स्कटल्याण्डको अन्तर्राष्ट्रिय मेलामा नेपाली संगीत

स्कटल्याण्डको अन्तर्राष्ट्रिय मेलामा नेपाली संगीत


स्कटल्याण्ड (एबरडिन) । लायन्स क्लब इन्टरनेशनल एबरडिनले आयोजना गरेको तेश्रो अन्तर्राष्ट्रिय मेलामा नेपाली संगीत र नृत्य प्रस्तुत गरिएको थियो । एबरडिनस्थित अर्गनाइनजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयरको सक्रियतामा तीहार गीत एवम् बाँसुरी, मादल, खैंजडीको संगीत प्रस्तुत गरिएको थियो । स्कटिशका साथै स्कटल्याण्डमा रहेका अन्तर्राष्ट्रिय समुदायको उत्साहजनक सहभागिता रहेको सो मेलामा नेपाली सांस्कृतिक प्रस्तुति निकै रुचाइएको थियो ।
कार्यक्रममा जस्मिन रेग्मी, मोनिका सापकोटा, दीपशिखा उप्रेती र अनुशुया बोहोराले तीहारको भैली गीतमा आकर्षक नृत्य गरेका थिए भने “रेशम फिरीरी” को गीतमा हरिहर कँडेलले बाँसुरीवादन, गणेश घलेले मादल र अमृत बोहोराले खैंजडीको संगीत प्रस्तुत गरेका थिए । सो मेलामा भारत, बंगलादेश, आयरल्याण्ड, स्कटल्याण्ड, स्लोभाकिया, स्वीडेन, पोल्याण्ड लगायतका देशहरुको पनि सहभागिता रहेको थियो ।
उक्त मेलाको सफलताको लागि स्कटल्याण्डका प्रमुख मन्त्री (फष्ट मिनिष्टर) एलेक्स साल्मन्ड, एबरडिनका लर्ड प्रोभोस्ट पिटर जे स्टेफन लगायतले शुभकामना सन्देशसमेत पठाएका थिए ।
लायन्स क्लब एबरडिनका अध्यक्ष डेभिड एल्टनले नेपाली समुदायको प्रस्तुति निकै राम्रो भएको प्रतिक्रिया दिएकाथिए । अर्गनाइनजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयरका कार्यक्रम संयोजक सन्तोष गैरेले मेलामा नेपाली समुदायको पहिलो सहभागिता निकै उत्साहजनक रहेको तथा दर्शकहरुले मन पराइदिएको बताउँदै संस्थाले विभिन्न मेला तथा उत्सवहरुमा नेपाली संस्कृति झल्कने कार्यक्रमहरु प्रस्तुत गरिरहने उनले उल्लेख गरेकाथिए । – भाष्कर अर्याल, तस्वीरसहित