– योगेश गुरुङ (भुम्दी),
क्युदे थुँलेन दुःख मुना वर्ष मुलारी
खैले हृयाबा खैले टिबा अगुए हृयुलारी ।
छोरी मानिसको मर्म र भावनालाई समेटिएका माथि सम्प्रेषित कर्णप्रिय गुरुङ गीत लाई नसुन्ने र मन नपर्ने गुरुङ समुदायमा मानिसहरु विरलै होलान् । गुरुङ समुदायमा यस गीतले लोकप्रियतामा यति व्यापकता पाएको थियो कि मेलापात होस् वा जीवनको प्रत्येक पलहरुमा यस गीतलाई सबैले गुनगुनाउँथे । दुःखको साथ भन्नुपर्दा यति मीठो गीतको रचयिता, आदिकवि श्री हर्कबहादुर गुरुङ अब हाम्रोसामु छैनन् । उहाँले विक्रम सम्वत २०६७ साउन १ गते यस संसारबाट सदाका लागि विदा लिनुभयो । स्वर्गीय तमू आदिकवि हर्कबहादुरको विक्रम सम्वत १९९३ माघ ११ गते स्याङजा, फेदिखोला गा.वि.स. वडानम्बर ६, साल्मी गाउँको एउटा सामान्य परिवारमा जन्मनु भएको थियो । हाल उहाँका परिवार फेदिखोला बजारमा बस्दै आएको छ ।
स्वर्गीय हर्कबहादुर गुरुङले प्रारम्भिक शिक्षा श्री दामगडे स्कुलबाट लिनुभएका थिए । त्यसपछि पोखराको मल्टिपर्पोस हाइस्कुलमा केही समय अध्ययन गरेपछि अनि अन्तमा काठमाडौंको जुद्धोदय हाइस्कुलबाट प्रवेशिका पास गर्नुभएको थियो । उहाँ साह्रै सरल र अन्तरमुखी स्वभावका हुनुहुन्थ्यो । जागीरको सिलसिलामा उहाँले कास्की र स्याङजाका मालपोत कार्यालय र सहकारी संस्थामा खरदार पदमा जागिर गरेर जागिरबाट अवकाश लिनुभएको थियो । त्यसकारण कतिपय मानिसहरुले उहाँलाई खरदार साल्मी माइलाको नाउँबाट चिन्दछन् ।
स्वर्गीय हर्कबहादुर गुरुङ नोकरीको सिलसिलामा पोखरा बस्दाखेरी अन्य मानिसहरुले गुरुङजातिलाई हेँलाहोँचो वा हेपेर बोलेका शब्दहरु सुन्दा उहाँको मानसपटलमा ती शब्दहरुले ठूलो अघात पुर्यायो । यसैबाट उहाँका हृदय अन्दोलित भएर यी सामाजिक विसंगति र कुसंस्कारको विरुद्ध जनचेतना जागरण गर्नका लागि जनचेतनामुलक कविता र गीतहरु सिर्जना गरेका थिए । आजभन्दा पाँच दशकपहिले, उदहारणकालागि जाँड-रक्सी खान हुँदैन, सम्पति बढी भए सौतामाथि बिहे गर्न हुँदैन, विधुवाको वेदना, जुवातास सबैको लागि हानीकारक, गरगहाना बढी नलागाउने, पढाइमा प्रगति गर्ने, रोधींमा समय व्यर्थ खर्च नगर्ने र लाहुरेनी दिदीबहिनीहरुले भोग्नु परेका पीर-मर्काका हृदयस्पर्शी गीतहरु लेखेर गुरुङबस्तीहरुका मेलापात, हाटहरु र मानिसहरु जमघट भएका ठाउँहरुमा उहाँले गाउँदै हिंडने गर्नुहुन्थ्यो ।
