गुप्त संवादपछि बाबुराममा बेग्लै उत्साह

गुप्त संवादपछि बाबुराममा बेग्लै उत्साह


Baburam Bhattari Press Meet (1)

भारतबाट आएका केही गुप्त प्रतिनिधिहरूसँग घनीभूत संवाद गरेपछि डा. बाबुराम भट्टराईको उत्साह ह्वात्तै बढेको छ र जेठ ३० गते आफूबाट पार्टी घोषणा भएपछि देशको मुख्य शक्ति बन्ने विश्वासमा उनी पुगेका छन् । पछिल्लो समयमा जनस्तरमा ‘शक्तिकपुर’ उपनामले समेत चिनिन थालेका डा. बाबुराम भट्टराईको भारतमा नेपालविज्ञका रूपमा स्थापित प्रोफेसर एसडी मुनिसँग पनि गत साता विशेष संवाद भएको बुझिएको छ । युरोपका केही इसाई मुलुकहरूको आर्थिक सहयोग र भारतमा बाह्रबुँदे सम्झौताको सूत्रधारका रूपमा रहेका केही व्यक्तिहरूसँगको परामर्शपश्चात् यहाँ बाबुराम भट्टराईको स्फूर्ति बढ्नुलाई रहस्यमयी मानिएको छ ।

अहिलेसम्म कहीँ कसैको आर्थिक सहयोग नलिएको र भ्रष्टाचारमा कहिल्यै संलग्न नरहेको दाबी गर्ने बाबुराम भट्टराईले जेठ ३० गते दशरथ रंगशालामा एक लाख मानिस भेला गरेर पार्टी गठनको घोषणा गर्ने भएका छन् । उक्त भेलाका निम्ति लाग्ने करिब पाँच करोड रुपैयाँको स्रोत बाबुरामले खोलेका छैनन् र उद्यमी–व्यापारीसँग चन्दा उठाउने झञ्झट पनि उनले खासै गरेका छैनन् । रंगशालाको दर्शकदीर्घापट्टि साठी हजार र चौरमा चालीस हजार मानिसलाई एकसाथ शपथ खुवाएर पार्टी घोषणा गर्ने तयारी बाबुरामले गरेका छन् । नयाँ शक्ति नाम दिइएको सो समूहमा अन्य राष्ट्रिय राजनीतिक दलमा ठाउँ नपाएका व्यक्ति, बेरोजगार तथा भौंतारिएका केही युवा, भूतपूर्व सरकारी कर्मचारी, सुराकी, कलाकार तथा नौटङ्कीका अतिरिक्त कतिपय रामै्र कोटिका युवाहरूले समेत सहभागिता जनाउने विश्वास गरिएको छ । आफूहरू वामपन्थी र दक्षिणपन्थी नभई अग्रपन्थी भएको दाबी गर्ने नयाँ शक्तिको नेतृत्व स्वयम् डा. बाबुराम भट्टराईले गर्ने निश्चित भएको छ । सन्देहास्पद पृष्ठभूमिका भट्टराईलाई माओवादीका नेता–कार्यकर्ताहरूले हिन्दी सिनेमाका कलाकार ‘शक्तिकपुर’को संज्ञा दिएका छन् । उनीहरूले बाबुरामको पार्टी घोषणा कार्यक्रममा कुनै न कुनै रूपले विरोध जनाउने योजना बनाएको पनि बुझिएको छ ।