ट्राफिकका डिआइजी ‘हिरो’ बन्न खोजेपछि…

ट्राफिकका डिआइजी ‘हिरो’ बन्न खोजेपछि…


Dig-prakash-aryal

गत असोजदेखि सवारी चालकले गर्ने गल्तीवापत जरिवाना बढाउने निर्णय गरिए पनि यातायात व्यवसायीको विरोधमा सरकारले निर्णयलाई थाती राखेर बसेको थियो । महानगरीय ट्राफिक महाशाखामा प्रहरी नायव महानिरिक्षक प्रकाश अर्याल सरुवा भएर आएपछि जेठ १ गते देखि वृद्धि भएको जरिवानासहित चालकलाई कार्वाही गर्ने अभियान चलाएका छन् । विगतमा गल्ती गर्दा २५ रुपैयाँदेखि २०० सम्म जरीवाना लाग्ने गरेकोमा अब ५०० रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना लिन थालिएको छ । यसलाई डिआइजी अर्यालको आफू चर्चामा आउने कदमको रूपमा लिइएको छ ।

महाशाखाले जेठ १ देखि जरिवाना काट्न थालेपछि सबैभन्दा बढी सार्वजनिक यातायात संचालक आक्रोशित भएका छन् । सार्वजनिक यातायात व्यवसायीको छाता संगठन यातायात व्यवसायी राष्ट्रिय महासंघले लागु गरिएको जरिवाना तुरुन्त नसच्याए आन्दोलनमा जानेसम्मको सोच बनाएको बताइन्छ । महासंघका उपाध्यक्ष एवं वाग्मती अञ्चल–संयोजक धर्म रिमालले ट्राफिकमा नयाँ प्रमुख फेरिने क्रमसँगै यातायात व्यवसायी र मजदुरलाई सताउने गरेको बताउँछन् ।
महाशाखामा प्रमुखका रुपमा आएका प्रकाश अर्यालले आफू ‘नायक’ बन्नका लागि उपत्यकाबाट वृद्धि भएको जरिवाना उठाउन थालेका छन्, जुन कुरा आफूहरुलाई मान्य छैन । यसअघिका प्रमुख जयबहादुर चन्दले वृद्धि शुल्क लागु गर्दा व्यवसायी आन्दोलित हुने देखेर लागु नगरेको महासंघका सल्लाहकार हेमेन्द्र शेरचन बताउछन् । जरिवानाबाट आउने १५ प्रतिशत कमिसनप्रति आँखा लगाएर डिआइजी अर्यालले वृद्धि जरिवाना लागु गरेको आरोप पनि शेरचनले लगाए ।

व्यवसायी महासंघले यस विषयमा प्रम केपी ओली, गृहमन्त्री शक्ति बस्नेतसँग भेटेर वृद्धि जरिवाना फिर्ता गर्न आग्रह गरिसकेको छ । महासंघको आग्रहलाई अटेर गरिए पछि महासंघको आव्हानमा नेपाली कांग्रेस, एमाले र माओवादीसमर्थित यूनियनको विशेष सकृयतामा जेठ १३ देखि देशभर सम्पूर्ण यातायात ठप्प पार्ने भएका छन् । आन्दोलनले सबैभन्दा चर्को माग शुल्कवृद्धि फिर्तासँगै डिआइजी प्रकाश अर्यालले १५ प्रतिशतका लागि लोभ देखाएको हुनसक्ने भन्दै उनको सरुवाको माग अघिसार्ने भएको छ ।

कांग्रेससमर्थित नेपाल यातायात मजदुर संघ, एमालेसमर्थित नेपाल स्वतन्त्र मजदुर संघ र माओवादीसमर्थित संगठनलेसमेत यातायात ठप्प पार्न निर्देशन दिइसकेको बताइन्छ । आन्दोलनका कार्यक्रम र वृद्धि जरिवानाले मजदुरलाई पारेको असरबारे जानकारी दिन ७ गते शुक्रबार महासंघले पत्रकार सम्मेलन गर्ने भएको छ ।