भूकम्पपीडितको राहतमा भिक्षुहरू नै मुछिएपछि…

भूकम्पपीडितको राहतमा भिक्षुहरू नै मुछिएपछि…


rk-shakya

भूकम्पपीडितलाई राहत उपलब्ध गराउने बहानामा व्यक्तिगत लाभ उठाई भ्रष्टाचार गरेका अनेक मामला प्रकाशमा आए र आउने क्रम जारी नै छ । यस क्रममा भूकम्पपीडितलाई राहत उपलब्ध गराएको फर्जी बिल बनाएर ठगी गरेको अभियोगमा बुद्धिस्ट जनअधिकार मञ्चका अध्यक्ष सकुन शेरचन र सोही संस्थाका महासचिव अमरकान्त चौधरी यतिबेला प्रहरी हिरासतमा छन् । इजरायली मूलका एक अमेरिकी नागरिकसँग विवाह गरेकी मुस्ताङतिरकी सकुनले भूकम्पपीडितका लागि राहत भन्दै अमेरिकास्थित गो फन्ड मी, मलेसियाको शाक्यमुनि फाउन्डेसन र दुबईको मेकान्नीबाट तीन करोड १७ लाख अनुदान रकम नेपाल भित्र्याएको र त्यसमध्ये एक करोड ६७ लाख भन्दा बढी रकम अनियमितता गरेको मामलामाथि छानबिन जारी रहेकै बेला यस्तै प्रकरणमा आफूलाई निकै उपल्लो तहका व्यवसायी र समाजसेवी दाबी गर्ने अर्का एक पात्र समेत मुछिएका छन् ।

आरके शाक्य र राजु नामले समेत चिनिने लुम्बिनी एयरवेजका पूर्वअध्यक्ष राजेन्द्रकुमार शाक्यले पनि शाक्यमुनि बुद्ध फाउण्डेसन मलेसियाबाट लाखौँ रुपैयाँ नेपाल बंगलादेश बैंक कमलादी शाखामा ल्याएर राखेका बुझिएको छ । उनले सरकारको अनुमतिविना रकम ल्याएर ५० हजार रुपैयाँ भूकम्पपीडितलाई बाँडेको, त्यसको प्रचार गर्नका लागि एक टेलिभिजनमा ५० हजार खर्च गरेको र बाँकी रकम पचाएको उनीनिकट सुत्रको दाबी छ । मलेसियाबाट ल्याएको रकमलाई सदुपयोग गर्नुपर्ने तर्क गर्दा काजीमान आत्रेय नामक पात्रसँग पनि शाक्यको विवाद परेको बताइन्छ ।

अत्यन्त चलाख र सम्बन्ध भजाएर व्यक्तिगत लाभ हासिल गर्न माहिर शाक्यले ‘मुभमेन्ट फर चेन्ज’ संस्था सञ्चालन गरेका दर्शन रौनियारलाई समेत प्रभावमा पारेर सोे संस्थाको नेपाल संयोजक पद हत्याएका छन् । स्वदेशको प्रगति–समृद्धिका लागि योगदान गर्ने स्वच्छ उद्देश्यले रौनियारले सञ्चालन गरेको उक्त संस्था तथा स्वयम् रौनियारलाई गुमराहमा पार्दै संस्थाको नाम भजाएर अमेरिका मनवतस्करी गर्ने फिराकमा शाक्य रहेको उनका व्यवहारले देखाउँछ । यस्तो निन्दनीय कर्म हुन लाग्दा पनि दर्शन रौनियारलाई भने कुनै जानकारी नरहेको र कुनै पनि बेला दर्शनको नाम बदनाम हुने सम्भावना रहेको उक्त संस्थासम्बद्ध सदस्यहरू बताउँछन् ।

शाक्य तिनै पात्र हुन् जसले लुम्बिनी एयरवेज डुबाएर हत्याएको रकमबाट लाजिम्पाटस्थित ६ रोपनी जग्गामा रहेको कुनै राणाजीको महल खरिद गरेका छन् । कुनैबेला लुम्बिनीमा गाइडको काम गर्दा जापानिज महिलासँग विहे गरेका यिनको गलत धन्दाका कारण डिभोर्स दिएर पत्नी जापान फर्किसकेकी छिन् भने जापानमा यिनको नाम ब्ल्याकलिस्टेड छ । आफ्ना आफन्तकै लगानी घोटला गरिदिएका कारण जापानिज महिलाले शाक्यलाई छोडेको उनलाई चिन्नेहरू बताउँछन् । घरमा काम गर्ने तामाङ थरकी महिलामाथि यौन शोषण गर्दा जन्मिएको छोरालाई भक्तपुरमा ३ आना जग्गा किनिदिएर थुम्थुम्याएका शाक्यमाथि तिब्बतीलगायतका नेपालीहरूलाई युरोपतिर पु¥याउँदै छोड्दै आउने धन्दा गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।

यस्तै, चाबहिलस्थित चारुमति बुद्धिष्ट मिसनका प्रमुख तपश्वी धम्म श्रेष्ठ पनि शाक्यमुनि फाउण्डेसन मलेसियालगायत विभिन्न देशबाट राहतको नाममा रकम ल्याएर भ्रष्टाचार गर्ने पात्रका रूपमा चिनिएका छन् । उनले सन् २०१२ मा जर्मनीको म्युनिख शहरमा आयोजित एक बौद्ध संस्थाको सम्मेलनमा एक तिब्बतीलाई १२ लाख रुपैयाँ लिएर फ्रान्सको पेरिसमा छाडेका थिए । इन्टरनेशनल बुद्धिष्ट कन्फेडेरेसन दिल्लीले पनि नेपालको भूकम्पपीडितको नाममा विश्वव्यापी राहत संकलन गर्दै आएको बुझिन्छ । उल्लेखित पात्रहरु उक्त संस्थाबाट परिचालित बताइन्छ । तपश्वी धम्म र राजेन्द्र शाक्य सांसद् रुक्मिणी चौधरीको पार्टीबाट समानुपातिक उम्मेद्वार समेत रहेका थिए । भिक्षु भएर पनि मदिरा–मासु सेवन गरी भिक्षुको चिवरकै धज्जी उडाउने यी पात्रहरूले गलत कार्यबाट आर्जन गरेको धन प्रयोग गरी राजनीतिमा समेत किन खुट्टा जमाउन खोजेका हुन्, बुझ्न सकिएको छैन ।

tapaswi-dhamma-shrestha