विदेशबाट आउनेहरू पनि देउवाकै पक्षमा

विदेशबाट आउनेहरू पनि देउवाकै पक्षमा


विदेशस्थित नेपाली जनसम्पर्क समितिका तर्फबाट कांग्रेसको तेह्रौँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरू पनि सभापतिमा शेरबहादुर देउवालाई मतदान गर्ने निर्णयमा पुगेका छन् । विश्वका सत्र देशका एक सय उन्नाइस प्रतिनिधिमध्ये नब्बे (९०) जनाले देउवालाई मतदान गर्ने निर्णय गरेका हुन् । लन्डनस्थित नेपाली जनसम्पर्क समितिका महामन्त्री एवम् मेलमिलाप दिवसका दिन आयोजित अन्तर्राष्ट्रिय बैठकका संयोजक राजकुमार त्रिपाठीले जनाएअनुसार लन्डन बैठकले नै सभापतिमा मतदान गर्ने निर्णय गरेको हो । त्रिपाठीको भनाइ छ, ‘साठी–चालीसको भागबन्डा गर्ने परम्परा अन्त्य गर्न शेरबहादुर देउवालाई सभापति बनाउनुपर्ने भएकोले विदेशमा रहने कांग्रेसका हामी कार्यकर्ताले यस्तो निर्णय गरेका हौँ । पार्टीलाई एकताबद्ध गर्न सक्ने क्षमता देउवामा भएकोले पनि हामीले यस्तो निर्णय गरेका हौँ ।’
Sher B. Deuba
गत पुसको १६ गते राष्ट्रिय मेलमिलाप दिवसका दिन आयोजित बैठकले देउवालाई मतदान गर्ने निर्णय गरेपछि अहिले विदेशस्थित प्रतिनिधिहरूमध्ये अधिकांश काठमाडौं आइसकेका छन् । अमेरिका, बेलायत, बेल्जियम, पोर्चुगल, जर्मनी, नेदरल्यान्ड, डेनमार्क, अस्ट्ेरलिया, स्पेन, जापान, भारत, मलेसिया, साउदी अरब र यूएईलगायतका मुलुकबाट आउने एक सय उन्नाइस प्रतिनिधिमध्ये नब्बेजना देउवाका पक्षमा स्पष्ट रूपले उभिए पनि अन्य २९ जनाले कसलाई मतदान गर्ने हुन् भन्ने स्पष्ट हुन सकेको छैन ।