फुटबल विवाद : विकल्पसहित प्रस्तुत भए एएफसीका प्रतिनिधि

फुटबल विवाद : विकल्पसहित प्रस्तुत भए एएफसीका प्रतिनिधि


Sport

– श्रीविक्रम भण्डारी
भ्रष्टाचार गरेको अभियोगमा फिफाले गणेश थापालाई दशवर्षे प्रतिबन्ध लगाएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्ष पद रिक्त भएको थियो । त्यसपछि एन्फाको भविष्यमाथि औँला उठ्नुको साथै चासोको विषयसमेत बन्दै आएको थियो । अध्यक्ष थापालाई भ्रष्टाचारको अभियोग लगाएर फिफाले पदमुक्त गरेपछि एन्फाको वागडोर कसले सम्हाल्ने भन्ने विषयमा समेत प्रश्न उठेका थिए । मनोनीत उपाध्यक्ष नरेन्द्र श्रेष्ठलाई एन्फाको कार्यवाहक अध्यक्ष बनाएर एन्फालाई हाँक्ने प्रयास गरे पनि त्यो निर्विवाद भने बन्न सकेन । असन्तुष्ट पक्षले यसको व्यापक विरोध गर्दै अर्थात् एन्फाको पुनर्गठन गर्नुपर्ने माग यद्यपि राख्दै आएको छ । उनीहरूले श्रेष्ठको नियुक्ति विधानविपरीत भएको आरोप लगाउँदै विधानसम्मत् चयन हुनुपर्नेमा सबैको ध्यानाकर्षण गराएका थिए । यसको जानकानी उनीहरूले सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र खेलकुदका संरक्षक प्रधानमन्त्रीलाई समेत गराएका थिए । तर, थापाको इसारामा नाच्नेहरूले एन्फालाई पुरानै पाराले सञ्चालन गर्न खोज्दा अहिले एसियन फुटबल कन्फिडेरेसन (एएफसी)का प्रतिनिधि नेपाल आउन बाध्य भएका छन् । जसले एन्फालाई तत्काल साधारणसभा गरेर नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।

एएफसीका प्रतिनिधिहरूले एन्फाको साधारणसभा गरेर नेतृत्व चयनका लागि अनुरोध गरेपछि अहिले एन्फाका पदाधिकारीहरूको मुटुले ढ्याङ्ग्रो ठोकेको छ । एन्फा विवादको समाधान नै साधारणसभा भएको निक्र्योल गर्दै एएफसीका प्रतिनिधिहरूले तत्काल साधारणसभा गर्न भनेपछि आफूले खाइपाई गर्दै आएको रोजीरोटी र रजाइँ गर्दै आएको एन्फा दाउमा लागेपछि एन्फाका पदाधिकारी असमन्जस्यमा परेका छन् । साँचो अर्थमा भन्नुपर्दा उनीहरूको स्थिति निकै नाजुक बनेको छ । अन्तर्राष्ट्रिय संस्थाले साथ छोडिसकेको अवस्था छ भने राष्ट्रियस्तरमा उनीहरूको कुनै दाल गल्नेवाला छैन । यस्तो स्थितिमा राष्ट्रिय खेलकुद परिषद्ले पनि आफ्नो दृष्टिकोण एएफसीका प्रतिनिधिसमक्ष प्रस्ट रूपमा राखिसकेको हुँदा एन्फाको तत्काल निर्वाचनबाहेक अर्को विकल्प देखिएको छैन । एन्फाको विवाद समाधानका लागि राखेपले एएफसी, सरकार, एन्फा र असन्तुष्ट पदाधिकारीलाई स्वीकार्य हुने तदर्थ समिति गठन गरेर निर्वाचन गर्नुपर्ने खुलासा गरिसकेको छ । जसले गर्दा अहिले एन्फाका पदाधिकारीलाई एन्फाको विवाद नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाबुको अनुहारजस्तै बनेको छ भन्दा फरक नपर्ला ।

यतिबेला एएफसी प्रतिनिधिमण्डलका सदस्यहरू एन्फा र राखेपका सदस्यसचिव केशवकुमार विष्टलाई भेटेर फर्किसकेका छन् । उक्त प्रतिनिधिमण्डलमा आएका एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख सञ्जीवन वसिंघम् र अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर पुरुषोत्तम कट्टेलले यथाशीघ्र एन्फाको विवाद समाधान गर्न साधारणसभा गरी नेतृत्व चयन गर्न एन्फाका पदाधिकारीलाई छलफलका क्रममा बताएका छन । तर, एएफसीका प्रतिनिधिहरू किन आए ? उनीहरूलाई कसले निमन्त्रणा गरेको हो ? उनीहरूको चाहना के हो ? यो कुरा भने रहस्यमय बनेको छ । र पनि, उक्त प्रतिनिधिमण्डलको आसय के हो ? त्यो भने प्रस्ट भएको छ । एन्फाको विवाद चाँडोभन्दा चाँडो समाधान हुनुपर्छ र त्यसका लागि साधारणसभा मात्र विकल्प ठान्ने एएफसीको वर्तमानको पहल कदमलाई अन्यथा मान्ने स्थितिचाहिँ छैन । प्राप्त जानकारीअनुसार गणेश थापा मै खाऊँ मै लाऊँ भन्ने प्रवृत्तिबाट दिक्क भएको एएफसीले थापालाई सदाका लागि फुटबलबाट टाढा राख्न आफ्नो प्रतिनिधि नेपालमा पठाएको थाहा हुन आएको छ । त्यस्तै, हालै आएको प्रतिनिधिमण्डलका एक सदस्यले एन्फाका उपाध्यक्षसमेत रहेका थापाका नातेदारलाई थापाको भित्री इच्छा र कर्तुतबारे कान फुकेकोसमेत जानकारीमा आएको छ । ती सदस्यले थापाका नातेदारलाई जसले आफ्नोबारेमा मात्र सोच्छ, त्यसले अर्काको बारेमा सोच्न सक्तैन भन्दै थापाकै छोराको उदारहणसमेत पेस गरेको थाहा भएको छ । त्यसैले थापाको भर पर्नुभन्दा आफ्नो दुनो सोझ्याउन ती सदस्यले सल्लाह दिएको पनि खुलासा भएको छ ।

