तमू प्ये ल्हु संघको समर भेटघाट

तमू प्ये ल्हु संघको समर भेटघाट


फार्नबरो । गत ०४ जुन, शनिबारको दिनमा ओक फार्म कम्युनिटि हलको खुल्ला प्राङ्गणमा तमू प्ये ल्हु संघ यूकेको समर बीबीक्यू तथा भेटघाट-२०११ भव्य रुपमा सम्पन्न भयो । कार्यक्रमलाई थप मनोराजनात्मक बनाउन विभिन्न रमाइलो खेल तथा नृत्यहरु प्रस्तुत गरिएको थियो भने भेटघाट कार्यक्रमलाई संस्मरणीय बनाउन राफल ड्र समेत समावेश गरिएको थियो ।
तमू प्ये ल्हु संघ यूकेले बेलायतमा तमू जातिको पहिचान, जातिय कुलधर्म, संस्कार, सँस्कृति, परम्परा, भाषा, भेषभुषा तथा यज्ञहरुको संरक्षण सम्बर्धन तथा प्रवर्तन एवं प्रचार-प्रसार गराउन हरेक बर्ष झैं यस पटक पनि तमू परम्परागत पार्क प्रे त्हेँ, क्ष्योप त्हेँ र थाँसो त्हेँ गरी तीन प्रकारको पूजापाठ गरी कुल धार्मिक यज्ञ सम्पन्न गराइएको थियो । जसमा तमू खेगीहरु यारजङ क्रोम्छे, ईन्द्र ल्हेँग, देव गरब्ज, जीत क्रोम्छे, कृष्ण ल्हेँगे, मन प्रसाद क्रोम्छे, बुद्धिमान कुप्छे र अमृत ङोप्छे अनि क्ल्हेप्री खेगीहरु मौदसिङ म्होब्छे, हिरा म्होब्छे र सागर म्होब्छे यज्ञ सम्पन्न गराउन शरिक थिए।
वायुमण्डल अर्थात जलवायुको सन्तुलन र ग्रहदशा कटाउने तथा शुभलाभ, समृद्धी एवं शान्तिको लागि पार्क प्रे त्हेँ गरिएको थियो भने कुनै संकट तथा प्रकोपबाट जोगाई सुरक्षित रहन क्ष्योप त्हेँ सम्पन्न गरिएको थियो साथै नराम्रो ग्रहदशा तथा दुषित तत्वहरु पार लगाई शुद्धिकरणको लागि थाँसो त्हेँ गरिएको थियो । तमू प्ये ल्हु संघ यूकेले हरेक बर्ष समर भेटघाटको अवसरमा सबैलाई भेला गराई सामूहिक हितको लागि यस्तो यज्ञहरु सम्पन्न गराउँदै आएकोछ भने सो कार्यक्रममा सहभागी हुने सबैलाई उक्त त्हेँ (यज्ञ)ले रक्षा अर्थात लाभ गर्ने विश्वास रहेकोले कार्यक्रममा विशाल जनसहभागिता रहेको पाइन्छ । यस पटक पनि करीब एक हजारभन्दा बढी जनसहभागिता रहेको थियो भने पूजामा भक्तजनहरुले फूल तथा फलफूल चढाएका थिए ।
कार्यक्रमलाई सफल बनाउन कार्यगत रुपमा समूह विभाजन गरी जिम्मेवारी बाँडफाँड गरिएको थियो । जसमा टिकट बिक्रीतर्फ कोषाध्यक्ष धर्म कुप्छे, पाहुना रेखदेखतर्फ प्रमुख सल्लाहकार क्या डेम बहादुर योज, हेल्थ एण्ड सेफ्टी र सेक्युरिटितर्फ उपाध्यक्ष क्या फत्त बहादुर प्ल्हेँ, खाना तथा अन्य ब्यवस्थापनतर्फ गीर बहादुर लई, रमाईलो खेलतर्फ युवा समिति, राफल ड्रतर्फ उपाध्यक्ष नर बहादुर टु, परम्परागत धार्मिक पूजातर्फ आईत त्होर्जे, भिडियो तथा फोटोतर्फ नेत्र टु, विविध स्मारिका बिक्रीतर्फ रामकाजी त्होर्जे, सदस्यता दर्तातर्फ जौबहादुर प्ल्हेँ, प्ये संकलन लेखन योजनाको सहयोगार्थ आर्थिक सहयोग संकलनतर्फ निवर्तमान अध्यक्ष जगत प्हच्यु र अतिरिक्त सहयोगतर्फ आमा टोलीको समूह सकृय रहेको थियो ।
