यूरोप भ्रमणका रमाइला अनुभूति….(भाग ६)

यूरोप भ्रमणका रमाइला अनुभूति….(भाग ६)


हामीले बर्गन्दीको वाइन फ्याक्टरीको इतिहास, अङगुरका भाइनयार्डहरु -बगानहरु), फ्याक्टरीभित्रका वाइन प्रशोधन गर्ने मेशिनहरु, वाइन बनिसकेपछि भण्डार गरेर ब्लेण्ड गर्ने ठाउँ र अन्तमा विभिन्न वाइनहरु चाखेर एउटा नयाँ अनुभूति मनमा लिएर कोच भएको ठाउँतर्फ फर्क्यौं । यी विकसित राष्ट्रहरुमा प्रत्येक व्यवसायमा पेशागत ज्ञान रहनुको साथसाथै आफ्नो पेशाप्रति इमान्दिारिता दर्शाएर नै सफल भएका होलान् भन्ने अनुभूति वाइन फ्याक्टरी हेरेपछि मलाई लागिरहेको थियो । भ्रमण टोलीका सबै साथीहरु कोचभित्र पसिसकेका थिए । गाइड भन्दै थिईन …अब धेरै टाढा छैन मेकोन शहर.. हामी साढे पाँचबजेतिर पुग्नेछौ र साँझ हाम्रो होटलमा सामुहिक डिनर हुनेछ..। सबैले केही न केही फ्याक्टरीबाट वाइन किनेका थिए । हामीमध्ये एकजना ग्यारी नाम गरेका ब्रिटिश नागरिकले फिलिपिनो केटी विवाह गरेका रहेछन् । बेलाबेलामा भ्रमण टोलीका साथीहरुलाई केही न केही कुरा भनेर हसाउँथे । आज हाम्रो परिचय दिने कार्यक्रम रहेको थियो । एकले अर्कालाई सोधपुछ गरेर चिनजान गरिए पनि औपचारिक रुपमा सामूहिक परिचयभने भएको थिएन । भ्रमण टोलीमा २ जना ड्राइभर र एकजना गाइडलाई छाडेर हामी ३४ जना थियौ । बर्गन्दीबाट मेकोनतर्फ गइरहेको बेलामा सबैलाई आ-आफ्नो परिचय दिनकालागि अघिल्तिर समीले कोचमा जडान गरेको माइकमा आएर बोल्नकालागि अनुरोध गरिन् । सबैभन्दा पहिले अघिल्लो सिटमा बसेका भ्रमण टोलीको समूहबाट शुरु भयो । यो परिचय दिने क्रम निकै नै रोचक रहेको थियो । हामी तेश्रोदिनमा मात्र औपचारिक तरिकाले एकले अर्कालाई चिन्ने अवसर प्राप्त गरेका थियौं ।
सबैभन्दा पहिले टर्कीका २ जना युवतीहरुले परिचय दिएकिथिईन् । यहाँ मैले सबैको नाम, विवरण लेख्नथाले संस्मरणले बृहतरुप लिनेछ त्यसकारण छोटकरीमा देशहरुको नाम र संख्यामात्र सम्प्रेषन गर्दै छु । यी २ जना युवतीहरु २२, २३ वर्षकी हुँदो हो । लण्डनमा पढ्न आएको बेलामा पढाइ पूरा गरेर स्वदेश फिर्ती हुनुअघि १२ दिने युरोप भ्रमणमा आएका रहेछन् । त्यसपछि एकजना अमेरिकी व्यक्ति र थाई महिलाको जोडीले परिचय दिएका थिए । उनीहरु दुबै पतिपत्नी युनिभर्सिटीका लेक्चररहरु थिए । अर्को चारजनाको बलियो समूह ६० नाघेका सेवानिवृत्त भएका महिलाहरु थाइल्याण्डबाट नै आएका थिए । आ-आफ्नो परिचय दिँदा गाउँ र पेशाको बारेमा पनि भन्दै थिए । त्यसपछि बेलायतका २ जोडी थिए र एकजनाचाँहि तिनीहरुमध्येका भाइ थिए । वेल्शबाट आएका एकजोडी थिए । उनीहरु विदामा छुट्टी मनाउन आएका थिए । अमेरिकाबाट आएका एकजोडी प्रत्येकवर्ष यसरी नै कुनै न कुनै क्षेत्रहरु घुम्दारहेछन् । त्यसपछि