लण्डन । “लण्डन-संविधान, शान्ति तथा मुलुकका लागि खडा छ” भन्ने नारासहित मुख्य अभियानकर्ता प्रदीप कुमार सिहं, नम्बर वन सोर्सेसका ब्लगर लेक्स लिम्बू तथा मिस यूके-नेपाल नबिना गुरुङकासाथ दिन लण्डनदेखि बाहिरबाट पनि आएका सयौंको संख्यामा नेपाली युवाहरु बेलायतस्थित नेपाली दूताबासमा २७ मे,, मध्यान्ह १२ बजे निक्कै जोशसहित भेला भएका थिए ।
सप्ताहन्त, त्यहीमाथि बेफुर्सदिलो शनिबारको बेलायतमा आफ्नै महत्व छ तैपनि, छोटो समयमा बेलायतको भौगोलिक असमानताको बावजूद पनि फेसबुक सञ्जालमार्फत गरिएको यो आहृानमा सोचेभन्दा बढी सहभागीहरु भेला भएको देखेर १८ वर्षीय यी तन्नेरी संयोजक लेक्स लिम्बू निक्कै दंग र उत्साही देखिन्थे । फेसबुकको प्रभावले यस्तो संभव होला भन्ने लागेको थिएन तर सहृदयी साथीहरुको ऐक्यबद्धताप्रति म दंग तथा आभारी छु-धन्यबाद दिने क्रममा लेक्सले भने ।
फेसबुक प्रयोगकर्ताहरुको समूह ‘नेपाल युनाइटस्’ मार्फत नेपालमा करिब महिनादिन अघि शुरु भएको आन्दोलनलाई ऐक्यबद्धता जनाउन उक्त भेला आयोजना गरिएको थियो । अभियानकर्ताहरुले नेपालका लागि बेलायतको राजदूत डा. सुरेशचन्द्र चालिसेलाई भेटेर भलाकुसारी गर्दै, “यो कुनै राजनीतिक अभियान होइन, विदेशमा बसे तापनि आफ्नो मुलुक नेपालप्रति हामी पनि उत्तिकै चिन्तित छौं अतः खबरदारी तथा दबाब दिन आ-आफ्नो ठाउँ, तह र तप्काबाट हाम्रो पनि उत्तिकै जिम्मेवारी हो भन्दै यो स्वःस्फूर्त ऐक्यबद्धता जनाइएको हो” भन्दै संकलित हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएका थिए ।
संविधान निर्माणमा भएको ढिलाइप्रति हाम्रो घोर निन्दा छ । संविधान, शान्ति तथा मुलुकका लागि बेलायती हामी सबै युवा एकभएर खडा छौं । संविधान निर्माणका लागि आजको युवाहरुको चाहना र मागसहित लेखिएका केही बुँदाहरु यस आन्दोलनका मुख्य अभियानकर्ता प्रदीप कुमार सिहंले पढेर सुनाएका थिए । मिस यूके-नेपाल नबिना गुरुङले भविष्यमा बन्ने नेपालको संविधानले “बृहतरुपमा सबै जात-जातीय समुदाय तथा संस्कृतिहरुलाई महत्वका साथ समान स्थान दिईएको हुनुपर्छ” भन्दै उक्त भेलाई सम्बोधन गरेकी थिईन् । आन्दोलनलाई सार्थक तुल्याउन स्वःस्फूर्त भेला भएका सहभागीहरुले संविधान निर्माणमा गरिएको ढिलाइप्रति “ज्याला पूरा लियौं, अब संविधान देऊ” भन्ने नाराका साथमा सहभागी भेलाले कविता, गीत तथा बुलन्द भाषणकासाथ अब समय थप भएमा साँच्चै नै सभासदहरुले ज्यालारहित काम गर्नुपर्छ भन्ने जोड दिएका थिए । उक्त भेलामा गोखार्ज डट कमकी नीना गुरुङ तथा फोटो पत्रकार मिलन तमुको पनि सहयोग तथा उपस्थिति रहेको थियो ।
फेसबुक सञ्जालमा रमाउने आजका तन्नेरी पुस्ताहरुले विद्युतीय यो सञ्जाललाई केवल साधनको रुपमा मात्रै नअप्नाएर संचारको रुपमा पनि प्रयोग गर्दै जनाइएको संविधान निर्माणका लागि यो ऐक्यबद्धताले ढिलो, चाँडो परिणाम अवश्य आउने नै छ । ती तन्नेरी अभियन्ताहरुको उत्साहलाई बधाइ !-लारा
प्रतिक्रिया