नेपाली नयाँ वर्ष र फेसन-शो

नेपाली नयाँ वर्ष र फेसन-शो


-हेपेन राई,
हरेक मानव समुदायमा बेलाबखत फरक विचार, भिन्न बुझाइले तर्क-बितर्क भइरहन्छ, विरोधाभास छाइरहन्छ । यस्तो हुनु पनि पर्दछ र नै समाज विकास अनि सामाजिक सभ्यताले सही गति लिन्छ, यो समाज विकासको प्रक्रिया नै हो यो चलिरहन्छ । हामी नेपाली पनि विभिन्न कारणले बिदेशिएका छौं र हामीसँगै हाम्रो संस्कार, संस्कृति, भाषा, साहित्य पनि आएको छ, यसको संरक्षण र सम्वर्द्धन गर्दै जानु हाम्रो कर्तव्य हो । हाम्रो पहिचान भनेको हाम्रो भाषा, संस्कार र साहित्य नै हो, आधुनिक जमाना र प्रविधिको नाममा हामीले हाम्रो पहिचानलाई भुल्नु हुन्न, यदि तेसो भयो भने हाम्रो संस्कार, संस्कृति अरुकोसँग मिश्रित हुन्छ या कालान्तरमा हामी अरुको संस्कार, संस्कृतिमा रूपान्तरित हुनेछौं । हामी बेलायतमा रहेको नेपालीहरुको परिप्रेक्षमा हामी विदेशी संस्कारमा रुपान्तरण हुन सक्छौ भन्ने चिन्ता हो । जसले हामी को हौं भन्ने पहिचान हराउन सक्छ।

म यो कुरा किन गरिरहेको छु भने, हामी वेलायतमा भएका नेपालीहरु जति छौं हामी अहिले संक्रमणकालमै छौं । हामी यहाँ बसोबास गरेको धेरै लामो समय भएको छैन, अझै पनि हामीलाई वेलायत सरकारले अल्पसङ्ख्यक सूचीमा सूचीकृत गरेको छैन । हाम्रो नेस्नालिटी नेपाली भनेर अझै आधिकारिक भएको छैन, जसले गर्दा हाम्रो छोरा छोरीहरुले ऐच्छिक नेपाली पाठयक्रममा नै पढ्न पाउने वातावरण बनि हालेको छैन तथापि नेपाली समुदायको आफ्नै पहलमा नेपाली भाषा पढाउने पहलहरु भइरहेको छ्। साथै नेपाली संस्कार, संस्कृति र साहित्यको लागि पनि नेपाली जातीय सङ्गठनहरुको पहललै राम्रै मान्नु पर्दछ्। नेपाली भाषा, साहित्यको लागि नेपाली साहित्यिक संस्थाहरुको कोशिसको पनि कदर गर्नैपर्छ तैपनि नेपालीको पहिचानको कदम अझै धेरै अघि बढ्नु छ, चुनौतीहरु धेरै छन्। बेलायतमा रहेका बौद्धिक बर्गले नेपाली समुदयाम बहस गर्न, नेपाली मन मस्तिष्कले झक्झकाउन र सचेतक भूमिका खेल्नु पर्ने आवश्यकताको महशुस भएको छ।

हामी भन्न सक्छौं, किन चाहियो यो नेपाली भाषा-साषा, संस्कार, संस्कृति ? अङ्ग्रेजको देशमा अङ्ग्रेजी भए हुन्छ तर कुरा त्यसो होइन, हामीले नेपाली भाषामै डिग्री गर्नु पर्छ भनेको होइन तर हामीले हाम्रो भाषामा कम्तीमा साक्षर त बनाउनु पर्छ हाम्रो सन्तानहरुले किनभने भाषा नै आफ्नो पहिचान र संस्कारको मेरुदण्ड हो । हाम्रो नानीले अङ्ग्रेजी राम्रो बोल्दैमा हामी खुशी हुनु पर्ने केही देख्दिनँ म, यहीं जन्मे हुर्केपछि पाठ्यक्रम नै अङ्ग्रेजी भएपछि भाषाको हाम्रो सन्तानलाई समस्या हुँदैन, अङ्ग्रेजी त त्यसै पनि बोल्छन् नि ! तर नेपालीमा कम्तीमा लेख्न र बोल्न जान्ने बनाउने जिम्मेवारी तपाईँ हाम्रो हो कि होइन ? देश गुनाको भेष हामी बुझ्छौं, त्यो जरुरी छ, हामीले भन्न खोजेको दौरा-सुरुवाल नै लगाउनु भनेको होइन, ठाउँ, देश अनुसारको भेष गर्नु पर्छ भन्दैमा हाम्रो पहिचान संस्कारलाई रुपान्तरण गर्नु हुन्न भन्ने मात्र हो । बिदेशी संस्कृति संस्कार, चलनलाई पछ्याउँदै जाने अनि हाम्रो भाषा, संस्कारलाई भुल्दै जाने हो भने हो भने केही दशकमा हाम्रो नेपालित्व हराउन पनि सक्छ । हाम्रो, भाषा, संस्कार, संस्कृति नै हाम्रो पहिचान हो, हामीले यो कुरालाई अहिले नै ध्यान दिएनौं भने पछि हाम्रो सन्तानले नेपाली पहिचान बिर्सन्छन्, त्यो भनेको हामी विदेशी हुनु हो या हाम्रो संस्कार विदेशीकोमा रूपान्तरित हुनु हो या हाम्रो संस्कारलाई मिश्रित बनाउनु हो, जसले हाम्रो पहिचानमा प्रश्न चिन्ह खडा गर्न सक्छ ।यो चिन्ता हामीमा हुनु पर्छ, यस विषयमा बहस गर्न जरुरी छ।

