पेरिसको मध्यभागमा अवस्थित ऐतिहासिक क्षेत्रको सेरोफेरोले फ्रान्सेली इतिहासको सजीब विवरण चित्रहरु, मूर्तिहरु र त्यहाँ निर्माण गरेर राखिएका भौतिक संरचनाहरु स्वतः बोलीरहेको झै प्रत्तित भयो मलाई । प्रत्येक भवन, मुर्तिहरु र निर्माण गरिएका संरचनाहरुमा मिति र संक्षिप्त विवरणहरु लेखिएका छन्, तर, ती सबै विवरणहरु फ्रेन्चभाषामा मात्र दिएकाले गाइडको अवश्यकता महशुस हुन्छ । यदि तपाईको गाइड छैनभने घुम्ने ठाउँहरुको संक्षिप्त जानकारी वेबसाइट र पर्यटकीय विवरणका पुस्तकहरुबाट अध्ययन गरेर भ्रमण गरेमा बल्ल बुझ्न सजिलो हुन्छ । गाइड समीले प्रत्येक ठाउँमा पुगेर त्यहाँका ऐतिहासिक महत्वका बारेमा छोट्कारीमा भन्दै छिटो छिटो यथासक्दो पेरिस शहर घुमाउने लक्ष्य बोकेकी थिइन् । भेन्डोमप्लेसको ऐतिहासिक धातुको स्तम्भ भएको पाटन वरिपरिका आकर्षक भवनहरु प्राय सबै स्टार होटलहरु रहेछन् । पाटनको दक्षिणमा पर्ने रिज होटलमा राजकुमारी डायना मर्नुअघि तिनकी प्रेमिका अल फाहद दोदीसँग त्यस होटलमा बसेकी कुरा समी भन्दै थिइन् । त्यसपछि भोलिपल्ट पापाराज्जीहरुले (मिडिया फोटोग्राफरहरु)पछ्याउँदा राजकुमारी डायनाको ऋाइफिलटावरको पल्लोपटि्ट सेइन नदीको किनारामा पर्ने सानो टनलछेउमा कार एक्सिडेन्ट भएर मृत्यु भएकी थिइन् । भोलिपल्ट हामी त्यही ठाउँ नजिकहुँदै फ्रान्सको दक्षिण, बर्गन्दीतर्फ लागेका थियौं । हामी त्यही होटलको परिसरमा पुगेर फोटोहरु खिच्यौं । केहीबेरका लागि डायनाको स्मरणले झण्डै २ दशक अघिका दृश्यहरु मानसपटलमा घुम्न लागे ।
हामी अहिले पैदल हिँडेर तुइलेरिस गार्डेनमा पुगेका छौं । यो तुइलेरिस गार्डेन सन् १५६४ मा क्याथारिन् डी मेडिचीले निर्माण गरेकी थिइन् । फ्लोरेन्समा जन्मेकी मेडिची घरानाकी किशोरीलाई १४ वर्षको उमेरमा फ्रान्सका राजा हेन्री द्वितीयले विवाह गरेका थिए । उनको मृत्यु पश्चात क्याथारिन् फ्रान्सेली राजनीतिमा शक्तिशाली भएर उदय भएकी थिइन् । जीवनकालमा पतिले उस्तो वास्ता नराखेका क्याथरिन् पछि राजमाताका रुपमा प्रतिष्ठित भइन् । पतिको मृत्युपश्चात् क्याथारिन्ले जन्माएका तीनजना छोराहरु पालैपालो राजा बनेका थिए । तुइलेरिस गार्डेनको एकापटि्ट क्याथारिनको राजमहल थियो । राजमहलको अघिल्तिर त्यतिबेला सुन्दर बगैचा निर्माण गरिएको थियो, तर, अहिले बगैचाको भाग खुला बनाइएको छ । पहिलेको राजमहल अहिले प्रसिद्ध लुभ्रे म्युजियममा परिवर्तन गरिएको छ । यस गार्डेनको अर्को किनारामा प्लेस डी ला कोन्कोर्ड छ । प्लेस डी ला कोन्कोर्डमा फ्रान्सेलीहरुले उपनिवेश स्थापना गर्ने क्रममा इजिप्टका एउटा मन्दिरबाट उठाएर ल्याएका अग्लो अब्लिक्स खडा गरिएको छ । तुइलेरिस गार्डेनको बीचभागमा एउटा भिक्टरी अर्क भन्नाले विजय प्रवेश द्वार नेपोलियनले निर्माण गर्न लगाएको रहेछ । यस द्वारलाई निर्माण गर्न लगाएर नेपोलियन युद्धमा गएका थिए । उनले युद्धबाट विजय भएर आएपछि त्यो भिक्टेरी अर्कबाट आफ्नो सेनालाई प्रवेश गराएर अघिल्तिरको फराकिलो मञ्चबाट फ्रान्सेली सेनालाई सम्बोधन गर्ने अकांक्षा राखेका थिए । तर, उनको भाग्यले उनलाई साथ दिएन र उनको यो अकांक्षा कहिल्यै पूरा हुन सकेन । वाटरलूको युद्धमा हारेर उनी फ्रान्स कहिल्यै फर्केनन् । उनलाई बेलायतले बन्दी बनाएर सेन्टहेलना द्वीपमा कैद गरेको थियो जहाँ उनको मृत्यु सन् १८२१ भएको थियो । यो भिक्टरी अर्क उनी मृत्यु भएको १० वर्षपछि अर्थात् सन् १८३१ मा मात्र निर्माण पूरा भएको थियो ।
दोश्रो विश्वयुद्धमा जर्मनी सेनाले फ्रान्सलाई आफ्नो अधिनमा लिएपछि पहिलो पटक जर्मनी सेनाहरु यो भिक्टरी अर्कबाट छिरेर सम्बोधन गर्ने पाटनतर्फ गएका थिए । यो तुइलेरिस गार्डेनको भिक्टरी अर्क र प्लेस डी ला कोन्कोर्डको बीचमा एउटा खुलामञ्च जस्तो ठाउँ छ त्यसको पछाडीपट्टि एउटा पानीको सुन्दर फौहरा भएको सानोताल निर्माण गरिएको छ । त्यस तालको अघिल्तिरको खुला ठाउँमा उहिले मान्छेहरुलाई मृत्युदण्ड गाइलोटीनले (मृत्यु दण्ड प्राप्त गर्ने मान्छेको घाँटी अचना जस्तो ठाउँमा अडाएर भारी धारिलो हतियार माथिबाट खसाएर टाउको गिडाउने) टाउको काटेर दिइन्थ्यो र हेर्ने दर्शकहरुको लागि फराकिलो ठाउँ बनाइएको रहेछ । त्यतिबेला मृत्युदण्ड प्राप्त गर्नेहरुमा साधरण जनतादेखि माथिल्लो तहका व्यक्तिहरु पनि हुन्थे । कैयौं प्रसिद्ध व्यक्तित्वहरु जसलाई गाइलोटीन द्वारा मृत्युदण्ड दिएका थिए उनीहरुका मुर्तिहरु निर्माण गरेर वरिपरि राखिएका छन् । हामी सबैलाई ती ठाउँहरुमा समीले गाइड गर्दै लग्दै ठाउँहरुको बारेमा परिचय र इतिहास धारावाहिक बताउँदै बढीरहेकी थिइन् । गाइलोटीनबाट मृत्युदण्ड हेर्नकालागि फ्रान्सेली जनताहरु अघिल्तिरको खुला मैदानबाट उभेर हेर्दथे । त्यसठाउँमा पुगेर गाइडले फेरी आधाघण्टा पछि गार्डेनको पूर्वपटि्टको लुभ्रे म्युजियमको क्रिस्टल पिरामिड -प्रवेश द्वारको अघि भेला हुनका लागि भनिन् । यो क्रिस्टल (सीसाको) पिरामिडको डिजाइन एकजना अमेरिकी चिनियाँ आर्किटेक्टले बनाएका रहेछन् । हामी आधा घण्टाको समयभित्र वरिपरिका दृश्यहरु, मुर्तिहरु र अबलिक्सको फोटो खिचेर गार्डेनको अर्को भागतिर विस्तारै हिँड्दै गयौं । मैले हजारौ पर्यटकहरुको घुँइँचो देखेँ । भ्रमणको शु्रुदेखि नै ठाउँठाउँमा धेरैजसो एसियाइमूलका पर्यटकहरु भेटेँ । गार्डेनको अघिल्तिर एकसाइडमा मोटरबाटो रहेछ त्यसको ठीक पछिल्तिर सेइन नदीले पेरिसलाई दुर्इभाग बनाउँदै पेरिसको सुन्दरतामा थप सौन्दर्य प्रदान गर्दै प्रवाहित भएकी छिन् । हामी दक्षिणपटि्टको गार्डेनक्षेत्र हेरिसकेपछि उत्तरतर्फ, पहिलेको राजमहल अर्थात् अहिलेको लुभ्रे म्युजियमतर्फ हिँड्दै गयौं । यतिबेला गाइड हतारमा थिइन् । आज गाइडले हामीलाई २ बजेसम्म यस क्षेत्र वरपरका ठाउँहरु मात्र भ्रमण गराउने कुरा गरिन् कारण