मैले र मेरी बुरियाले परिचय दिएका थियौं । मैले परिचय दिने क्रममा बुद्धको बारेमा, सगरमाथा र गोर्खालीको बारेमा भनेको थिएँ । कैयौंलाई भ्रमित गर्ने भारतमा बुद्ध जन्मिएका थिए भन्ने कुरा मैले प्रष्ट पार्नलाई बुद्ध नेपालमा जन्मेका थिए भनेर जोड दिएर भन्दा थाइल्याण्डका महिलाहरुले जोडले ताली बजाएर मेरो हौसला बुलन्द गरेका थिए । यस्तै न्यूजिल्याण्डका एकजना, साउथ अफि्रकाका सबैभन्दा बूढो जोडी (पति ८२ वर्ष र पत्नी ७१ बर्षकी, २ वर्ष अघिमात्र विवाह गरेका), कोलम्बियाका एकजना, अस्ट्रेलियाका एकजना, सिंगापुरका ३ जना, मलायसियाका ४ जना र थाइल्याण्डका लण्डन र न्यू क्याशलमा पढ्न आएका ३ जना युवतीहरु गरी १३ राष्ट्रका ३४जना भ्रमण टोलीका साथीहरुले परिचय दिएका थिए । यसरी परिचय दिइसकेपछि टर्कीका युवतीहरुले आफूहरुले ल्याएका टर्की गीतको क्यासेट लगाएर बजाउन समीलाई दिईन् । आधुनिक टर्की गीतको धुनमा ती दुबैजना युवतीहरु नाच्न थाले साथै त्यहाँ छेउछाउमा बसेका साथीहरुलाई समेत तानेर नाच्न लगाए । समथल भूमिमा बाटो सीधा धागो तानेको जस्तो फराकिलो रहेकोले गाडीभित्र रमाइलो गर्दै गीतमा झुम्दै नाच्ने क्रममा हाम्रो गन्तव्य छोटिइँदै थियो । माहौल एकदमै रमाइलो भयो ।
अहिले हामी बर्गन्दीको अन्तिम सिमानामा पर्ने मेकोन शहरतर्फ नजिकिँदै थियो । यो शहर उपत्यका जस्तो ठाउँमा रोन नदीको किनारामा बसेको रहेछ । मनमोहक उपत्यकाको शपिङ सेन्टरका ठूलठूला दोकान र कारपार्क भएको क्षेत्रतर्फ गाडी गुडिरहेको बेलामा समी खुशी हुँदै… लौ हाम्रो गन्तव्य आइपुग्यो… भनिन् । हाम्रो कोच अहिले इबीस होटल, मेकोनको अघि टक्क अडियो । सफा मौसम, घाम ढलेको थिएन हामी यस्तै पाँचबज्नु अघि नै मेकोन पुगेका थियौ । छिटो छिटो आ-आफ्नो सुट्केश, झोलाहरु लिएर होटलमा पुग्यौ । होटल चिटिक्क परेको तीनतारे होटल रहेछ । कोठाहरु सफा र ठूलठूला थिए । हामीलाई ग्राउण्डफ्लोरको २१ नम्बरको कोठाको चाबी समीले दिईन् । आफ्नो समानहरु लिएर हामी दुबैजना कोठामा पुग्यौं । केहीबेर विश्राम गरेपछि दुबैजनाले समानहरु मिलाएर स्नान गरेर निवृत्त भयौ । यतिबेला भर्खरै ६ बजेको थियो वातावरण उज्यालो नै थियो । हामी तैयार भएर बाहिर केहीछिन् घुम्ने विचारले होटलबाट निस्क्यौं । मन्द मन्द हावा चलिरहेको थियो । सूर्यले पश्चिमको क्षितिज चुम्न आँटेको थियो । हामी यस्तै आधा किलोमिटरजति पर आयौं । चारैतिर शपिङ सेन्टरका भवनहरु थिए, तर, ती सबै शपिङ सेन्टरहरु बन्द थिए । सायद आइतवार भएकोले होला । युरोपमा प्रायसबै ठाउँहरुमा आइतवारको दिनमा ठुला शपिङ सेन्टरहरु बन्द रहन्छन् । टाढाटाढासम्म शपिङ सेन्टरहरु र शहरका एकनासे घरहरु देखिन्थे । यहाँ अग्लो भवनहरु थिएनन् । बुरिया