समय हुँदा म केही न केही सकारात्मक कुरा लेख्नु पर्छ भन्ने मान्छे, जब केही लेखिन्छ भने केही हुन्छ तर केही लेख्दै नलेखे केही हुन्न भन्ने सिद्धान्तले गर्दा सकेसम्म प्रगतिशील र सामाजिक चेतनशील तर्कसंगत लेख रचना लेख्ने गर्छु म । त्यो पनि आ-आफ्नो बिचार हो हुन त। । आज म नेपाली संस्कार, संस्कृति र विकृतिको केन्द्रमा रहेर आफ्नो कुरा पोख्न गइरहेको छु।जब मैले कवि तथा साहित्यकार काङ्माङ नरेसको टेकनाथ रिजाल, महेन्द्र चौधरी र बेलायतका नेपाली शीर्षकको लेख नेपाली पत्रमा (वर्ष ३ अङ्क २५१) र युवा तथा सशक्त कवि देबेन्द्र खेरेस को नयाँ सन्देशमा (वर्ष ३ अङ्क १८) प्रकाशित हावा नचली पाता हल्लिँदैन शीर्षकको लेख पढेँ, अनि लाग्यो, केही लेख्नु पर्छ, नेपाली संस्कार, संस्कृति, भाषा साहित्य र विकृतिको बारेमा बहस गर्नु पर्छ भन्ने लाग्यो । सम्झें, आवश्यक पर्दा कलमले बहस गर्न सक्नुपर्छ, सही र गलत तर्क छुट्याउनु सक्नुपर्छ, समकालीन बहसको बिषयम लेख्नु पर्छ, झुझारु हुनुपर्छ, आफ्नो चिन्तन, भिजन लेख्नु पर्छ र यदि अरु गलत छ भने अरुलाई सच्चिन सिकाउनु पनि पर्छ । हुन त समाजको लागि, परिवर्तनको लागि, सत्यको लागि, प्रगतिको लागि, मुक्तिको लागि लेख्दा लेखकहरुले ठूल्ठूला संघर्ष झेल्नु परेको ताजा कहानीहरु छन् हाम्रोसामु । समयाको कालखन्डमा अरुको हित, समाज र मानवताको वकालतमा पक्षामा लेख्दा विभिन्न बहनामा, परिबन्दमा कलम समाउने हातहरुलाई तरावारले र हतकडीले स्वागत पनि गरिएको छ तर पनि सत्य र सही तर्कसंगत लेख्ने ती कलमहरु कहिले पनि डग्मगिएनन्, र डगमगाउनु पनि हुन्न । प्रख्यात नारीवादी लेखिका तसलिमा नसृन जसले लज्जा उपन्यास लेखेपछि बङलादेशका बहुसंग्ख्यक जनताले हड्ताल गर्दै उनको फाँसीको माग गरेका थिए र अदालतको फैसलासँगै बङलादेश सरकारले नसृनलाई देशनिकला गर्‍यो र उनको लेख रचनामा प्रतिबन्ध लगायो, लज्जा पनि बङलदेशमा प्रतिबन्धित भयो तर पनि नसृनको कलम बन्द भएन, झन् सशक्त बन्दै गइरहेको छ । अहिले पनि लज्जा विश्वमै प्रसिद्ध छ, अहिले आएर बंगलादेशको मुस्लिम नारीहरुले मात्र होइन, विश्वकै नारीहरुको आस्था र प्रतीक बनेकी छन् नसरिन, विश्वकै प्रगतिशील, मानवतावादी, स्वतन्त्र प्रेमी जनता, संघ संस्थाको साथ र समर्थन पाएकी छन्, विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट विभूषित भएकी छन्। हेर्नुहोस्, पत्रकार कृष्णसेन इच्छुको संघर्षलाई, यस्ता उदाहरण त कति छन् कति ? भन्नुहोला, लेखेर के, के नै हुन्छ र ? कुरा त्यसो होइन, तपाईँ हाम्रो गीता, रामायण, महाभरत जस्ता महान ग्रन्थहरु पनि त लेखेर के नै हुन्छ भनेर बाल्मिकी र ब्यासहरुले सोचेको भए, के ती ग्रन्थहरूले हामीलाई संस्कार, धर्म, ज्ञानका कुरा सिकाएका छैनन् र ? मैले यो कहानी किन जोडिरहेको छु भने कोही साथीहरुले आ लेखेर के हुन्छ हौं, यी लेखक भनाउँदाहरु भन्ने मित्रहरु पनि भेटे यो कुरा लेखौं भन्ने लाग्यो, अन्यथा नठान्नु होला । लेखकहरुले, दार्शनिकहरुले यस्ता कयौ चुनौतीलाई सामना गर्दै लेखेका उदाहरणहरू प्रशस्तै छन् ।

