मोहम्मद अलीका मित्र तथा प्रतिद्वन्द्वी रहेनन्

मोहम्मद अलीका मित्र तथा प्रतिद्वन्द्वी रहेनन्


लण्डन । बक्सिङ जगतका राजा मोहम्मद अलीले बेलायतका बक्सिङ लिजेण्ड ७६ वर्षीय सर हेन्री कूपरको अन्त्येष्टिको अवसरमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । सन् १९६३ ताका मोहम्मद अलीलाई क्यासियस क्लेको नामबाट चिनिन्थे । सन् १९६३ सालको विश्व बक्सिङ हृयाभी वेट प्रतिस्पर्धामा सर हेन्री कूपरले वेम्बली स्टेडियममा बाँया हातको हूकको प्रहारबाट क्यासियस क्लेलाई धराशायी गरेका थिए, तर, उनी ठीक त्यही बेला घण्टी बजेकोले नाक-आउट हुनुबाट बचेका थिए । गतिलो मुक्का प्रहारबाट रन्थनिएका क्लेलाई बक्सिङ ग्लोब च्यातिएको बहानामा निकैबेरसम्म आराम गर्ने मौका पाएका थिए । अन्ततः हेन्री त्यस भीडन्तमा हारेका थिए र उनी कहिल्यै पनि विश्व हृयाभीवेट च्याम्पियन बन्न सकेनन् । तर, विश्व च्याम्पियन हुनुबाट वञ्चित भए तापनि उनले राष्ट्रिय, राष्ट्रमण्डल तथा अनेकौं युरोपेली खिताबहरु जितेका थिए । उनको मृत्युमा शोक प्रकट गर्दै मोहम्मद अलीले ….”दुर्इ वर्षअघि विण्डसरको इक्वेस्ट्रियन गेमका लागि बेलायत जाँदा उनीसँग मेरो २ पटक भेट भएको थियो. मैले एकजना महान खिलाडी, मित्र र भलादमीलाई गुमाएकोमा दुःखी छु”…भनेर समाचारदाताहरुलाई भनेका छन् । सर हेन्री कूपर ब्रिटिश नागरिक थिए । उनले खेलकुल जगतमा विशेषगरी बक्सिङमा ठूलो शोहरत प्राप्त गरेका थिए । पछिल्लो समयमा उनी टीभी र सञ्चार जगतसँग आबद्ध रहेका थिए । उनले जीवनकालमा धेरै पदकहरु साथै ओबीईको पदकबाट पनि विभूषित भएका थिए । उनी बेलायतका पहिलो व्यक्तित्व हुन् जसलाई २ पटकसम्म बीबीसी वर्ष खिलाडीको रुपमा सम्मानित गरेको थियो । उनलाई सन् २००० मा नाइटहूड प्रदान गरिएको थियो । हिजो ७७ वर्षको वर्षगाँठ मनाउने २ दिनअघि उनको छोराको निवासस्थान, सरेमा उनको देहान्त भएको थियो । श्रोत – नेट, सुमल, मेस ।