स्वर्गीय आदिकवि हर्कबहादुर गुरुङले आफ्नो जीवनको महत्वपूर्ण समयहरु हाम्रो गुरुङजातिका हित तथा देशका लागि समर्पित गर्नुभएका थिए । जुनबेला संघसंस्थाहरु स्थापनाको लागि प्रतिबन्धित थियो, न नै सञ्चार जगतको राम्रो पहुँच थियो, समाजहितका लागि उहाँ एक्लै हिँडिरहेका र एक्लै भौतारिरहनु भएका थिए । त्यतिबेला यातयातको सुविधा थिएन, अहिलेको २१औं शताब्दीमा जस्तो पत्रपत्रिका, एफएम रेडियो र टीभीजस्ता सुविधाजनक सञ्चारको माध्यम थिएन । म उहाँलाई आफ्नो तर्फबाट दुर्इु थुंगा फूलस्वरुप श्रद्धासुमन अर्पण गर्दै यो छोटो उद्गार यसप्रकार पोख्न चाहन्छु ।
तमूहरुका संस्कारलाई
प्रहार हुँदा अपमान शब्दहरु,
उनका मानसपटलमा
पुग्यो ठूलो चोट ।
बोकी मुटुभरि ती चोटहरु
फुक्दै हिँडे जनचेतनाका बिगुल
कहिले मेलापात कहिले गाउँबस्ती
बाली चेतनाको ज्योति
तर, विडम्बना, कतिले भने
नामर्द ठिटो, त कतिले भने गाइने,
सत्यसेवा मौलिँदै झाँगियो
बने पाँचदशकपछि त्यही ठिटो गाइने,
तमूहरुको नक्षत्र चम्किलो
गुथे पगरी आदिकविको
फिँजाउँदै आभा तमू जगतमा ।।
पाँच दशकपछिमात्र स्वर्गीय गुरुङ बुढेसकालमा विभिन्न गुरुङ संघसंस्थाहरुबाट सम्मानित हुनुभएका थिए । त्यतिबेलाको मान सम्मानहरु उहाँकालागि जीवनको अविस्मरणिय र खुशीका क्षणहरु थिए । साथै उहाँ गुरुङहरुका आदिकविको खिताबबाट सम्मानित बन्नुभयो तथा हामीले पचासवर्षपछि मात्र उहाँको योगदानलाई चिन्न र बुझ्न ढिलै भए पनि सफल भयौं ।
स्वर्गीय आदिकवि गुरुङ, बृद्धाअवस्थामा मधुमेह, कमलपित्त र रक्तचापको रोगबाट पीडित भएर ७४ वर्षको उमेरमा काठमाडौंस्थित नर्भिक अस्पतालमा देहान्त भएको थियो । यसरी हामीले गुरुङजाति र राष्ट्रको एकजना अद्वितीय शिखर पुरुषलाई गुमाएकाछौं । अतः अझ भनौं गुरुङ साहित्य आकाशमा चम्किँदै गरेका एउटा गुरुङतारा अस्ताउँदा सम्पूर्ण राष्ट्रलाई क्षति पुगेको छभन्दा कुनै अत्युक्ति नहोला । उहाँ स्वर्गवास हुनुअघि उहाँले गुरुङभाषाको एउटा स्कूल स्थापना गर्ने सपना बोक्नुभएका थिए र यो अभिभार अहिलेका सम्पूर्ण गुरुङको काँधमा उहाँले सुम्पेर जानुभएका छन् । म यहाँहरुलाई यो कुरा हामीले कहिल्य पनि बिर्सन हुँदैन भनेर स्मरण गराउन चाहन्छु ।
