भारोत्तोलन सङ्घको फड्को मार्ने प्रतिबद्धता

भारोत्तोलन सङ्घको फड्को मार्ने प्रतिबद्धता


Sport Bharattolan
भारोत्तोलन खेलाडी सम्मानित

नेपाल भारोत्तोलन सङ्घले भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । भारोत्तोलनमा नेपालले एक रजत र तीन कांस्यसहित चार पदक जितेको थियो । पुरुषको ६२ केजीमा विकास थापाले रजत जितेका थिए । महिलाको ५३ केजीमा देवीकुमारी चौधरी, ७५ केजीमाथि तारादेवी पुन तथा ६३ केजीमा जुनमाया छन्त्यालले कांस्य हात पारेका थिए । देवीकुमारीले जितेको पदक १२औँ सागमा नेपालले जितेको पहिलो पदक हो । सो अवसरमा रजत विजेतालाई १० हजार तथा कांस्य विजेतालाई समान आठ हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो । पदक विजेता सबैलाई भारोत्तोलन सङ्घका सदस्य एवम् पूर्वभारोत्तोलनखेलाडी रुकेश तण्डुकारले प्रोत्साहनस्वरूप ट्रयाकसुट प्रदान गरेका थिए ।

भूकम्पपीडितलाई सहयोग
त्यस्तै भारोत्तोलन सङ्घले गत वैशाखको भूकम्पका कारण घाइते भएका, आफन्त गुमाएका, घर पूर्ण रूपमा क्षति भएका तथा घर आंशिक क्षति भएका भारोत्तोलन खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको थियो । पीडितलाई तीन समूहमा वर्गीकरण गरी क्रमश: ३० हजार, २० हजार र १५ हजार आर्थिक सहयोग प्रदान गरिएको थियो । जापान भारोत्तोलन सङ्घले आफ्नो सक्रियतामा सङ्कलन गरी भारोत्तोलन सङ्घलाई उपलब्ध गराएको तीन हजार अमेरिकी डलरबाट खेलाडीलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
आर्थिक सहयोग पाउनेमा पीडित खेलाडीहरूमा लक्ष्मण रन्जित, मुई लामा, रामकुमार श्रेष्ठ, गोपालबहादुर श्रेष्ठ, ज्ञानबहादुर श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, राजु राना (पाल्पा), राजु राना (धादिङ), अनिल मल्ल, लिक्की थापा, रमेश पाठक, जीवन तामाङ तथा बुद्धि लामा रहेका छन् ।

एकेडेमी निर्माणको घोषणा
सोही कार्यक्रममा भारोत्तोलन सङ्घले भारोत्तोलन तथा फिट्नेस एकेडेमी निर्माण गर्ने घोषणासमेत गरेको छ । नेपालगञ्ज रंगशालामा राष्ट्रिय खेलकुद परिषद्को जग्गामा बन्न लागेको एकेडेमी भुइँसहित चार तलाको हुनेछ । अहिलेको मूल्याङ्कनमा करिब ८० हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको भारोत्तोलन सङ्घका अध्यक्ष रतनकुमार टण्डनले जानकारी गराएका थिए ।

भुइँ तलामा तालिम तथा फिट्नेस हल हुनेछ । यो तलामा १२ प्लेटफर्म बनाई प्रतियोगिता सञ्चालन गर्न पनि मिल्ने बताइएको छ । पहिलो तलामा १० कोठासहितको महिला होस्टेल र डाइनिङ हल रहनेछ । दोस्रो तलामा १२ कोठासहितको पुरुष होस्टेल तथा डाइनिङ हल बन्नेछ । चौथो तलामा ५० जना पढ्न मिल्ने हल र पुस्तकालय निर्माण गरिने योजना रहेको भारोत्तोलन सङ्घले जनाएको छ ।

हसन आउन पाएनन्
त्यसै कार्यक्रममा एसियाली भारोत्तोलन महासङ्घका महासचिव मोहम्मद हसन जलौडले भारोत्तोलन सङ्घलाई सामग्री हस्तान्तरण गर्ने कार्यक्रम थियो । अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घका सदस्यसमेत रहेका हसन हवाईयात्राका दौरान उत्पन्न विविध समस्याले गर्दा कार्यक्रममा उपस्थित हुन नपाएपछि उक्त कार्यक्रम तत्काललाई स्थगित गरिएको छ । हसन ब्राजिल, चीन हुँदै नेपाल आउने कार्यक्रम थियो । हसन पछि नेपाल आएको बेला सामग्री हस्तान्तरण हुने भारोत्तोलन सङ्घले जनाएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका कोषाध्यक्ष सुरेन्द्र हमाल, भारोत्तोलन सङ्घका अध्यक्ष टण्डन र महासचिव पार्थसारथी सेन गुप्ताले खेलाडीलाई सम्मान तथा आर्थिक सहयोग प्रदान गरेका थिए ।