भेटघाट कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन विभिन्न खेलहरु खेलाइएको थियो जसमा आकर्षक पुरस्कारहरुको व्यवस्था समेत गरिएको थियो । विभिन्न रमाइलो खेलहरुमध्येमा बच्चाहरुको लागि बेलुन बुस्टर खेल पनि समावेश गरिएको थियो जसको पुरस्कार तमू प्ये ल्हु संघ यूके युवा समितिले प्रायोजन गरेको थियो भने वयस्कहरुको लागि खेलाइएको जाली रुमाल दौडको पुरस्कार सल्लाहकार क्या। देवराज ङोप्छे तमुले प्रायोजन गर्नु भएको थियो भने चार खुट्टे दौड र सियोधागो दौडको पुरस्कार योगेन्द्र क्षेत्रीले प्रयोजन गरेकाथिए। जाली रुमाल दौडमा कृष्ण ल्होँ र ओम कुमारी प्हच्युको जोडी प्रथम भएको थियो भने सुचित्र र अस्मिताको जोडी दोश्रो र बीर र राममायाको जोडी तेश्रो भएको थियो । चारखुट्टे दौडमा दिप्सोन, सम्बिद, रोनिकको समूह प्रथम, ममता, सोनु, सुचित्रको समूह दोश्रो र धनरुपा, मुना, नमिताको समूह तेश्रो भएको थियो भने सियोधागो दौडमा सुरेन-चन्द्र जोडी प्रथम, सोवित-अम्बिका जोडी दोश्रो र सन्दिप-एलिना जोडी तेश्रो भएको थियो । विजयी समूहलाई प्रायोजकहरुको बाहुलीबाट पुरस्कार बितरण गरिएको थियो भने प्रायोजकहरुलाई संघको अध्यक्षले धन्यवादसहित पुष्पगुच्छाले सम्मान गरेकाथिए।
कार्यक्रममा डाँडागाँउले समाजले कौडा नृत्य प्रस्तुत गरेको थियो भने नृत्यकार सिता तमू र भान्जीहरुको समूहले विभिन्न रमाईलो नृत्य प्रस्तुत गरेको थियो साथै डिजे म्युजिकमा सबैजना अन्तिम समयसम्म रमाएको थियो । कार्यक्रमको विभिन्न विधामध्ये राफल ड्र सबैभन्दा आकर्षक रहेको थियो । यो हुनु राफल ड्रमा रहेको आकार्षक तथा उच्चस्तरिय पुरस्कारको कारण थियो । राफल ड्रमा पहिलो पुरस्कार ३२ ईन्चको एलसिडी टिभी, दोश्रो पुरस्कार ल्यापटप कम्प्युटर, तेश्रो पुरस्कार डिजिटल क्यामेरा, चौथो पुरस्कार ह्याण्ड क्यारी ९सुटकेस०, पाँचौ पुरस्कार बेबी साइकल, छैटौँ पुरस्कार टोस्टर, सातौँ पुरस्कार कोरियन सुईटर र आठौँ पुरस्कार क्याटल (जग) रहेको थियो भने उक्त पुरस्कार क्रमशः रारा नेपाली रेष्टोरेन्ट, गोर्खाज् सर्भिङ मेम्बरहरु, सल्लाहकार मेजर खुशीमान ल्हेँगे तमू, प्रमुख सल्लाहकार क्या डेम बहादुर योज तमू, क्या। बीर बहादुर थिम्चे तमू, सल्लाहकार क्या। बुद्धी कुमार पर्जु तमू, उत्तम टु तमू (कोशेली ईन्टरप्राईजेज्) र उपाध्यक्ष नर बहादुर टु तमूले प्रायोजन गरेकाथिए ।
