इराकी राजनीतिक परिवर्तनमा बेलायती भूमिका

इराकी राजनीतिक परिवर्तनमा बेलायती भूमिका


लण्डन । १९ मार्च २००३ सालको दिनमा अमेरिका, ब्रिटिशलगायत मित्रराष्ट्रहरुले इराकमाथि हमला गर्दा एक लाख अड्तालीस हजार अमेरिकी सेनालाई साथ दिंदै लगभग पैतालीस हजार बेलायती सेनाले इराक चढाइमा भाग लिएको थियो । राष्ट्रसंघबाट नियुक्त गरिएका हतियार निरिक्षक, हान्स ब्लिक्सले सद्दाम हुसैनको सामूहिक नरसंहार गर्ने हतियार “वैपन अफ मास डिस्ट्रक्सन” डब्ल्युएमडी, थुपारेर राखेका छन् वा छैनन् भन्ने कुरालाई पुष्टि गर्नका लागि बढी समय लाग्ने कुरा त्यतिबेला गरेका थिए । १५ अप्रिल २००३को दिनमा सद्दाम हुसैन आफ्नै देशभित्र लुक्न बाध्य भएका थिए र १ मेको दिनमा सद्दामको इराकमाथिको प्रभुत्वलाई सदाको लागि उखालेर फालिएको थियो ।
त्यसदिनदेखि बगदादलाई तानाशाहीको पञ्जाबाट मुक्त गरेको थियो । त्यसै सालको १४ डिसेम्बरमा लुकेर बसेको सद्दाम हुसैनलाई उनकै घर नजिकैको टिक्रिट शहरबाट पक्राउ गरेको थियो । त्यसपछि सन् २००४को शुरुमा कट्टरपंथी धार्मिक नेता मोक्ताडा सदरको अगुवाइमा उनका वफादार शिया मिलिसियाहरु मित्रराष्ट्रका सेनाहरुसँग निकै घमाशान लडाइ लडेको थियो । त्यही सालको जुन महिनामा अन्तरिम सरकार गठन गरेर अमेरिकाले देशको शासन र सार्वभौम इराकी जनतालाई हस्तान्तरण गरेको थियो । सन् २००३ देखि अमेरिकालगायत मित्रराष्ट्रहरुले इराकमाथि हमला गरेको समययतादेखि पहिलो पल्ट इराकी जनताहरुले डिसेम्बर २००५मा चुनावमा हिस्सा लिएर आफ्नै पूर्णकालीन् सरकार गठन गरेका थिए । त्यसपश्चात एक वर्षपछि सद्दामलाई मानवताको विरुद्धमा अपराध गरेका कारण उनलाई फाँसीको सजाय दिएको थियो । सन् २००९ सालसम्म लगभग सबै बेलायती सेनाहरु केही सेनाबाहेक इराकबाट स्वदेश फिरेका थिए । अस्ति इराकको ८ वर्षको ब्रिटिश मिलिटेरी अपरेशन सकिएको समाचार प्राप्त भएको छ । केही संख्यामा बेलाएती नाविकहरु इराकी जलसेनालाई तालिम दिनका लागि पछि बसेका थिए । अहिले ती सबै मानिसहरु अस्तिका दिन स्वदेश फर्केका छन् । अपरेशन टेलिकको अन्तिम चरणको अभियान जुन अपरेशको शुरुवात सन् २००३मा इराक चढाइसँगै गरिएको थियो सो समाप्त भएको समाचार प्रकाशमा आएको छ । सबै बेलायती सेना सन् २००९मा नै फर्केका थिए, तर, केही नौसेनाका कर्मचारीहरु इराकी नौसेनालाई तालिम दिनका लागि बसेका थिए । श्रोत – मेट्रो, सुमल, मेस ।