भन्दै थिईन्…. जाउँ बुरा अब ढिलो होला… मैले फोटोहरु र भीडीयोमा केही दृश्यहरु रेकर्ड गरें र अघि बढ्दै होटलतर्फ आयौं । त्यतिबेला घाम डुब्दै गरेको मनमोहक दृष्या देखे । सूर्यको अन्तिम किरणको लालीमाले आकाश सिन्दुरी भएको देखे । डुब्दै गरेको अन्तिम किरणलाई फोटो खिच्ने इच्छा जाग्यो र बुरियालाई हतार हतार उभिन लगाएँ र मैले एउटा स्न्याप फोटो लिएँ । त्यो फोटो नै मेकोनमा खिंचेको त्यस दिनको अन्तिम फोटो थियो । हामी आफ्नो कोठामा आयौ र केहीबेर बस्यौं कारण डिनरको समय साढे सातबजे तोकिएको थियो । होटलमा टीभी हर्ेदै केहीसमय बिताएँ । त्यसैबेला बुरियाले छोराछोरीलाई इमेल पठाउने कुरा गरिन् । हामीलाई सबै होटलहरुमा टेलिफोन र इमेलको सुविधा प्राप्त थियो । फोनबाट विदेश कल गर्दा बढी पैसा खर्च हुने हुनाले बढी मैले इमेलबाट आफ्नो बारेमा खबर पठाउने गरेको थिएँ । उसरी आफ्नो मोबाइल फोनमा भ्रमणका लागि रोमिङकल पनि मिलाएको थिएँ । यो अलि महँगो थियो । शान्त ठाउँमा शहरबाट निकै परको यो राजमार्ग छेउको होटलमा हामीले एकरात बिताउनु थियो । यो इबिस होटलको शाखाहरु इूरोपका निकै शहरहरुमा रहेछन् । भेनेशियामा पनि हामी इबिस होटलमा नै बसेका थियौ ।
आफ्नो इमेल चेक गरेपछि बच्चाहरुलाई इमेल गरे । छोरीले हाम्रो भ्रमणतालिकाबारे थाहा पाएकीले गर्दा बर्गन्दीको बारेमा सोधेकी थिईन् । हाम्रो भ्रमणमा हामीभन्दा बच्चाहरु बढी रोमाञ्चित थिए । इमेलको काम सकेपछि अहिले हामी डिनर हलतिर लाग्यौं । लगभग सबैजना आइसकेका थिए । डिनरको कोर्स शुरु भइसकेको रहेछ । ब्रिटिश नागरिक साथी ग्यारीको दम्पति र हामी एउटै टेबलमा थियौं । ग्यारीले अघि दिउँसो बर्गन्दीमा किनेको वाइन् फोडेर मलाई दिन थाल्यो, तर, मैले वाइन लिनलाई मनाह गरेँ । हाँसो गर्दै… गोर्खाले वाइन नपिउने कुरा नै हुन्न भनेर कर गर्दै थियो, तर, मैले माफ माग्दै टालेँ । हामीले जूस लियौँ । हिजो बुरियाको व्रत भएकोले फलफूलमात्र खाएकी थिईन्, तर, आजचाँहि दिनभरि खानाहरु खाइरहेकी थिईन् । आजको डिनर राम्रो थियो, तर, बेलुकि भात खानेबानी लागेका मान्छेलाई माँसु भातको स्वादको सम्झनाचाँहि आउने नै भयो । हाँसो गर्दै हामी डिनरमा रमाएका थियौं । कहिल्यै नचिनेका नदेखेका साथीहरु विस्तारै एउटै परिवारको झै प्रतीत हुन थालेको थियो । बेलुकि राति साढेआठ बजेतिर रात्रिभोज पछि हामी आफ्नो कोठातर्फ लाग्यौं । समीले भोलि बिहान साढे सातबजेभित्र ब्रेकफास्ट खाएर स्विट्जरल्याण्डका लागि तयार भएर बस्ने कुरा भनिन् । खाना खाएपछि हामी केहीसमय बाहिर डुल्न निस्क्यौं । मेकोन शहरको रंगीविरंगी बत्तीहरु टाढा क्षितिजसम्म झिलमिलाउँदै गरेको दृश्य अति मोहक थियो । बाहिर त्यति जाडो थिएन, केहीबेर यस्तै एक किलोमीटरजति पैदल हिंडेपछि फेरि होटलतर्फ फक्र्यौ ।
