अनेसासको सन्ध्यामा गोपीकृष्ण प्रसाई नायक

अनेसासको सन्ध्यामा गोपीकृष्ण प्रसाई नायक


लण्डन । गत ७ मे, शनिबार, थेम्स एकाडेमी, ईलिंगमा अनेसास यूकेले माषिक साहित्यिक भेला, उक्त दिनको ३ बजे शुरु भई साँझ ७ बजे सम्पन्न भएको छ । संस्थाले यसरी भेलाको आयोजना गर्न थालेको यो तेस्रोपटक हो । संस्थाका महासचिब लाराको स्वागत मन्तव्यसहित शुरु भएको कार्यक्रममा अध्यक्ष होम परिबागको अध्यक्षता, ईश्वर मानन्धरको प्रमुख आतिथ्य, बिजय हितानको बिशेष आतिथ्य, देवी गौतम तथा प्रतिभा प्रतिष्ठानका सचिब कांगमांग नरेशको आतिथ्यमा भएको उक्त कार्यक्रमका सन्ध्या नायक थिए गोपीकृष्ण प्रसाई । कबि प्रसाइले संस्थाका उपाध्यक्ष डा रुपक श्रेष्ठको परिकल्पनामा शुरु गरिएको मासिक साहित्यिक सन्ध्यामा यसरी आफूले सन्ध्या नायक बन्ने सुअवसर पाएकोमा परिकल्पनाकार डा श्रेष्ठ र संस्थालाई धन्यबाद दिंदै आफ्नो दोश्रो नवीनतम कबिता संग्रह ‘रात ढलेको थिएन’ संग्रहबाट कविताहरु पाठ गरेर सुनाएकाथिए । उक्त कृति र पाठ गरिएका कबिताहरु माथि समालोचना गर्दै डा श्रेष्ठले प्रसाईका यस संग्रहका कविताहरु नोस्टाल्जिक मात्र नभई कविले नेपालसहित जर्मनी र बेलायत लगायतका बसाइहरुमा रहँदाबस्दा त्यहाँका जनजीबनको सचित्रण जीबन र जगत, बिज्ञान र अध्यात्मिक रहस्य, भोगाइ र अनुभूतिहरुको सुन्दर प्रस्तुति गरेका छन् र यस कृतिले नेपाली साहित्यको बगैंचामा एउटा सुन्दर फूल थपेको छभने डायास्पोरिक साहित्यको एउटा दह्रो नमुना बनेको छ भन्ने आफ्नो मन्तव्य राखेका थिए । त्यस्तै, समालोचनाका क्रममा देबी गौतमले कबि प्रसाईका हरेक कविताहरु बिषय बस्तु, शब्दचयन र संरचनाका दृष्टिकोणले उत्तिकै गहन छन् र कृति उत्कृष्ट छ भनेकाथिए । ‘श्रोताको समय’मा कांगमांग नरेश, विजय हितान, सुरेन्द्र श्रेष्ठ, राजिब रेग्मी, नारायण गाउँले, डी आर पराजुली ‘म्याग्नेट’, पार्वती श्रेष्ठ, राजिब रेग्मी ‘माया क्यालेन्डर’, ईश्वर मानन्धर, रोजी श्रेष्ठ, राजन खरेलले विभिन्न प्रश्नहरु कविको कृतिमाथि कविलाई नै राखेकाथिए । उक्त कार्यक्रममा उपस्थित कबि तथा कबयत्रीहरुले आ-आफ्ना कबिता, गजल र लेखहरु सुनाएका थिए भने सल्लाहकार खगेन्द्र पाठकले अनेसासले हाम्रा नयाँ पिंढीलाई नेपाली भाषा पठन पाठनको बारेमा सोच्नुपर्ने तथा शुरु गरिएको नेपाली पुस्तकालयको बिकासमा अझ साथ दिन तयार रहेको बताएकाथिए ।
कार्यक्रम संचालिका महासचिब लाराले सल्लाहाकारद्वय डा कविताराम श्रेष्ठ र प्रो माईकल हट (नई अन्तर्राष्ट्रिय पुरस्कार ग्रहण गर्न नेपाल) तथा उपाध्यक्ष जया राई (दोश्रो कथासंग्रह ‘बेकर स्ट्रिटका दुई आँखा’को बिमोचन तथा ‘अनलाईन लिटरेचर’ पुरस्कार ग्रहण गर्न नेपाल) ले उक्त सन्ध्यामा आफै उपस्थित हुन नसके पनि शुभकामना सन्देश पठाएको जानकारी गराएकिथिईन् । समापनको क्रममा सभापति होम परिबागले प्रसाईका नवीनतम कृति बेलायतमा बस्ने नेपाली मात्र नभई संसारभरि छरिएर रहेका नेपालीहरुले गर्ब गर्न पाउने प्रकाशन हो र यी र यस्ता कृतिहरुलाई अब अन्तर्राष्ट्रिय साहित्यको स्थानमा उभ्याउने काम गर्न अनेसास लाग्नेछ भन्दै कार्यक्रमको समापन गरेका थिए ।-रुपक, मेस, तस्वीरसहित