होला त नेविसङ्घको महाधिवेशन आगामी असारमा ?

होला त नेविसङ्घको महाधिवेशन आगामी असारमा ?


NSU-Flag

नेपाल विद्यार्थी सङ्घको महाधिवेशन हुन नसकेको वर्षौं भयो । महाधिवेशन अवरुद्ध भएयता कैयन विद्यार्थी नेता त सङ्घको क्रियाकलापबाटै पलायन भइसकेका छन् । यस विषयले सङ्घभित्र अनेक विवाद र तनावसमेत पैदा गरिसकेको छ भने काङ्ग्रेसको केन्द्रैसम्म यसका बाछिटा ठोकिने गरेको तथ्य लुकेको छैन । यसबीच नेपाली काङ्ग्रेसको १३औँ महाधिवेशन नै सम्पन्न भइसकेको छ भने शेरबहादुर देउवाको काँधमा पार्टीको जिम्मेवारी आएको छ । यसरी पार्टीनेतृत्व फेरिएलगत्तै लामो समयदेखि रोकिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन आयोजना हुने सम्भावना बढेर गएको छ । पछिल्लो जानकारीअनुसार आगामी असार अन्तिम साता नेविसङ्घको महाधिवेशन आयोजनाको प्रस्ताव गरिएको छ ।

बताइएअनुसार यही जेठ २५ गते काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने सङ्घको केन्द्रीय समिति बैठकमा असार अन्तिम साता काठमाडौं, पोखरा, नेपालगञ्ज वा चितवनमध्ये एक स्थानमा महाधिवेशन गर्ने प्रस्ताव राख्ने तयारी अध्यक्ष रञ्जित कर्णबाट भएको सङ्घले जनाएको छ । सङ्घका प्रवक्ता युपी लामिछानेका अनुसार संविधानसभाबाट असोज ३ गते जारी भएको नेपालको संविधान २०७२ बमोजिम सङ्घीय संरचनाका आधारमा विधान संशोधन गरी महाधिवेशन गरिने प्रस्ताव बैठकमा राखिनेछ । स्मरण रहोस्, वि.सं. २०६४ असोज ८ गते नेपाली काङ्ग्रेस एकीकरण भएपछि पार्टीको दुईपटक महाधिवेशन भए पनि प्रमुख भ्रातृ संस्था सङ्घको एकपटक पनि महाधिवेशन हुन सकेको छैन ।

यसैबीच नेविसङ्घ केन्द्रीय पत्रकारिता समन्वय समितिले ‘कस्तो नीति कस्तो नेतृत्व’ विषयको बहस आयोजना गरेको छ । बहसमा केन्द्रीय अध्यक्ष रञ्जित कर्णले लामो समयदेखि नेविसङ्घको महाधिवेशन नहुनाको मूल कारण विद्यार्थीभित्रको गुटबन्दी रहेको स्वीकार गरेका छन् । सो अवसरमा नेविसङ्घमा विद्यार्थीको पिरमर्कालाई बुझ्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले जेठ २५ गते केन्द्रीय समितिको बैठक बोलाएको र त्यहाँ छलफल गरेर असार अन्तिम हप्ता महाधिवेशन गर्ने गरी छलफल हुने जानकारी दिए । कार्यक्रममा नेवि सङ्घका पूर्वमहामन्त्री मनोजमणि आचार्यले नेविसङ्घको साखलाई जोगाउने नेतृत्व अबको महाधिवेशनको आवश्यकता रहेको बताए भने पूर्वउपाध्यक्ष नैनसिंह महरले अबको महाधिवेशनमा असल नीति र असल नेतृत्व आउनुपर्ने तर्क गरे । यस्तै, समयमै महाधिवेशन गर्नुपर्नेमा नेता दीपक भट्टराईले जोड दिए । नेविसङ्घका नेता प्रमोदहरि गुरागार्इं, प्रतिमा गौतम, मनहरि श्रेष्ठ, उर्मिला थपलिया, आनन्द त्रिपाठी, सरोज थापा, लेखनाथ पोखरेल, हिमालदत्त श्रेष्ठ, रुपा पोखरेल, अञ्जना अर्याल र दिवाकर अर्यालले नेविसङ्घको दुईवर्षीय कार्यकाल सकिएपछि स्वत: खारेज हुने गरी विधान संशोधन हुनुपर्ने सुझाव दिएका थिए ।

