लण्डन । सन् २००२मा स्थापना भएको नेपाल फोरम ग्रिनिच (यूके)को तेश्रो अधिवेशन कोनवे रोडस्थित सेन्ट पैट्रिक हल, प्लमस्टिड, लण्डनमा हिजो सम्पन्न भएको थियो । नेपाली समाजका सामाजिक संस्थाहरुमा निकै पुरानो मानिने यस संस्थाले शुरुका दिनहरुमा केही राम्रा कार्यक्रमहरु सफलतापूर्वक गर्दै आएका कुराहरु शुरुदेखि यस क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुले बताएका छन् । तर, केही वर्षयतादेखि कार्यक्रमहरुको सञ्चालनमा शिथिलता हुँदै आएको कुरा श्याम शेरचनले आफ्नो अभिव्यक्ति दिने क्रममा व्यक्त गरेका थिए । प्लमस्टिडमा केही वर्षयतादेखि बस्दै आएका हरि (हृयारी) गुरुङलाई समेत यस समाजको अस्तित्वको बारेमा भर्खरै मात्र थाहा भएको कुरा भन्दछन् । सम्पूर्ण यस क्षेत्रमा बसोबास गरेका नेपालीहरुलाई समेटेर एउटा छाता संगठनको रुपमा यस समितिलाई विस्तृत गर्दै लैजाने समितिका अध्यक्ष राम कुमार अधिकारीले जनाएका छन् । आइतवार अपरान्ह शुरु भएको यस अधिवेशनलाई समाजका अध्यक्ष रामकुमार अधिकारीले अध्यक्षता गरेका थिए । यस अधिवेशनमा प्रमुख अतिथि र विशेष अतिथिहरुको सहभागिता थिएन ।
विभिन्न संघसंस्थाबाट अतिथिस्वरुप सहभागी भएका व्यक्तित्वहरु, समितिका पदाधिकारीहरु र सदस्यहरुलाई एक मुष्ठ यथास्थानमा आसन ग्रहण गराउँदै कार्यक्रमलाई समितिका सदस्य मनिष श्रेष्ठले सञ्चालन गरेका थिए । समितिका सचिव जीवन पाण्डेले स्वागत मन्तव्य प्रकट गरेपछि कार्यक्रमका सञ्चालक मनिष श्रेष्ठले उपस्थित सहभागीहरुबाट क्रमशः हरि गुरुङ, सुमल कुमार गुरुङ, प्रेम खड्का, श्याम शेरचन र मे.रि. मनबहादुर गुरुङलाई नेपाल ग्रिनिच फोरम (यूके)को बोरमा आ-आफ्नो धारणा व्यक्त गर्ने अनुरोध गरेका थिए । कार्यक्रमको औपचारिक कार्यक्रम समय तालिकामा चार बजेको दिए तापनि तीनबजे देखि नै सञ्चालन गरेका थिए । त्यसभन्दा पहिले केही अन्य समाजबाट आएका व्यक्तित्वहरुलाई समितिको प्रतिवेदन बाँडेका थिए । कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा बन्द सत्र हुनु आगवै अध्यक्ष मण्डलका संयोजक बासु शशि शर्माले तीनजनाको अध्यक्ष मण्डलका सदस्यहरुको परिचय दिंदै नयाँ समिति चयन गर्दा पालना गर्नपर्ने आचार संहिता वाचन गरेर सुनाएका थिए ।
चारबजे एनएचएसका प्रतिनिधिले टीबी रोगको परिचय र रोकथामबारे सानो प्रस्तुति पावरप्वोइन्टबाट गरेका थिए । कार्यक्रमको शुरुबाट नै आपसी सहमतिमा गएर नयाँ समिति गठन गर्नेबारे हलभित्र र हलबाहिर गुटबन्दी भइरहेको थियो । त्यसपछि अध्यक्ष राम कुमार अधिकारीले समितिको बारेमा विस्तृत जानकारी दिँदै समितिका सबै पदाधिकारीहरुलाई परिचय दिएका थिए । प्रतिवेदनबारे प्रकाश पारेपछि अध्यक्षले कोषको विवरण पढेर सुनाउनको लागि कोषाध्यक्षलाई आग्रह गरेका थिए । फ्लोरबाट प्रतिक्रिया स्वरुप प्रतिवेदन र कोषको रकम विवरणबारे उल्लेख गरेका केही त्रुटीहरु औल्याएका थिए । अध्यक्ष राम कुमार अधिकारीले सुमल कुमार गुरुङले औल्याएका बुँदारुलाई सच्याइने अभिव्यक्ति दिएपछि फ्लोरले प्रतिवेदन पारित गरेको थियो । यसै क्रममा विधानमा उल्लेख गरेको उपाध्यक्ष पदको धारालाई सच्याएर २ बाट ३मा थप गर्ने गरी ती ३ जनामध्येका एकजनालाई वरिष्ठ उपाध्यक्षमा नियुक्त गर्ने बुँदालाई अध्यक्षले फ्लोरबाट अनुमोदन मागेका थिए, यसलाई पनि सबैले ताली पिटेर समर्थन गरेका थिए । सहमतिमा गएर नयाँ समिति गठन गर्ने कुरा छिन् छिन्मा बद्लिंँदै यसले लामो समय लिएको थियो । यसै दौरान अध्यक्षले पुरानो समिति बिघटन गर्दै अध्यक्ष मण्डललाई नयाँ समिति चयन गर्ने जिम्मा लगाएका थिए ।
