फेरि आउँदैछ चिनीयाँ जहाज

फेरि आउँदैछ चिनीयाँ जहाज


चिनीयाँ जहाजका कारण नेपाल बायुसेवा निगम निरन्तर घाटामा गएको विषयले चर्चा पाइरहेको बेला नेपालका लागि चीनमा निर्मित चारवटा जहाज छिट्टै नेपाल ल्याइने तयारी भएको बुझिएको छ । सम्बन्धित चिनियाँ कम्पनीलाई उद्धृत गर्दै यतिबेला चीन यात्रामा रहेका राससकर्मी एकराज पाठकले जनाएअनुसार यसको अन्तिम तयारी भइरहेको छ ।

सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज विविध कारणले नेपाल ल्याउन ढिलाइ भएको थियो । ती जहाज केही महिनादेखि नै चीनको सियान र हर्बिनस्थित कम्पनीमा थन्किएका छन् । सो जहाज निर्माण कम्पनीका प्रमुख इन्जिनियर एवम् नेपाल ल्याउन लागिएको सो ‘वाई १२’ विमानका मुख्य डिजाइनर साँग चानले भन्नुभयो– ‘‘चीनले ती जहाज अब छिट्टै नेपाल पठाउने अन्तिम तयारी हामीले गरेका छौँ र अब हामी नेपाल सरकारका प्रतिनिधिको पर्खाइमा छौँ ।”

“गएको डिसेम्बर महिनामा नै चीनका दुवै सहर सियान र हार्बिनमा पुगेर नेपाल सरकारका प्रतिनिधिसहितको पाइलट र प्राविधिक टोलीले परीक्षण उडानका साथै प्राविधिक जाँच गरिसकेका छन्”, त्यसैले अब नेपाल सरकारलाई हामी विमान लैजान अन्तिम तयारी गर्न भनेका छौँँ – चानले भन्नुभयो ।

नेपालका लागि बनाइएका छवटा विमानमा दुईवटा अनुदानस्वरुप थिए र ती पहिल्यै नेपाल ल्याइसकिएको छ । बाँकी चारमध्ये एउटा सियान र तीनवटा हार्बिन सहरमा कम्पनीकै मैदानमा राखिएको छ ।

नेपालको राष्ट्रिय झन्डा अङ्कित ती जहाज एभिक एयरक्राफ्ट कम्पनी लिमिटेडको सियानस्थित मैदानमा एमए–६० र रुसको सीमा नजिकको सहर हार्बिनको एभिक एयरक्राफ्ट इन्डस्ट्री ग्रुप कम्पनीको मैदानमा तीनवटा वाई–१२ पार्किङ गरेर राखिएका छन् ।

उक्त कम्पनीका अधिकारीका अनुसार यी चार जहाजका लागि नेपाल सरकारले ६० प्रतिशत रकम अर्थात् दुई करोड १० लाख अमेरिकी डलरभन्दा बढी रकम तिरिसकेको छ ।

उत्पादक कम्पनीको मैदानमा नेपाल वायुसेवा निगमको रङ र राष्ट्रिय झन्डामा सजाएर चिटिक्क पारेर राखिएको छ । ती सबै जहाजमा नेपाली कलसाइनसमेत राखेर तयार पारिएको छ ।

नेपालमा उडानका लागि दर्ता गरेपछि मात्र प्रयोग गर्न सकिने कलसाइनसमेत तिनमा अङ्कित छ । ९एन एकेभी, ९एन एकेयु, ९एन एकेटी कल साइनका यी जहाज सन् २०१४ मा तत्कालीन सरकारले न्यूनतम ब्याजको चीनकै ऋणमा खरिद गर्ने सम्झौता गरेको थियो ।

दुई सरकारबीच भएको सम्झौतामा दुईवटा एम ए–६० र ४ वटा वाई–१२ जहाजमध्ये एउटा एम ए–६० र एउटा वाई–१२ जहाज नेपाल सरकारलाई अनुदानका रुपमा चीन सरकारले दिने र बाँकी चारवटा चीनको एक्जिम बैंकले न्यूनतम ब्याज ९१.५ प्रतिशतमा सातवर्षको ग्रेस समय (साँवा तिर्नु नपर्ने, ब्याज मात्र तिर्ने) दिने उल्लेख छ ।

यसरी नेपाल सरकार र चीनको सो कम्पनीबीचको सम्झौता बमोजिम छवटा जहाजमध्ये उपहारका रुपमा पाएका दुईवटा जहाज नेपालले गएको डिसेम्बरमै लिएर उडानमा प्रयोग गरिरहेको छ ।

सम्झौतामा उपहारबाहेकका चारवटा जहाजका लागि ३५.१ मिलियन अमेरिकी डलर ९तीन करोड ५१ लाख अमेरिकी डलर० भन्दा बढी रकम नेपाल सरकारले तिर्ने सर्त राखिएको छ । यसमा ६० प्रतिशत नेपालले तिरिसकेको छ ।

एभिक कम्पनी सियानका उपनिर्देशक चांग युलोंगले भन्नुभयो – “उडान परीक्षण सफल गरेर टोली नेपाल गएको पनि धेरै भइसक्यो, उक्त टोलीले परीक्षण उडानपछि सबै राम्रो रहेको प्रमाणित गरेपछि नै दुईवटा अनुदानका जहाज लगिएको थियो । त्यसपछि बाँकी चारवटा पनि हामीले हाम्रो तर्फबाट सबै सकाएका छौँ अब हामी नेपाल लिन आउने पर्खाइमा छौँ । यसका लागि हामीले पनि अब नेपाल सरकारलाई अन्तिम ताकेता गर्दैछौँ ।”

सो कम्पनीका प्रमुख चालक तथा नेपालमा सन् २००१ देखि छ वर्षसम्म जहाज चलाएका चाओ फेङ देले भन्नुभयो– “यी विमान जतिसक्दो चाँडो उडानमा प्रयोग गरेर नेपालले धेरैभन्दा धेरै फाइदा लिनुपर्नेमा थन्किएर बस्नु राम्रो भएन ।” उहाँले नेपालको मौसम र भौगोलिक विकटतामा यो वाइ १२ जहाज राम्रो हुने सुझाव पनि दिनुभयो ।

एभिक हार्विनका उपाध्यक्ष तथा चिनियाँ कम्युनिस्ट पार्टीका एक नेता कु हाई छेंगले नेपाललाई दिएका मोडलका चिनियाँ जहाजहरु गुणस्तर मापन गर्ने अमेरिकी संस्था फेडेरल एभिएसन अथोरिटी (एफएए) बाटसमेत गुणस्तरयुक्त प्रमाणित भएको जानकारी दिनुभयो । उहाँले नेपाल भारत सम्बन्धको स्मरण गर्दै भविष्यमा पनि नेपाललाई सहयोग गर्ने बताउनुभयो ।

चिनियाँ अधिकारीहरुका अनुसार यी जहाजका लागि दुईजना नेपाली पाइलटलाई प्रशिक्षक पाइलटको तालिमसमेत चीनले दिइसकेको छ भने आठजनालाई पाइलट तालिम, १६ जनालाई ग्राउन्ड क्र्यु तालिम र आठजनालाई फ्लाइट एटेन्डेन्स तालिम दिइएको छ ।

Chinese made aircraft

(फाइल तस्बिर)