अम्बिका स्मृति जुडोमा पाम च्याम्पियन

अम्बिका स्मृति जुडोमा पाम च्याम्पियन


pam

बन्दी सहायता गृह (पाम)ले सातौँ अम्बिकाबहादुर क्षेत्री स्मृति उपत्यकाव्यापी क्याडेट तथा जुनियर जुडो प्रतियोगिताको उपाधि जितेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगितामा १० स्वर्ण, एक रजत र एक कांस्य जितेको थियो । त्यस्तै दोस्रो भएको होप्याडले चार स्वर्ण, दुई रजत र एक कांस्य प्राप्त गरेको थियो ।

स्व. अम्बिकाबहादुर क्षेत्रीका परिवारको प्रायोजन तथा नेपाल जुडो सङ्घद्वारा आयोजित प्रतियोगिताको सब क्याडेटतर्फ पुरुषमा पामका उत्तम प्रधान तथा महिलामा सीजेडीकी वितिशा थापामगर उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा पामका सुदेश डोङ र महिलामा होप्याडकी शारदा खत्री उत्कृष्ट खेलाडी चुनिएकी थिइन् ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, स्व. क्षेत्रीका छोरा विनोद, प्रमोद र अमोद, जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । सो अवसरमा स्व. क्षेत्रीका परिवारलाई जुडो सङ्घले सम्मान गरेको थियो ।

त्यसै अवसरमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोका स्वर्ण विजेता फुपु ल्हामु खत्रीलाई २५ हजार तथा रजत विजेताद्वय मनिता श्रेष्ठ प्रधान र लीला अधिकारीलाई ५–५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । हाल अस्ट्रेलियामा रहेका जुडो खेलाडी तथा जुडो सङ्घका पूर्वकार्यालयसचिव मोहन बमले उपलब्ध गराएको रकम जुडो सङ्घले खेलाडीलाई हस्तान्तरण गरेको हो ।