यदि हामीले म्युजियम हेर्न थाल्यौं भने हाम्रो पूरा दिन यहीँ सकिने कुरा गरिन् । त्यसकारण गाइडले लुभ्रे म्युजियमको अघि उभेर हामीलाई लुभ्रे म्युजियम हेर्न चाहनेहरुले पछि म्युजियम हेर्ने र तिनले आज सेइन नदीको किनारा र त्यहाँ स्थापित पुलहरु देखाउँदै नोटरडाम क्याथाड्रलसम्म पुर्याउने अनि पेरिसको विख्यात आइफिल टावर आ-आफै हेर्ने भनेर पेरिस शहरको नक्सा सबैलाई दिएकी थिइन् । हुन पनि छोटो समयभित्र यी सबै ठाउँहरु हेर्न सम्भव थिएन र अर्को कुरा टिमका मानिसहरुको आ-आफ्नै इच्छाको कुरामा भरपर्ने कुरा थियो । भ्रमण टोलीका सदस्याहरुमा धेरैजसोले म्युजियम हेर्ने इच्छा गरेनन्, तर, मेरो ठूलो इच्छा फ्रान्सको प्रसिद्ध लुभ्रे म्युजियम यहाँ आएपछि एकदर्ुइ घण्टा भएपनि अवश्य हेुर्रर््छ भन्ने थियो । म्युजियम हेर्नको लागि एकजनाको १० यूरो तिर्नुपर्दो रहेछ । गाइडले आफ्नो कुरा राखिसकेपछि हामीलाई म्युजियमको दाहिनेबाट राजमहललाई देब्रे पारेर सेइन् नदीको किनारातर्फ लगिन् । हामी अहिले सेइन् नदीको किनारामा पुगेका छौं । सेइन नदीलाई हजारौ वर्षदेखि नियन्त्रण गरेर नदीतटलाई सम्भार गरेर फ्रान्सेलीहरुले राखेका छन् । नदी किनाराबाट ऋाइफिल टावरको केही भाग देखिन्छ । नदीका दुबैतर्फ भव्य भवनहरु निर्माण गरेका छन् । ससाना डुंगा र जहाजहरु (कम उँचाइको) फेरीबाट चलिरहेका देखेँ । सेइन नदीमा जहाज चढेर आइफिल टावरसम्म जाने तथा नदी किनाराका ठाउँहरु जहाजबाट हेर्दा रमाइलो हुने गाइडले भन्दै थिइन्, तर, हामी समयको पाबन्दिलाई विचार गरेर पछि रेलबाट नै ऋाइफिल टावर जाने विचार गर्यौं । सुन्दर सेइन नदीको किनारा हुँदै अलिपर देखिने सेइन नदीमाथिको एउटा पुलमा पुग्यौं । त्यहाँ मैले हजारौ तालाहरु झुण्डिएका देखेँ । हामीले केही सोध्नुअघि गाइडले त्यसपुलको बारेमा रोचक कुरा भन्न थालिन् । त्यस पुललाई प्रेमिकाहरुको पुल भन्दो रहेछ अर्थात् “लभर्ज ब्रिज” । उसरी सेइन नदीमाथि दर्जनौ पुलहरु छन् त्यसमध्येमा प्रेमिकाहरुको पुल र अर्को न्यू ब्रिज -नयाँ पुल) जसको निर्माण राजा हेन्री तृतीयले गरेका थिए, ती पुलहरुसँग जोडिएका रोचक प्रसँगहरुले मलाई अकार्षित तुल्यायो । हामी अहिले लभर्ज पुलमाथि उभिएर संसारभरिका लाखौंलाख मायालुहरुले आफ्नो प्रेमको इजहार गर्न र प्रेमलाई अमरत्व राख्नका लागि तालाहरु पुलको रेलिङहरुका दुबैपटि्ट ताला लगाएर राखेका देख्यौं । मायालुहरुले ताला लगाएर चाबी सेइन नदीको गहिराइभित्र फाल्दो रहेछन् । चाबीबिना ताला खुल्न सक्दैन र उनीहरुको प्रेमको ताला सदैव मनभित्र बन्द भएर अजर रहोस् भनी चाबी नदीको गर्भभित्र फालिदिंदोरहेछन् । विभिन्न खाले तालाहरु देख्दा मन रमाइलो भयो र मनमनै भनेँ यिनीहरुका माया कहिल्यै नटुटोस् । हामीलाई त्यस पुलमा मायालुहरुले यसरी ताला लगेर तालाबन्द गरेर चाबी नदीमा फाल्ने कुरा थाहा थिएन । हामी