गैरविद्यार्थीलाई नेविसङ्घको नेतृत्व नदिन माग

यसैबीच नेपाल विद्यार्थी सङ्घ थापाथली इन्जिनियरिङ क्याम्पस इकाइ कमिटीको आयोजनामा ‘आधुनिक शिक्षा, प्रविधि र नीतिमुखी हाम्रो नेविसङ्घ’ विषयक अन्तरक्रियात्मक कार्यक्रम थापाथली क्याम्पसमा सम्पन्न भएको छ । नियमित विद्यार्थीलाई नेतृत्वको अवसर प्रदान गरौँ, पार्टीको हस्तक्षेपबाट नेतृत्व चयन प्रक्रिया बन्द गरौँ’ भन्ने नाराका साथ अन्तरक्रिया अभियान प्रारम्भ गरिएको अभियानका सदस्य नवराज त्रिपाठीले जानकारी दिए । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा विद्यार्थी विभाग प्रमुख प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेविसङ्घ उपत्यका क्याम्पस इकाइ समितिका सभापति तथा अन्य विद्यार्थी नेताहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै विद्यार्थी नेताहरूले ‘वर्तमान नेतृत्वका कारण सङ्घमा अस्थिरता उत्पन्न भएको र नेविसङ्घको महाधिवेशनसमेत समयमा सम्पन्न गर्न नसकेको बताएका थिए । नेविसङ्घको क्रियाशीलता विद्यार्थी आन्दोलनको मर्म नै धराशयी बनेकाले विधानमा स्पष्ट व्यवस्थासहित दुई वर्षभित्रमा नेतृत्वले महाधिवेशन सम्पन्न गर्न नसके उक्त कमिटी स्वत: भङ्ग हुने व्यवस्थासहित विधान संशोधनको माग गरेका थिए ।

प्रमुख अतिथि महतले विगतमा आफू पनि पार्टीको हस्तक्षेपका कारण नेविसङ्घको अध्यक्ष बन्न नपाएको गुनासो गर्दै आफूमातहत रहेको निर्देशन समितिले समयमै विधिवत् रूपमा अधिवेशनका लागि आफूले पहल गर्ने वचन दिए । उक्त कार्यक्रममा विद्यार्थी नेताहरू पुष्प बस्नेत, सुशील भट्ट, रञ्जिता कार्की, हरिप्रसाद आचार्य, रवीन्द्र रोकायालगायतकाको उपस्थिति रहेको थियो ।

नेतृत्वलाई आरोपित नगर्न देउवाको आग्रह

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घको महाधिवेशन हुन नसक्नुको कारण काङ्ग्रेस नेताहरू हुन् भन्ने आरोप लगाएर काम नचल्ने, बरु कुनै हालतमा महाधिवेशन हुन्छ भनी दृढताका साथ अघिसरे पार्टीले साथ–समर्थन दिने बताउनुभएको छ । नेवि सङ्घ केन्द्रीय समितिको आयोजना तथा पब्लिक युथ क्याम्पस एकाइको व्यवस्थापनमा मंगलबार आयोजित ‘नेवि सङ्घको ११ औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम निर्माणका लागि उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रम’को उद्घाटन गर्दै सभापति देउवाले नेवि सङ्घकै कारण काङ्ग्रेस मजबुत रहेको उल्लेख गर्नुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ र देशैबाट क्रमश: युवा विदेश पलायन हुँदैछन्, यसलाई रोक्नका लागि नेवि सङ्घले भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो ।

नेवि सङ्घका अध्यक्ष रञ्जित कर्णले नेवि सङ्घले पटक–पटक अधिवेशन गर्न खोज्दा पनि पार्टी र सङ्घको आन्तरिक कारणले रोकिएको भन्दै अब कुनै पनि हालतमा अधिवेशन नरोकिने प्रतिबद्धता दर्शाउनुभयो भने पूर्वअध्यक्ष कल्याण गुरुङ, महेन्द्र शर्मा, पूर्वउपाध्यक्ष नैनसिंह महर, पूर्वमहामन्त्री मनोजमणि आचार्य, पूर्व केन्द्रीय सदस्य दीपक भट्टराई, पुष्पकुमार शाही, कृष्णकुमारी बस्नेतलगायतले नेविसङ्घको नयाँ नेतृत्व निर्वाचनमार्फत ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सभापति देउवाले नेविसङ्घको झण्डा सगरमाथाको चुचुरोमा पुर्‍याएका नेविसङ्घ झापाका विद्यार्थी अनिश लुईंटेललाई सम्मान गर्नुभएको थियो ।