नेविसङ्घ महाधिवेशनले उब्जाएका प्रश्न

नेविसङ्घ महाधिवेशनले उब्जाएका प्रश्न


ghatana logo 1

लगभग एक दशकपछि ठूलो यत्नका साथ आयोजना भएको काङ्ग्रेसको भ्रातृ–सङ्गठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशन प्रतिनिधि–विवादका कारण दुई साता लम्बिन पुगेको सन्दर्भ मुलुकको वर्तमान राजनीतिकै दर्पण बन्न पुगेको छ । सामान्य दृष्टिमा तीन दिनका लागि डाकिएको महाधिवेशन आफ्ना आन्तरिक प्रक्रियाहरू पार गर्दै तोकिएको अवधिमै सम्पन्न हुनुपर्ने थियो, तर अस्वाभाविक किसिमले लम्बियो । प्रतिनिधि छनोटसम्बन्धी विवाद मात्र नभई सङ्घको अधिवेशन अस्तव्यस्त बन्नुमा आन्तरिक तयारी या सुस्पष्ट कार्यतालिकाको अभाव पनि अहम् कारकतत्त्व बन्न पुग्यो ।

देशकै सबभन्दा ठूलो राजनीतिक दलको देशव्यापी सञ्जाल भएको भ्रातृ–सङ्गठनको महाधिवेशन भृकुटीमण्डपमा भेला डाकेकै भरमा सम्पन्न हुने त थिएन नै, त्यसमाथि विगतदेखि नै गुटगत राजनीतिको सिकार हुँदै आएको सङ्घ यसपटक झनै भागबन्डाको खिचातानीमा परेको देखियो, जसले महाधिवेशनलाई झैझमेलाको कुम्भका रूपमा परिणत गराइदियो । मुलुकको प्रजातान्त्रिक आन्दोलनसँग जोडिएका कैयन प्रतिकूल कालखण्डमा अहम् र प्रभावकारी भूमिका निर्वाह गरेर इतिहास बनाएको विद्यार्थी सङ्गठन आज गणतन्त्रको खुला राजनीतिक माहोलमा विचरण गरिरहँदा स्वार्थैस्वार्थले भरिएका गुटको भुत्ते जमात मात्र हो कि भन्ने आभास दिलाउने अवस्थामा देखापर्नु अत्यन्त दु:खद् पक्ष हो । नेतृत्व हत्याउन देखिएको अस्वस्थ होडबाजी र गुटगत चलखेलले सङ्घको उद्देश्यप्रति नै भ्रम पैदा गरिदिएको छ भन्दा अत्युक्ति नहोला । त्यसमाथि काङ्ग्रेसका वरिष्ठतम् नेताहरू नै यस विद्यार्थी सङ्गठनलाई आफ्नो स्वार्थमा प्रयोग गराउन खुल्लमखुला गुट खडा गरी ‘बार्गेनिङ’मा उत्रिएबाट यसको अस्तित्व या गौरवमय इतिहासप्रति नै समयले व्यङ्ग्य गरेको प्रतीत हुन्छ ।

नेविसङ्घजस्ता विद्यार्थी सङ्गठन वास्तवमा केका लागि भन्ने प्रश्न खडा भएको छ यतिबेला । जानिफकारहरूका अनुसार बीपीले त मुलुकको राजनीतिक, सामाजिक, आर्थिकलगायतका विविध आयाममा प्रस्ट र ज्ञानगत हिसाबले भरिपूर्ण विद्यार्थीको सोच राखी सङ्घ गठनको परिकल्पना गरेका थिए । आज सङ्घको नेतृत्व कस्तो छ, सदस्यहरू कुन सोचका छन्, वैचारिक रूपमा विद्यार्थीलाई तिखार्ने सवालमा सङ्गठन कुन धरातलमा छ, आमविद्यार्थीले झेल्दै आएका समस्या निराकरणको प्रश्नमाथि कस्तो भूमिका खेलिरहेको छ, यस्ता सवाल चौतर्फी रूपमा उठे–उठाइएका छन् । प्रस्ट भन्ने हो भने सङ्घ यस्ता महत्त्वपूर्ण दायित्व निर्वाहमा चुकेको छ । नेविसङ्घ एउटा लडाकु र आन्दोलनकारी शक्तिको रूपमा मात्रै होइन, वैचारिक र अन्वेषक शक्तिका रूपमा पनि उदाइसक्नुपथ्र्यो, तर काङ्ग्रेसकै दुर्भाग्य मान्नुपर्छ– यस्तो हुन सकेको छैन । कुरा सङ्गठन विस्तारको गर्ने तर नेताविशेषको प्यारो हुन दिनरात नेताका ढोका धाउने प्रवृत्ति यसभित्र मौलाएको देखिन्छ । विद्यार्थी एवम् विद्यालय–विश्वविद्यालयसँग जोडिएका ज्वलन्त समस्या निराकरणको चिन्ता र चिन्तन गर्न छोडी दिनरात ठेकेदारी, कर्मचारी सरुवा–बढुवा र व्यक्तिगत लाभका यस्तै अनेक शीर्षकमा दौडधुप गर्ने संस्कारले आजका विद्यार्थी नेतृत्वलाई नराम्रोसँग गाँजेको पाइन्छ । अधिवेशनका बेला देखिएका गुट र खिचातानी पनि निकै हदसम्म यसैको उपज हो ।

नेपालका विद्यार्थी सङ्गठन जल्दाबल्दा मुद्दामा बहस चलाउन सक्दैनन् भनी पछिल्लो चरणमा लाग्दै आएको आक्षेप नेविसङ्घको हकमा झनै जोडिएर आउँछ । मुलुक र विश्वमा भइरहेका पछिल्ला वैचारिक बहसका विषयमा सङ्घजस्ता निकायले छलफल चलाइरहेको हुनुपर्ने हो । तर, कतिपय विद्यार्थी नेताहरू आफ्नै दलको वैचारिक लाइनमा समेत स्पष्ट देखिँदैनन् । यसैगरी, सङ्घका नेता–कार्यकर्ताले लोकतान्त्रिक संस्कार र चरित्रलाई आफूमा लागू गर्ने सवालमा पनि गम्भीरता देखाउन नसकेको गुनासो सङ्गठनभित्रैबाट उठ्ने गरेको छ । नेतृत्वको दाबेदारहरू यसप्रति अत्यन्त संवेदनशील हुनु जरुरी छ ।

नेविसङ्घलाई काङ्ग्रेसको नेता उत्पादन गर्ने थलोको रूपमा समेत चित्रण गरेको पाइन्छ । तर, नेविसङ्घका अगुवाहरू भोलिका राजनीतिक दलका नेता मात्रै अवश्य होइनन् । मुलुकको कर्मचारीतन्त्र, सेना, प्रहरी, उद्यम् तथा निजी क्षेत्रलगायत यावत् निकायका वागडोर तिनले सम्हाल्नुपर्ने हुन्छ । समग्र मुलुकको विसङ्गतिलाई शुद्धीकरण गर्नुपर्ने दायित्व तिनमा रहेकोले विद्यार्थी सङ्गठनमा रहँदै तिनले आफूलाई शुद्धीकरण गर्दै नमुना पात्रका रूपमा व्यक्तित्व विकास गर्नुपर्छ । नेपाल विद्यार्थी सङ्घको एघारौँ महाधिवेशनले यी र यस्तै सोच–संस्कारको विकास एवम् सिङ्गो मुलुककै दायित्व उठाउने कर्णधार निर्माणमा योगदान पुर्‍याउन सकोस् भन्ने कामना गर्नु सान्दर्भिक ठहरिन सक्छ ।