नयाँ उमंगका साथ जुर्मराउँदै पोखरा

नयाँ उमंगका साथ जुर्मराउँदै पोखरा


Pokhara 1

अघिल्लो वर्षको सुरुमै आएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जर्जरपूर्ण अवस्थामा पुगेको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउँदै विकास गर्ने विषयको चासो र चर्चा यतिखेर पोखरामा तीव्र रुपमा देखिएको छ । २०७२ साल वैशाख १२ गते आएको भूकम्पका कारण सिंगो वर्ष नै तहसनहस बनेको पोखराको पर्यटनलाई उकास्ने सोचका साथ क्रियाशील पर्यटन व्यवसायीले भूकम्पको पीडालाई बिर्साउने गरी पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् ।

एक वर्ष समयावधिमा अत्यन्त कम सङ्ख्यामा बाह्य पर्यटक आएको पोखरामा आन्तरिक पर्यटकले केही मात्रामा राहत दिलाए पनि समग्रमा ठूलो मार बेहोर्नुपरेको पोखराका पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवसायी एवम् पश्चिमाञ्चल होटेल सङ्घ (हान) पोखराका अध्यक्ष भरतराज पराजुली भूकम्प आफैँमा एउटा प्राकृतिक प्रकोप भएका कारण यसले गत वर्ष दिएका पीडालाई भुल्दै पोखरेली पर्यटन व्यवसायी यहाँको पर्यटन प्रवद्र्धनका लागि सक्रिय बनेको बताउँटछन् । पर्यटनको प्रवद्र्धनका लागि राज्यबाट व्यवसायीले शान्तिसुरक्षा र राजनीतिक स्थिरताको अपेक्षा गरेका उनको भनाई छ । शान्तिसुरक्षा र राजनीतिक स्थिरता भएमा पोखराका पर्यटन व्यवसायी जस्तोसुकै अवस्थामा पनि प्रभावकारी सेवा प्रवाह गर्न तयार रहेको पनि उनले बताए ।

पोखरामा हाल लगभग ५०० को हाराहारीमा सुविधासम्पन्न होटलले सेवा प्रवाह गरेका छन् । पराजुलीका अनुसार पोखरामा दुई पाँचतारे, १५ वटा तीनतारे र अन्य सुविधासम्पन्न होटलले भूकम्प पूर्वको अवस्थामा वार्षिक आन्तरिक तथा बाह्य पर्यटक गरी करिब छ लाखदेखि सात लाखसम्म पर्यटकलाई सेवा दिइरहेका छन् । पर्यटकलाई लक्षित गरी व्यवसायीले पोखरामा लगभग ८० अर्बभन्दा बढी लगानी गरिसकेको बताउँदै उनले लगानीको क्रम तीव्र रुपमा अघि बढिरहेको उल्लेख गरे।

भूकम्प र नाकाबन्दीका कारण अत्यन्त पीडादायी वर्षका रुपमा २०७२ साललाई पोखरेली पर्यटन व्यवसायीले लिएको र ती सबै पीडालाई शक्तिमा रुपान्तरण गरी यहाँको पर्यटकीय विकासमा सक्रिय बन्नुपर्ने वर्तमानको आवश्यकता भएको अर्का व्यवसायीको धारणा छ । नयाँ वर्षको आगमनसँगै पोखराको पर्यटनमा उत्साह थपिन थालेको र यस वर्षको सुरुवातमा नै युरोपियन राष्ट्रका साथै भारत लगायतका स्थानबाट पर्यटक आउने क्रम सुरु भइसकेको व्यवसायीको कथन छ । भूकम्प र नाकाबन्दीका कारण गत वर्ष आन्तरिक र बाह्य पर्यटक गरी लगभग २५ प्रतिशत मात्र पर्यटक पोखरा आए पनि यस वर्ष पर्यटकको ठूलो चाप पोखरामा बढ्ने अपेक्षा स्थानीय व्यवसायीले गरेका छन् ।

पर्यटन सबै पक्षसँग सम्बद्ध हुने धारणा राख्दै नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी भूकम्प र नाकाबन्दीका कारण शिथिल बनेको पोखराको पर्यटनलाई उकास्नका लागि पर्यटन प्रवद्र्धन अपरिहार्य भएको तर्क अघि सार्छन् । पर्यटन प्रवद्र्धन स्थानीय तहबाटै हुनुपर्ने बताउँदै उनले यसका लागि छुट्टै निकाय गठन गर्न यहाँका सरोकारवालाको जागरुकता आवश्यक रहेको उल्लेख गरे। भूकम्प प्राकृतिक प्रकोप भएका कारण यसले शिथिल बनायो भनेर अब त्यत्तिकै बस्न नहुनेमा उनले जोड दिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन लाग्नुले पनि यहाँको पर्यटकीय विकासमा थप सम्भावना अघि बढाएकोमा सबै व्यवसायी सहमत छन् ।

Pokhara