तर ठोस रूपमा कार्यान्वयन हुन नसकेका योजनाहरू सम्पन्न गर्न–गराउन मित्रराष्ट्र भारतलाई प्रतिबद्ध तुल्याउनका निम्ति पछिल्लो समझदारी गरिएको जो तर्क दिइएको छ, यसमा अन्यथा मान्नुपर्ने खास कारण पनि देखिँदैन । तथापि, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री ओलीले ‘वान टु वान’ भेटमा के विषयमा कुराकानी गर्नुभयो होला भन्ने जिज्ञासाचाहिँ सचेत तप्कामा जागृत भएकै छ । मधेस आन्दोलन चर्किएसँगै संयोगवश जुन प्रकारको छवि सार्वजनिक भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँकै दलका नेता–कार्यकर्ता र सचेत नागरिक तप्काले पनि मित्रराष्ट्र भारतको अहित नचिताउने नेताकै रूपमा चिन्दै–चित्रित गर्दै आएको तथ्य यहाँ मननीय छ । केपी ओलीलाई छिमेकी भारतले राजकीय आतिथ्यता प्रदान गर्नुमा नेपालसँग चिसिन लागेको सम्बन्धमा सुधार ल्याउने अभिप्राय मात्र नभई ओलीसँगको पुरानो सम्बन्ध पनि कारक रहेको ठानिँदै छ । अन्यथा, प्रकारान्तरले दुई मुलुकबीच कटुता उत्पन्न हुँदै गरेको सन्दर्भबीच प्रधानमन्त्री ओलीको ऐतिहासिक तवरले दिल्लीमा भव्य स्वागत हुनु र ओलीबाट पनि एकाएक भारतसँगको सम्पूर्ण असमझदारी हटेको अभिव्यक्ति आउनुलाई स्वाभाविक ठान्न मुस्किल नै पर्ने तर्क गर्न सकिन्छ ।

जे होस्, राजनीतिक दलहरूका आ–आफ्ना अडान र अहमताका कारण छिमेकी भारतसँग नेपालको सम्बन्ध पूरै चिसिनुअघि नै जुन प्रकारले मित्रतामा पुन: न्यानोपन बढेको छ, यो स्वागतयोग्य छ । प्रधानमन्त्री ओलीको भारतयात्राको सान्दर्भिकता पनि मूलत: यत्ति नै हो । तर, ‘सबै पक्षसँग सहमति र सहकार्य गर्दै संविधान कार्यान्वयन प्रक्रियाबाट नेपाल अघि बढ्ने’ अपेक्षासहितको जुन अभिव्यक्ति भारतका प्रधानमन्त्री मोदीबाट ओलीको दिल्लीयात्राका क्रममा दोहोरियो, यसको आवश्यकताभन्दा बढी नै अर्थ लगाएर व्याख्या–विश्लेषण गर्ने उपक्रम आरम्भ भइसकेको छ । यसले ‘भारतसँगको असमझदारी पूरै अन्त्य भएको’ प्रधानमन्त्री ओलीको दाबीमाथि प्रश्नचिह्न खडा गरिदिन सक्छ । नेपाल र भारतबीचको सम्बन्ध जति प्रगाढ र अन्योन्यास्रित छ, त्यत्ति नै नाजुक पनि छ । यो यथार्थ बिर्सिएर भारतसँग गर्न खोजिने विधि–व्यवहार सर्वथा दुवै मुलुकको हितमा नहुन सक्छ । सरोकारवाला सबैमा हेक्का रहोस् ।