अब प्रसङ्ग नेपाली पहिचान, संस्कृतिकै, काङ्मङ नरेश र खेरेसको माथि उल्लेखित लेखले उठाएको बहसमा के तर्क पेस गर्न चाहन्छु भने, हो हामीले नेपाली संस्कृतिको, पहिचानको लागि भाषा साहित्यको लागि आ-आफ्नो ठाउँबाट पहल र योगदान दिइरहेका छौं । तर नेपाली नयाँ वर्षको कार्यक्रममा फेसन-शो गर्नु कति सान्दर्भिक थियो त भन्ने कुरामा लेखकहरुको बिचार सही नै लाग्यो । हो फेसन सो गर्नु हुदै हुँदैन भन्ने तर्क छैन मेरो, गर्नु सकिन्छ तर कार्यक्रमचाहिँ नेपाली नयाँ वर्ष तर फेसन-शो गर्दा चाहिँ सान्दर्भिक लागेन । सांस्कृतिक गीत, सङ्गीत, नेपाली जातीय पोसाकको शो भएचाहिँ नेपाली नयाँ वर्षमा बढी सान्दर्भिक हुन्थ्यो होला । नेपाली नयाँ वर्षमा नेपालीहरु नयाँ वर्षको शुभकामना दिन भेला हुन्छन्। नेपाली कार्यक्रममा नेपाली पहिचानको, संस्कार, संस्कृतिको आभास हुँदा कति राम्रो हुन्छ । त्यो प्रोग्राममा युवा युबतीहरु मात्रै त अवश्य थिएनन् होला । फेसन शो भन्ने बित्तिकै बढी शो अलि-अलि हुने नै भयो अनि नेपाली नयाँ वर्षको कार्यक्रममा फेसन-शोको कतिको ठीक हो होइन, बेलायतमा रहनुभएको तपाईँ हामी सबै नेपालीहरुले पनि बहस गर्नु होला । संस्कार, संस्कृति यहाँ पनि जोडिएको छ।फेसन शो गर्नु आयोजकको बिचारमा ठीक होला । हो फेसन्-शो गर्नु तर अरु नै बेला गरे यसरी तर्क-बितर्क हुँदैन थियो कि, मलाई के लाग्छ भने यदि अङ्ग्रेजी नयाँ वर्षमा फेसन-शो भएको भए अलि बढी सान्दर्भिक हुनेथ्यो कि ? नेपाली, संस्कार, पहिचानसँग जोडिने कतिपय कुरहरुमा हामीले आफ्नो चिन्ता र चासो राख्नु पर्छ, मैले अघि नै भनिसकें, पहिचानको कुरा छ, संस्कार र संस्कृतिसँगको कुरा छ, फोक्सटोनको नेपाली नयाँ वर्षको कार्यक्रममा फेसन शो गर्नु कति ठीक या बेठीक भन्नेमा कति सान्दर्भिक, कति असान्दर्भिक भन्ने कुरामा आयोजकको आफ्नै तर्क होला । उहाँहरु भन्नु होला के भो, गर्दा खेरि गर्छौ त ? गर्नु ठीकै थियो,या उहाँहरुलाई कस्तो लाग्छ । हाम्रो चासो, बिचार र बहस र तर्क त्यो उहाँहरुले भुझ्ने कुरा हो, आयोजना गर्नु भो, फेसन-शो को गर्न सक्नु हुन्छ ,मलाई यो बारेमा सान्दर्भिक नलागेकोले आफ्नो बिचार राखें, राख्नसक्छु, बहस गर्नु पर्छ, हामी नेपाली हो हाम्रो पहिचान्, हाम्रो संस्कार, संस्कृतिसँग जोडिएको विषयमा बहस गर्नु पर्छ, लेख्नु पर्छ, सबै बेलयतमा रहनुभएका सचेत नेपालीहरूले स्वगत छ।

– अप्जसे कान्छा, ब्रेकोन्, वेल्स