बेलायतमा किरात राईहरुको उभौंली साकेला

बेलायतमा किरात राईहरुको उभौंली साकेला


अल्डरसट । वेलायतवासी किरात राईहरुले गत मे २१ तारिख शनिवार अल्डरसटस्थित कनट् लेजर सेन्टरमा, यो वर्षको उभौली साकेला चाँड धुमधामसँग मनाए । यो चाँडलाई बर्षमा दुईपटक उभौंली र उधौंली गरी, ठूलो पर्वको रुपमा अनादिकालदेखि किरात राईहरुले मनाउँदै आएका छन् । हावापानी तथा ऋतु परिवर्तनको सूचकको रुपमा मानिने, यो पर्व विशेष गरी धेरै अन्नबाली उब्जनी होस् र आउँदो बर्षमा, अनिकाल र भोकमारी नलागोस् भनी पितृलाई गरिने पूजा हो ।
उक्त दिनको कार्यक्रममा बेलायतवरपर बसोबास गर्दै आएका किरात राईहरु र अन्य बिभिन्न जातिहरुको बृहत सहभागिता थियो । यो कार्यक्रमको संचालन भर्खरै नेपालबाट आउनु भएकी वयोबृद्ध जसलक्षी राईको प्रमुख अतिथि र किरात राई यायोक्खाको अध्यक्ष रामधन राईको सभापतित्वमा भएको थियो । साथै, कार्यक्रममा बीएफबीएस् गोर्खा रेडियो यूकेको महाप्रबन्धक खेम गुरुङ, याक्थुम चुम्लुङकी सल्लाहकार नरकुमारी लिम्बू, तमुधिं यूकेको अध्यक्ष मुछेत्र गुरुङ, मगर संघ बेलायतको अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापा, एनआरएन वेलायतको अध्यक्ष सूर्य गुरुङ, नेपाल एमबेसीको तर्फबाट गणेश अधिकारी र नयाँ सन्देश साप्ताहिक पत्रिकाको प्रधान सम्पादक चण्डीराज राईलगायत आमन्त्रित अन्य संघसंस्थाका प्रतिनिधिहरु पनि उपस्थित थिए ।
किरात राई यायोक्खाको अध्यक्ष रामधन राईले साकेलाको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै, उपस्थितिको लागि सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै, एनआरएन वेलायतको अध्यक्ष सूर्य गुरुङ्ग र नेपाल एमबेसीको तर्फबाट गणेश अधिकारीले शुभकामना ब्यक्त गर्दै, प्रवासमा रहेर पनि किरात राईहरुले आफ्नो संस्कार र संस्कृतिको संरक्षण र समबर्द्धनमा खेलेको भूमिकाको प्रसंशा गरेका थिए । संस्थाको तर्फबाट उपाध्यक्ष कल्पना राईले स्वागत मन्तब्य दिएकी थिईन् ।
यो वर्षको प्रमुख आकर्षणको रुपमा गत बर्षहरु जस्तै साकेला नाच प्रतियोगिता आयोजना गरिएको थियो । जसमा ग्रेज, ननिटन, बेजिङस्टोक, क्यान्टवरी, फोक्स्टोन, मेड्स्टोन, ग्रेटर रस्मोर र आस्फोर्ड गरी जम्मा आठ प्रारम्भिक कमिटिहरुले सहभागिता जनाएका थिए । सबै सहभागि टिमहरुले प्रचण्ड घामको समेत परवाह नगरी आफ्नो आकर्षक नाच र शिलीहरु प्रस्तुत गरेका थिए । स्मरण रहोस्, यो बर्षदेखि संस्थाले रनिङ शल्डको पनि ब्यवस्था गरेको छ ।
ननिटनबाहेक प्रत्येक प्रारम्भिक कमिटिबाट एकजना मूल्यांकनकर्ता रहेको प्रतियोगितामा, क्रमशः आस्फोर्ड, ननिटन र फोक्स्टोन टिम प्रथम, द्वितीय र तृतीया भएका थिए । प्रमुख अतिथि जसलक्षी राईले प्रथम हुने टिमलाई रनिङ शिल्ड र नगद तीन सय पाउण्ड प्रदान गरेकि थिइन्भने, किरात राई यायोक्खाको अध्यक्ष रामधन राईले, द्वितीय हुने टिमलाई २ सय र तृतीया हुने टिमलाई १ पाउण्ड नगत पुरस्कार र अन्य सहभागी टिमहरुलाई सान्त्वना पुरस्कार वितरण गरेका थिए ।
विशेष गरी उक्तदिन, नयाँ पिढीहरुको साकेला प्रतिको मोह र जोस जाँगरको मूल्यांकन गर्नुपर्दा, प्रवासमा पनि यस्को महत्व र ब्यापकता दिनप्रति दिन बढिरहेको सजिलै मनन गर्न सकिन्थ्यो । यो सत्यताको महशुस भएको कुरा, त्यहाँ उपस्थित बुद्धिजीवी र समाज सेवीहरुले समेत औल्याएका थिए । –योगराज राई, मेस, with photos