बक्सिङ खेलाडी सम्मानित

बक्सिङ खेलाडी सम्मानित


Boxing
भारतमा हालै सम्पन्न भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बक्सिङमा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई हालै सम्मान गरिएको छ । नेपाल बक्सिङ सङ्घले उनीहरूलाई नगदसहित सम्मान गरेको हो । सो अवसरमा सहभागी अन्य खेलाडी र टिम व्यवस्थापक पनि सम्मानित भएका थिए ।

भारतको सिलोङमा भएको बक्सिङमा एक पुरुष र दुई महिला गरी तीन खेलाडीले कांस्य पदक जितेका थिए । पुरुषको ६४ केजीमा दीपक श्रेष्ठ तथा महिलाको ५१ केजीमा मिनु गुरुङ र ६० केजीमा सरस्वती रानाले कांस्य हात पारेका थिए । दीपक र सरस्वतीले अफगानिस्तान तथा मिनुले पाकिस्तानी खेलाडीलाई हराएका थिए । उनीहरूलाई जनही २० हजार र सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै सम्मानित हुने प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, प्रवीण तुलाधर, प्रकाश थापामगर र नीमा तामाङ रहेका छन् । प्रचण्डले सात हजार पाँच सय र अन्यलाई समान पाँच–पाँच हजार नगदसहित सम्मानपत्र प्राप्त गरिएको ।

बक्सिङमा नेपालले सात पुरुष र तीन महिला गरी १० खेलाडी सहभागी गराएको थियो । सहभागी पुरुषको ४९ केजीमा तेजबहादुर देउवा, ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा दिनेश श्रेष्ठ, ६० केजीमा दानबहादुर दर्लामी, ६९ केजीमा विकास लामा तथा ७५ केजीमा दीपेश लामालाई सम्मानपत्रबाट सम्मान गरियो । महिलातर्फ ७५ केजीमा सहभागी सङ्गीता सुनार पनि सम्मानपत्रबाट सम्मानित भइन् । सम्मानित हुने टिम व्यवस्थापकमा बक्सिङ सङ्घका सदस्य गौतम सुजाखु छन् ।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठ र बक्सिङ सङ्घका मानार्थ आजीवन अध्यक्ष विष्णुगोपाल श्रेष्ठले सम्मान गरेका थिए ।
कार्यक्रममा सदस्यसचिव विष्टले नगद राशिभन्दा पनि सम्मान गर्ने भावना जाग्नु नै महत्त्वपूर्ण भएको बताउदै खेलाडीले कुन पदक जितेभन्दा पनि उनीहरूले कस्ता खेलाडीसँग कसरी प्रदर्शन गरे भन्नेमा ध्यान दिनु आवश्यक रहेको बताए । बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले छोटो तयारीमा पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताउँदै ‘टिम वर्क’ खलबल्याउन खोज्ने खेलकुदका तत्त्वसँग सम्बन्धित सबै होसियार हुनुपर्ने बताए । उनले बक्सिङ खेल र खेलाडीको विकास नै आफ्नो मुख्य उद्देश्य भएको र त्यसैमा ध्यान केन्द्रित गरेको बताए थिए ।

त्यस्तै ललितपुर जिल्ला बक्सिङ सङ्घले १२औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बक्सिङका कांस्य पदक विजेता तीन खेलाडीलाई नगदसहित सम्मान गरेको छ । सङ्घले दीपक श्रेष्ठ, मिनु गुरुङ र सरस्वती रानालाई समान १५ हजार नगदसहित प्रशंसापत्रबाट सम्मानित गरेको थियो । त्यस्तै नेपालमै भएको आठौँ साफका स्वर्ण विजेता प्रकाश थापामगर र रामचन्द्रलाई नगद पाँच–पाँच हजार र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।