एएफसीका प्रतिनिधिले नेपाली फुटबलको विवाद समाधानबारे चासो राख्दै विकल्पसमेत प्रस्तुत गरेपछि फुटबलको राजनीति चरमोत्कर्षमा पुगेको छ । हिजोसम्म एन्फालाई आफ्नो बाबुको बिर्ता ठान्नेहरू अहिले भिजेको मुसा बनेका छन् । अझ सरकारको समन्वय र सहयोगबिना एन्फा विवादको समाधान नहुने भन्दै एएफसीका प्रतिनिधिहरूले राखेपका सदस्यसचिव केशवकुमार विष्टसँग भेट गरेपछि एन्फाका पदाधिकारीका लागि अझ टाउको दु:खाइको कुरा बनेको छ । सो भेटको अवसरमा विष्टले एएफसीका प्रतिनिधिसँग गोप्यमा एक्लै भेटेपछि एन्फामा अर्को आँधी–तुफान आएको छ । आवरणमा आएको कुरा सञ्चारमाध्यममा आए पनि सदस्यसचिव विष्ट र एएफसीका प्रतिनिधिबीच गोप्य रूपमा के वार्ता भएको थियो त्यो नै असली कुरा भएको परिषद् स्रोतले बताएको छ । र पनि, सदस्यसचिव विष्टले फुटबलको विवादको समाधान गर्न एएफी गम्भीर रहेको बताउँदै त्यसका लागि विशेष कदम चाल्नुपर्ने बताएका छन् । विष्टले एन्फाको विवादले फुटबलको अस्तित्व नै सङ्कटमा परेको खुलासा गर्दै यसको समाधान पनि टालेटुले तरिकाले नभई गम्भीर तरिकाले दूरदर्शी भएर गर्नुपर्ने बताएका छन् । ‘त्यसका लागि सर्वप्रथम एन्फा विघटन गरेर स्वतन्त्र तदर्थ समितिको गठन गर्नुपर्छ । जसले ६ महिनाभित्रमा जिल्लादेखि केन्द्रसम्मको निर्वाचन गरेर एन्फालाई विवादमुक्त बनाउनेछ,’ विष्टले भने । त्यसका लागि गम्भीर होमवर्क गर्नुपर्ने भएकाले नीति–नियम विधानसम्मत एन्फाको विवाद सदाका लागि समाप्त पारिने सदस्यसचिव विष्टको दाबी थियो ।

प्रतिनिधिसँगको भेटपछि निकै उत्साहित सदस्यसचिव विष्टले अब एन्फा विवाद सदाका लागि समाप्त हुने बताएका छन् । ‘अब एन्फालाई विघटन गरेर सबैलाई स्वीकार्य हुने तदर्थ समिति गठन गरेर निर्वाचन हुन्छ,’ विष्टले भने । त्यसका लागि जिल्लास्तरबाटै निर्वाचन गरिने जानकारी गराउँदै यसले फुटबलमा लागेका जालोहरूलाई हटाउन पनि सजिलो हुने विष्टको तर्क थियो । एन्फालाई विघटन गरेर तदर्थ समिति गठन गर्ने कुरामा एएफसीका प्रतिनिधिहरू सहमत भएको खुलासा गर्दै विष्टले बाँकी कुरा उहाँहरूले सम्बन्धित निकायमा छलफल गरेर पत्राचार गरेपछि मात्र सम्भव हुने बताए । दुई साताभित्रै यसको छिनोफानो हुने बताउँदै विष्टले थपघट गरेर मात्रै विवाद समाधान नहुने भएकाले यसका लागि केन्द्रमा मात्र नभई जिल्लाको संरचनामा समेत परिवर्तन गर्नु आवश्यक रहेको आँैल्याएका थिए । जसले विगत दुई दशकदेखि गाडेको जरोलाई समेत उखेलेर फ्याँल्ने विष्टको दाबी थियो । जसले एन्फालाई नयाँ दिशातर्फ अग्रसर मात्र पार्ने नभई नयाँ एन्फाको कल्पना गरेर सपना देखिरहेकाको पनि सपना साकार हुने बताए । यसका लागि अब नयाँ सिराबाट कार्य प्रारभ्म हुन्छ । जसले एन्फालाई विवादमुक्त राख्नुको साथै फुटबलको समग्र विकास र विस्तारका लागि अहम् भूमिका निर्वाह गर्नेछ ।