राफल ड्रको पुरस्कार पनि प्रायोजकबाट प्रदान गरिएको थियो भने अनुपस्थित प्रायोजकको पुरस्कार संघको अध्यक्ष सोम त्होर्जे तमूको बाहुलीबाट बितरण गरिएको थियो साथै प्रायोजकहरुलाई धन्यवादसहित पुष्पगुच्छाले सम्मान गरिएको थियो । राफल ड्रमा भाग्यशाली चिट्ठा नम्बर ६८८, ३२, १८५, ४०, ८६०, ५१, ९७ र ९६ ले क्रमशः पहिलो, दोश्रो, तेश्रो, चौथो, पाँचौ, छैटौँ, सातौँ र आठौँ पुस्कार हात पारेको थियो भने विजेताहरुलाई संघले बधाई दिएको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्थाहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो भने बिएफबिएस गोर्खा रेडियोका स्टेशन म्यानेजर खेम तमू तथा बिएफबिएस परिवार, एनआरएन युकेका अध्यक्ष सूर्य तमू, गेसोका अध्यक्ष पदम बहादुर टु तमू, तमू धिं यूकेका अध्यक्ष मुक्षेत्र लेम तमू, तमू समाज केन्टका अध्यक्ष चित्र कोन तमू, गोर्खा तमू समाजका उपाध्यक्ष फडकजीत तमू, भुमरकोट समाजका अध्यक्ष जंग बहादुर तमू, क्याम्ब्रिज युनिभर्सिटीका डा। ओल्गा उतुरगासेभा र साथीहरु, अक्स्फोर्ड युनिभर्सिटीका डा सोन्द्रा हाउस्नर र फ्लोरेन्स गुरुङ कार्यक्रममा उपस्थित थिए। औपचारिक कार्यक्रम समावेश नगरिएको भए तापनि भाग्यवश कार्यक्रममा उपस्थित हुनु भएको तमू प्ये ल्हु हंगकंगका प्रमुख सल्लाहकार बिजय त्होर्जे तमू र तमू प्ये ल्हु संघ केन्द्रिय आमा समूहका अध्यक्ष तथा तमू ह्युला छोँज धिँका कास्की प्रतिनिधिलाई संघको अध्यक्ष सोम त्होर्जे तमूले दोसल्ला र पुष्पगुच्छाले स्वागत गरेकाथिए ।
कार्यक्रममा पच्यु पैंडी चिवा यारजङ क्रोम्छे तमूले संघलाई च्यारिटीस्वरुप प्रदान गरेका चारवटा स्पेशल वोन पोष्टर अप्शन प्राइजमा बिक्री गरिएको थियो भने प्ये संकलन तथा लेखन योजनाको सहयोगार्थ आर्थिक संकलन गरिएको थियो । जसमा हालसम्म एक सय पाउण्डभन्दा माथिको सहयोग रकम प्रदान गर्ने दाताहरुको नाम बाचन गरी सुनाइएको थियो भने एक बहादुर ल्हेँगे तमुले ५०१ पाउण्ड, क्या डेम बहादुर योज तमूले ११११ पाउण्ड, देवीसब्बा त्हार तमूले ५०० पाउण्ड, टौँ ह्ये तमू समाजका सचिव ले। लाल बहादुर मैंन तमूले ११०१ पाउण्ड, आइत बहादुर त्होर्जे तमूले ५०० पाउण्ड, श्रीमती पार्वती पर्जु तमूले ५०१ पाउण्ड, श्रीमती बबिता प्हच्यु तमूले ५०१ पाउण्ड र क्या। गुप्त बहादुर ल्होँ तमूले ८०० पाउण्ड आर्थिक अनुदान कार्यक्रम स्थलमा नै उपलब्ध गराएकाथिए ।-समाचार :भेग च्हाक्ली तमु