धोखा दिने एउटा गाली खाने देउवा !

धोखा दिने एउटा गाली खाने देउवा !


Prachanda & Deuwa

नेपाली कांग्रेसका केही नेताहरू आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाको बद्ख्वाइँ गर्न निहुँ खोजेर बसेको पाइएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले खड्गप्रसाद ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न कांग्रेससँग मिलेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने अग्रसरता लिएकोमा अचानक निर्णय बदलेर फर्किएपछि कांग्रेसभित्र देउवालाई होच्याउने र बद्ख्वाइँ गर्ने मौका पर्खेर बस्नेहरू सतहमा आएका हुन् । सभापति देउवाले ओली सरकारलाई विस्थापित गर्ने प्रयास गर्नुभएको भन्ने समाचार सार्वजनिक भएपछि सर्वसाधारण जनता र देशभरिका कांग्रेससमर्थक एवम् कार्यकर्ताहरूमा उत्साह पैदा भएको थियो । अचानक प्रचण्डले धोखा दिएको भन्ने खबरले आमजनतामा एकप्रकारको निराशा पैदा भएको छ र स्वयम् सभापति देउवा पनि प्रचण्डको व्यवहारबाट स्तब्ध र आश्चर्यचकित हुनुभएको छ ।

यस्तो अवस्थामा कांग्रेसका तमाम कार्यकर्ता र नेताहरूले प्रचण्डको अविश्वसनीय व्यवहारको एक स्वरले आलोचना गर्ने र कांग्रेससँग खेलबाड नगर्न चेतावनी दिने अपेक्षा गरिएको थियो । तर, ‘के निहुँ पाउँ र आफ्नै सभापतिलाई होच्याउँ’ भनी मौका पर्खेर बस्ने केही नेताहरूले प्रचण्डको धोखाधडीपूर्ण व्यवहारप्रति सार्वजनिक रूपमा कुनै टिप्पणी गरेनन्, बरु हुल बाँधेर सभापति देउवाको निवासस्थान पुगी उल्टै देउवाको आलोचना गरे । कतिपयले आफूलाई जानकारी नै नदिई ओली सरकार किन ढाल्न खोजेको भन्दै आक्रोश प्रकट गरे भने केहीले चाहिँ यति ठूलो तयारी भइरहँदा पनि आफूसँग कुनै छलफल नगरेको भन्ने गुनासो गरेका छन् । हुल बाँधेर देउवालाई आलोचना गर्न बुढानीलकण्ठस्थित देउवानिवास पुग्नेहरूमा प्रकाशमान सिंह, बलबहादुर केसी, आनन्द ढुङ्गाना, सीतादेवी यादवलगायत थिए र उनीहरूले आफ्नो ‘क्षमता र योग्यताले भ्याएसम्म’ देउवाको आलोचना गरे ।

सभापति देउवाले सम्पूर्ण घटना विवरण प्रस्तुत गर्दै प्रचण्ड नै समग्र घटनाका दोषी पात्र रहेको स्पष्ट गर्दागर्दै पनि सभापति देउवालाई होच्याउने नियतले गएकाहरू एकोहोरो देउवाविरुद्ध वर्षिरहे । तीमध्ये कतिले देउवाका विरुद्ध सार्वजनिक अभिव्यक्ति दिए भने कोहीले लेख लेखेरै देउवाको आलोचना गर्न पनि भ्याइसकेका छन् । सभापति देउवाबाट कुनै प्रकारको गल्ती–कमजोरी नहुँदा त यसरी उहाँका विरुद्ध प्रचारबाजी गर्न अग्रसरता पार्टीभित्रैबाट लिइन्छ भने देउवाबाट जान–अन्जानमा कुनै भूल भएमा यिनले के गर्लान् भन्ने प्रश्न उठेको छ । आफ्नै पार्टी सभापतिलाई होच्याउने, आलोचना गर्ने र तेजोबध गर्न प्रयास गर्नेहरूले प्रचण्डबाट भएको अविश्वसनीय एवम् धोखाधडीपूर्ण व्यवहारको बारेमा चाहिँ अहिलेसम्म एक शब्द पनि खर्चिएका छैनन् । सभापति देउवालाई सहयोग गर्न नभई जसरी भए पनि असफल पार्न चाहने व्यक्तिहरू पार्टीमा मौका ढुकेर बसिरहेका रहेछन् भन्नेचाहिँ यो प्रकरणले स्पष्ट गरेको छ ।