त्यहाँ पुगेपछि मात्र थाहा लागेका थियो । मेरी बुरियालाई यो प्रक्रिया एकदमै मनपरेछ र अचम्भ लागेछ । त्यसकारण बुरियाले हाँस्दै निकै रोमान्टिक पाराले मलाई, “हामी पनि एउटा ताला ल्याएर झुण्ड्याऊँ कि बुरा ?” भनेर सोधिन् । मैले पनि फिल्मी नायकले झैं बुरियालाई रोमान्टिक पाराले भने, “ए बुरिया, यो धातुको तालाभन्दा बलियो मनको ताला हामीले ३० वर्षपहिले नै चाबी लगाएर मनको सागरभित्र राखिसकेका छौं अब यस्तो तालाको के अवश्यकता -” तब मेरी झण्डै पाँच दशक पुग्न आँटेकी दुलहीको अनुहार मैले विवाह गर्दाकी सोह्र वर्षकी झैं देखेँ र तिनी पनि मेरो कुरा सुनेर एकपल्ट हाँस्दै मस्किन् । कति रमाइलो अनुभूति भयोहोला तपाई अन्दाज गर्नुहोला । वास्तवमा विवाह गरेपछि स्वच्छन्द यस हिसाबले भ्रमण गरेको पनि यसैपल्ट थियो । छोराछोरीको पढाइ सकिएको थियो । छोरी विवाह भएर नोकरी गर्दै आफ्नो जिम्मेवारी वहन गरिरहेकी छिन् । छोराको पनि एमबीबीएसको पर्ढाई सिध्याएर इन्टर्न गर्दैछ, अब केही महिना मात्र बाँकी छ । त्यसकारण, यसपल्ट हामी निस्फिक्री थियौं । त्यतिबेलाको त्यो क्षण बुरिया र मेरो लागि अविस्मरणीय थियो । पेरिसको त्यो पुलपनि अविस्मरणीय छ ।
त्यसपछि हामी अलिमाथितिर बढ्दै गयौं त्यहाँ राजा हेन्रीले निर्माण गरेका कंक्रिटको पुल देखियो । पुलको मध्यभागमा राजा हेन्री घोडामाथि सवार भएको आदमकदको मूर्ति स्थापित गरिएको छ । त्यस पुलको दुबै बाहुको तल्लो पेटिकाको प्रत्येक खुड्किलोमा विचित्र मुद्रा भएका मानिसहरुको अनुहारहरु बनाएर राखेका छन् । यी विभिन्न मु्द्रका अनुहारहरु किन यसरी बनाएका होलान् भनेर समी, गाइडलाई सोध्दा तिनले हेन्रीको राज्यकालमा घटेको एउटा रोचक घट्ना भनेकी थिईन् । एकपटक राजा हेन्रीले रात्रिभोजका लागि धेरै पाहुनाहरु आमन्त्रित गरेका थिए । रात्रिभोजमा अचानक रक्सीको कमी भएछ र पाहुनाहरुलाई पर्याप्त रक्सी -वाइन) पुर्याउन नसकेकोमा राजा हेन्रीलाई खेद लागेछ । राजाको भोजमा रक्सीको कमी – यो लाजमर्दो कुरा भयो अब म फेरि अर्को रात्रिभोज तत्काल निम्त्याउँछु र त्यसमा पिउने रक्सीको कमी कदापि हुन दिन्न भनेर हुकुम दिएछन् । देशभरिका जनताले नानाथरिका रक्सीहरु राजदरबारमा पुुर्याछन् । फेरि बेलुकि रात्रिभोज ऐलान गरेर ठूलो भोज दिएछन् । आबेर रातिसम्म मानिसहरु फिट्टू भएर रक्सी पिएछन् र पाहुनाहरु त्यहीँ सुतेछन् । बिहान पनि ती पाहुनाहरु र राजा स्वयं पनि राति पिएको रक्सीको नशामा नै थिए । तब नशा लागेका मानिसहरुको अनुहार हेरेर राजालाई अनौठो विचार मनमा आएछ । तुरुन्त उनले मुर्तिकारलाई बोलाएर नशा लागेका मानिसहरुको अनुहार हेरेर त्यस्तै मु्द्राका अनुहारहरुका मूर्ति बनाउन आदेश दिएका रहेछन् । त्यस पुलका बाहुका दुबैपटि्ट ती नै मुर्तिकारले बनाएका मूर्तिहरु स्थापित गरेर राखिएको छ । फेरि अर्को एपिसोडमा…..
प्रतिक्रिया