अमेरिकी आनालाई अली मियाँ पुरस्कार

अमेरिकी आनालाई अली मियाँ पुरस्कार


Aana 1

नेपाली लोक संस्कृतिको अध्ययन अनुसन्धान गरी यसको संरक्षण तथा उत्थानमा विशेष योगदान गरेवापत यस वर्षको अली मियाँ पुरस्कार अमेरिकाको होनोलुलु, हवाइनिवासी आना मेरी स्टरलाई प्रदान गरिने भएको छ । अली मियाँ लोकवाङ्मय प्रतिष्ठान पोखरा (कास्की)द्वारा लोककवि अली मियाँका नाममा स्थापित अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कार–२०७२ बाट यस पटक आना मेरी स्टरलाई सम्मानित गरिन लागेको प्रतिष्ठानका सचिव पदमराज ढकालले जनाएका छन् ।

साहित्यकार÷पत्रकार कृष्णप्रसाद बास्तोला संयोजक, लोकगायक पदमराज ढकाल र संस्कृतिकर्मी तुलसी ‘प्रवास’ सदस्य रहेको प्रतिभा छनौट समितिको सिफारिसअनुसार प्रतिष्ठानको बैठकले आनालाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको जनाइएको छ । बीस हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको उक्त पुरस्कारद्वारा यसअघि लोकगायिका हरिदेवी कोइराला, जनकविकेशरी धर्मराज थापा, लोकगायकहरू भेडिखर्के साइँला, खिमबहादुर गन्धर्व, बमबहादुर कार्की, प्रेमराजा महत, ठाकुर सिग्देल, संस्कृतिविद्हरू मोतिलाल पराजुली र चुणामणि बन्धु सम्मानित भइसकेका छन् ।
Aana 2
अली मियाँकै नाममा स्थापित अली मियाँ लोकवाङ्मय प्रोत्साहन पुरस्कारद्वारा लोकगायक-गायिकाहरू पद्मराज ढकाल, सोम बज्राचार्य, गौमाया थापा, उत्तम गुरुङ, धनबहादुर गन्धर्व, शकुन्तला ज्ञवाली र ऋतु लामा सम्मानित भइसकेका छन् । आगामी शनिवार (०७२ फागुन १५ गते) लोककवि अली मियाँको ९८औं जन्म जयन्तीका सन्दर्भमा आयोजित एक विशेष समारोहमा उक्त पुरस्कार आनालाई अर्पण गर्ने कार्यक्रम रहेको छ ।