बन्द सत्रको बेलामा हलभित्र मानिसहरु खचाखच थिए । खाली समयलाई मनोरञ्जन दिलाउनका लागि स्थानीय कलाकारहरुबाट नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए । बीच-बीचमा कविता वाचन र मुक्तकहरु प्नि मञ्चबाट प्रस्तुत गरेका थिए । अध्यक्ष मण्डलका संयोजकले सहमतिमा पुग्न नसकेको देखेर हलबाहिर आएर समय नाघेको कुरा अवगत गरेका थिए । यस अधिवेशनमा २०० का हाराहारीमा मानिसहरु जम्मा भएका थिए । सहमतिमा पुग्न नसकेपछि मानौ माहौल नेपालमा चुनावको बेलामा सहमति जुटाउँदा हुने सकस जस्तै प्रतीत भइरहेको थियो । राम कुमार अधिकारी झण्डै ९ वर्षको कार्यकालपछि पनि आफै फेरि अध्यक्षको पदमा प्रत्याशी बनेका थिए भने अर्को एकजना सदस्य श्रीचन्द्र गुरुङ अध्यक्ष पदका लागि प्रत्याशी बनेका थिए । सहमति जुटाउँदै जाँदा एकपल्ट दुबैजनाले अध्यक्ष पद नलिने अर्को सदस्य श्याम कुमार शेरचन् जसले उपाध्यक्ष पदका लागि आवेदन फारम भरेका थिए, उनलाई अध्यक्ष बनाउने सहमति अध्यक्षका प्रत्याशीद्वयले जनाएका कुरा सुनियो । फेरि त्यसैबेला सहमतिको टुङ्गोमा पुग्ने बेलामा अध्यक्ष मण्डलका संयोजक बाहिर आएर श्याम शेरचनले अध्यक्ष पदको उम्मेदवारी दिएकै छैन र उम्मेदवारी दिने समय नाघिसकेको छ भनेर सूचित गरे । फेरि त्यसैबेला भ्रम फैलाउनका लागि एकजनाले त्यसै अर्को एकजना अमृत नाम गरेको व्यक्तिले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भनेर झनै मिल्न खोजेका २ जना प्रत्याशीलाई अन्योलमा पार्ने कोशिस गरियो । एकातिर चुनाव गरे आफ्नै प्यानलले जित्दछ भन्ने समूहले चुनाव गराउनुपर्छ भनेर कराउँदै गरेका पनि देखिएको थियो भने अर्को समूह चुनाव नगर्ने पक्षमा थियो । स्तम्भकारले जीवनमा कुनै सामाजिक संस्थाका लागि नेतृत्व गर्न र कार्यकारी समितिमा चयन हुनका लागि यति ठूलो सयम खर्चिएको र सहमतिका लागि खिचलो भएको कहिल्यै देखेका थिएन । निकै खिचलोपछि गोलाप्रथाबाट अध्यक्ष चयन गर्ने कुरामा दुबैजना सहमतिमा पुग्दा अध्यक्षमा निर्वाचित नहुनेलाई प्रमुख सल्लाहाकारको जिम्मा दिने कुरामा मिलेका थिए, तर, उपाध्यक्षपदका लागि फेरि तीनजनामा चार जना थिए र ५ जना सदस्यहरुका लागि सातजना प्रत्याशीहरु थिए । अन्तमा चुनाव नगरी गोलाप्रथाबाट समितिका पदाधिकारीहरु र सदस्यहरु चुन्ने कुरामा सहमत भएका थिए । निम्नलिखित समितिका नयाँ पदाधिकारीहरु र सदस्यहरु चयन निकै ढिलो गरिएको थियो । एकजना उपाध्यक्ष पदका लागि निर्वाचित नभएकी महिला प्रत्याशीले महिलाको लागि आरक्षण हुनुपर्ने जिकिर गरेकी थिईन् । यदि चुनाव गरिएको भए अबेर रातिसम्म पनि प्रक्रिया समाप्त हुने थिएन ।
राम कुमार अधिकारी – अध्यक्ष
श्री चन्द्र गुरुङ – प्रमुख सल्लाहाकार
विनोद ज्ञवाली – उपाध्यक्ष
श्याम शेरचन – उपाध्यक्ष
भीषन थापा – उपाध्याक्ष
कमला थापा – सल्लाहाकार
प्रेमबहादुर थापा – सचिव -निर्विरोध
जीवन पाण्डे – सहसचिव -निर्विरोध
पुन्य रेग्मी – कोषाध्यक्ष -निर्विरोध
दीपक कुमार श्रेष्ठ – सहकोषाध्यक्ष -निर्विरोध
निर्वाचित सदस्यहरु
हरि आचार्य, मिलन कुमार जोशी, सुशील कुमार गुप्त, ललित कुमार न्यौपाने र राजकुमार कटुवाल ।
निर्वाचन कार्यक्रम समापन गरी अध्यक्ष मण्डलका संयोजक बासु शशी शर्माले नयाँ समितिलाई शपथ ग्रहण गराएका थिए । त्यसपछि नवनिर्वाचित अध्यक्षद्वारा अधिवेशन समापन गरिएको थियो । सुमल, मेस ।
प्रतिक्रिया