स्वर्गीय आदिकवि हर्कबहादुर गुरुङले तमू समाज र समग्र राष्ट्रलाई ठूलो योगदान गरेर ऋणी बनाएका छन् । उहाँ तमू जातिको मात्र नभई राष्ट्रकै गौरव र सम्पति हुनुहुन्छ र उहाँलाई एउटा अमर तारा भन्नुमा अत्युक्ति नहोला । तर, विडम्बना भनौं वा खै के भनौं, सरस्वतीका वरदपुत्र उहाँप्रति साँचो श्रद्धाञ्जलीस्वरुप हामीले अझसम्म कुनै विशेष पहल गर्न सकेका छैनौं । मलाई साँच्चै भन्नुपर्दा एउटा पूर्ण चन्द्रमालाई घनाघोर बादलले छोपेजस्तो र अनमोल मोतीको दानालाई कतै अन्जान धर्तीमुनि विलय गराइदिएको जस्तो आभास भइरहेको छ । त्यसकारण उहाँलाई साँचो अर्थमा श्रद्धाञ्जली र सम्मान दिनका लागि हामीले स्वर्गीय हर्क बहादुर तमू स्मिृतिकोष स्थापना गर्नुपर्दछ भन्ने अभिप्राय लिएर यहाँहरुसमक्ष यो हार्दिक निवेदन अवगत गर्न चाहान्छु ।
आदरणीय ! दाजुभाइ तथा दिदी-बहिनीहरु ! हामी विदेशमा रहे तापनि हामीले हाम्रो देशको माटो, मातृभूमिको माया, आफ्नो संस्कृति, भाषा, वेशभूषा र संस्कारलाई कदापि भुल्न हुँदैन भन्ने अनुरोध पनि गर्न चाहान्छु । यसैले आ-आफ्नो तर्फबाट यथासक्दो सहयोग र प्रचार-प्रसार गरिदिन हुनको लागि यहाँहरुलाई हार्दिक अनुरोध गर्दै सहयोगका हातहरु फैलाइरहेको छु । अन्तमा स्वर्गीय हर्कबहादुर गुरुङप्रति यी शब्दरुपी श्रद्धसुमनका माला समर्पित गर्न चाहान्छु । यी महान व्यक्तिलाई मेरो सलाम छ ! सदा सलाम छ !
स्मृति कोषको उद्देश्यहरु;
तमूहरुको पहिलो आदिकविको स्मृतिमा अक्षयकोष स्थापना गरी उहाँप्रति श्रद्धासुमन अर्पण गर्ने र निम्नलिखित कोष सञ्चालन गर्ने
· तमू भाषा र साहित्य क्षेत्रमा विशेष योगदान दिएका तमू वा तमूस्योलाई प्रत्येक वर्ष सम्मान गर्ने ।
· सामाजिक क्षेत्रमा विशेष योगदान दिएका प्रतिभाशाली तमुस्योलाई सम्मान गर्ने ।
· यस अक्षयकोष तमू धिं नेपालको मातहातमा सञ्चालन हुनेछ ।
· सम्पूर्ण चन्ददाताहरुका नाम, पुरानो र हालको ठेगानासहित स्वर्गीय हर्कबहादुर गुरुङ स्मारिका पुस्तिकामा लेखिनेछ ।
· सय पाउण्ड स्टर्लिङ दिने चन्ददाताहरुको नाम अभिलेखस्वरुप रेकर्ड बोर्डमा लेखिनेछ ।
संयोजकलाई निम्नलिखित फोन र इमेलमा सम्पर्क गर्न सक्नुहुनेछ :
सम्पर्क नम्बर ०७८८६५९६३९३, Email: [email protected]
यस अभियानका लागि अन्य सम्पर्क व्यक्ति तथा नम्बरहरुः
· क्याप्टैन इन्द्र गुरुङ – ०७८५३३५६५३८
· सुमल कुमार गुरुङ -०७७३५३६९१६७, Email : [email protected]
· खड्का गुरुङ – ०७७३७६६४७७९
· निर्मला गुरुङ -०७८८०६६६२६०
· हुमन गुरुङ – ०७७२७६७८७४४
· श्रीचन्द्र गुरुङ – ०७८५९०३९०९०
यो अपिल पढेर आफ्नो अमूल्य समय दिनुभएको मा आदरणीय महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
प्रतिक्रिया