उमाकान्तका मान्छे अपहरणमा संलग्न !

उमाकान्तका मान्छे अपहरणमा संलग्न !


umakanta chaudhari

सुरेश केडिया अपहरण परेपछि त्यसलगत्तै बारा प्रहरीले अपहरणमा संलग्न चञ्चल पाण्डे, पुष्कर सिंह र जियालाल यादवलाई गिरफ्तार गरेपछि चौधरी यस घटनामा अरू कस–कसको नाम आएको छ भनी प्रहरी कार्यालयमै पुगेर चासो राखेका थिए । तर, त्यसबेला प्रहरीले शङ्कास्पद नामबारे चौधरीलाई जानकारी नगराएको बताइन्छ । वीरेन्द्र यादवको नाम शङ्काको घेरामा परेको जानकारी चौधरीलाई गराउँदा उनले वीरेन्द्रलाई भगाउने हुन् किन भन्ने शङ्का प्रहरीले गरेकोले नाम नबताएको बुझिएको छ । सोमबार राति पक्राउ परेका यादवसँग प्रहरीले बयान लिन शुरु गरेको र यस क्रममा केही महत्त्वपूर्ण सुराक मिलेको सम्बद्ध सूत्रले जनाएको छ । तर, यादवले उमाकान्त चौधरीको नाम पोले–नपोलेको भने बुझ्न सकिएको छैन ।

वीरगञ्जका प्रतिष्ठित उद्यमी सुरेश केडियाको अपहरणमा संलग्न अर्का एक व्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ । कांग्रेस केन्द्रीय सदस्य एवम् कृष्ण सिटौलाका खास मानिस उमाकान्त चौधरीको दाहिने हात भनिने वीरेन्द्र यादवलाई सोमबार राति बारा प्रहरीले पक्राउ गरेको छ । नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य रहेका यादवलाई तेह्रौँ महाधिवेशनमा उमाकान्तले बारा कांग्रेस जिल्ला कार्यसमितिको कोषाध्यक्ष पदमा आफ्नो टिमबाट उम्मेदवार बनाएका थिए । पहिले डाँका मुद्दामा नाम जोडिएका यादवको तराईका भूमिगत सशस्त्र समूहहरूसँग पनि बलियो सम्बन्ध रहँदै आएको सबुत प्रहरीसँग रहेको बताइन्छ । वीरेन्द्र यादवको गिरफ्तारीले केडिया अपहरण काण्डमा उमाकान्त चौधरीमाथि पनि शङ्काको सुई घुमेको छ । जेठ १३ गते सुरेश केडिया अपहरण परेपछि त्यसलगत्तै बारा प्रहरीले अपहरणमा संलग्न चञ्चल पाण्डे, पुष्कर सिंह र जियालाल यादवलाई गिरफ्तार गरेपछि चौधरी यस घटनामा अरू कस–कसको नाम आएको छ भनी प्रहरी कार्यालयमै पुगेर चासो राखेका थिए । तर, त्यसबेला प्रहरीले शङ्कास्पद नामबारे चौधरीलाई जानकारी नगराएको बताइन्छ । वीरेन्द्र यादवको नाम शङ्काको घेरामा परेको जानकारी चौधरीलाई गराउँदा उनले वीरेन्द्रलाई भगाउने हुन् किन भन्ने शङ्का प्रहरीले गरेकोले नाम नबताएको बुझिएको छ । सोमबार राति पक्राउ परेका यादवसँग प्रहरीले बयान लिन शुरु गरेको र यस क्रममा केही महत्त्वपूर्ण सुराक मिलेको सम्बद्ध सूत्रले जनाएको छ । तर, यादवले उमाकान्त चौधरीको नाम पोले–नपोलेको भने बुझ्न सकिएको छैन ।

सुरेश केडियाको अपहरण हुनेबित्तिकै सक्रिय भएको बारा प्रहरीले अपहरणकारीहरूले प्रयोग गरेको गाडी नियन्त्रणमा लिन प्रयास गरेको थियो । त्यसक्रममा गोली प्रहार गर्दा सर्वसाधारण जनताको भीडका कारण अर्को दुर्घटना हुनसक्ने कुरालाई दृष्टिगत गरी प्रहरीले संयम अपनाएको बताइन्छ । घटनालगत्तै भारतीय प्रहरीसँग समन्वय गर्न नेपाल प्रहरी सफल भएपछि अपराधीलाई पक्राउ गर्ने र अपहरित उद्यमी सुरेश केडियालाई अपहरणमुक्त गराउने सफलता मिलेको थियो । यस घटनामा भारतीय प्रहरीबाट भएको सहयोगलाई नेपाल प्रहरीले उच्च मूल्याङ्कन गरेको छ । बारा प्रहरी र भारतको पूर्वी तथा पश्चिमी चम्पारणका प्रहरीले प्राप्त गरेको सूचनाका आधारमा प्रहरीले त्यस घटनामा भारतको बक्सर जेलमा बन्दी रहेका बब्लु दुवेको संलग्नता रहेको तथ्य फेला पारेको थियो । दुवेको परिवारका सदस्यलाई तीव्र दबाबमा राखिएपछि अपराधीलाई पक्राउ गर्न र अपहरित केडियालाई मुक्त गर्न सहज भएको थियो । भारतीय प्रहरीले यस घटनामा संलग्न रञ्जन मिश्र र बब्लु पासवानलाई तत्कालै पक्राउ गरी आवश्यक कारबाही शुरु गरेको छ ।

अपहरणको घटना भएलगत्तै सीआईबी प्रमुख नवराज सिलवालले बारा प्रहरी प्रमुख नरेन्द्रप्रसाद उप्रेतीसँग समन्वय गरी अपराधीलाई पक्राउ गर्ने र अपहरितलाई मुक्त गर्ने विशेष योजना बनाएका थिए । नेपाल प्रहरीले यस घटनालाई उच्च प्राथमिकतामा राखी एआईजीपी केदार साउदलाई फिल्डमै खटाएको थियो । यस प्रकरणमा अपराध अनुसन्धान महाशाखा प्रमुख सर्वेन्द्र खनालले पनि विशेष योगदान पुर्‍याउनुभएको बुझिएको छ । मध्यमाञ्चल प्रहरी प्रमुख पशुपति उपाध्यायले अपहरण काण्डको पदाफास भई अपहरणकारीहरू पक्राउ परेपछि बारा प्रहरी परिसरमै पुगेर पत्रकार सम्मेलन गर्नुभएको थियो । डीआईजी उपाध्यायले पत्रकार सम्मेलन गर्नुअगावै विभिन्न सञ्चारमाध्यमहरूले घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिसकेका थिए । अपहरित केडियालाई सकुसल मुक्त गरी अपहरणकारीहरूलाई पक्राउ गर्न भारतीय प्रहरीका साथै नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल, बारा प्रहरी प्रमुख एसपी नरेन्द्रप्रसाद उप्रेती, एसएसपी सर्वेन्द्र खनाल र एआईजीपी केदार साउदको मुख्य योगदान रहेको छ । उल्लिखित प्रहरी अधिकृतहरूको क्षमता र कौशलका कारण राजनीतिक आवरणमा रहेर आपराधिक क्रियाकलापमा संलग्न वीरेन्द्र यादवलाई पक्राउ गर्ने सफलता पनि मिलेको छ ।

यस घटनामा गोली लागेका सुरेश केडियाका चालकको स्वास्थ्यमा उल्लेख्य सुधार भएको बुझिएको छ ।