सवा नौ बज्दै थियो । मैले टीभी खोलेँ । फ्रान्सेली भाषाका धेरै च्यानलहरुमात्र देखे, तर, अंग्रेजीको च्यानल पाउन गाह्रो भयो । पछि मुश्किलले सीएनएनको च्यानलबाट समाचार सम्प्रेषन गर्दै गरेको हेरेँ । प्रत्येक देशमा आ-आफ्नै भाषाको च्यानलहरु बढी हुन्छन् । सञ्चार जगतमा पनि फ्रान्सले निकै नै फड्को मारेको अनुभूति भयो । बुरिया कपडा फेरेर आराम गर्छु भन्दै ढल्किन् । म केहीबेर टीभी हेरेर नोटबुकमा दिनको विवरणहरुको टिपोट गरेँ अनि दश बजेतिर विस्तरामा गएँ । बुरियाले सोध्दै थिईन् … भोलि स्विट्जरल्याण्डमा कतिको जाडो होला बुरा – … मैले भने ..अहिले पनि हिउँले ढाकेको छ… भोलिको न्यानो कपडाहरु निकाल्न भुलेछ… भन्दै फेरि हामी दुबैजनाले सुट्केशबाट आ-आफ्नो कपडाहरु निकालेर तयार गरेर राख्यौं र मस्त नींदमा सुत्यौं । अत्यन्त शान्त कुनै किसीमको हल्ला छैन, सुनसान् तारेहोटलको कोठाभित्रको न्यानो वातावरणमा हामी दुबै मीठो नींदमा सपनाको संसारमा चहारिरहेका थियौ । बिहानको सूर्यको किरणसँगै साढे ६ बजेको मोबाइल फोनको घण्टीसँगै हामी उठ्यौं । पर्दाको कापबाट सूर्यको सुनौलो किरणको आभा देखें । मन पुलकित भएर खुशी लाग्यो । आज हामी स्विट्जरल्याण्ड जाँदैछौ मौसम सफा भएकोमा खुशी लागेका थियो । हामीले आफ्नो नित्यकर्म सकेपछि आ-आफ्नो सुट्केश, झोला र क्यामेराहरु बोकेर होटलको ब्रेकफास्टहलतिर गयौं । अघि नै भ्रमण टोलीका साथीहरु धेरैजसो ब्रेकफास्टमा बसिसकेका थिए । सबै रमाइरहेका थिए, बिहानको शुभकामना साटासाट गरेर हामी पनि ब्रेकफास्ट (कन्टिनेन्टल) लिएर एउटा टेबलमा बस्यौं । बुरिया भन्दै थिईन् … बुरा अघाउन्जेल खानुहोला. भरे कतिबेला हो कुन्नि लन्च ? ब्रेकफास्टमा आफुलाई जे मनपर्‍यो त्यही अघाउन्जेल खाएँ । मलाई डिनरभन्दा यूरोपेलीहरुको गतिलो ब्रेकफास्ट मनपर्‍यो । सबै ठाउँमा प्राय एकैनासे ब्रेकफास्टहरु पस्किएका थिए । एक थर्मस तातो पानी यात्राका लागि भरेर हामी आफ्नो कोचतर्फ लाग्यौं । सधैझैं कोठाको चाबी गाइडलाई बुझायौं । सबैजना बिहानको न्यानो घामको अघि कोचभित्र जानलाई पर्खिरहेका थिए । समीले सबै चाबीहरु बुझाएर हामी भएकोमा आएर … हाय गाइज् टूडे यु आर गोइङ टु मोस्ट एक्स्पेन्सिभ कन्ट्री अफ द वल्र्ड…-आज तपाई संसारको सबैभन्दा महँगो देशमा जाँदै हुनुहुन्छ) भनेर सानो ब्रिफिङ गरिन् । सबैले ताली बजाएर स्वागत गर्दै हामी कोचभित्र चढ्यौं । २ जना ड्राइभरहरु अघि नै गाडीभित्र पसीसकेका थिए तथा गाडीको इन्जन चालु राखेर हामीलाई पर्खेर बसेका थिए । हामी सबैकुरा भुलेर नयाँ ठाउँहरुको अवलोकन गर्न हिँडिरहेका थियौं । गाडीले विस्तारै इबिस होटलको परिसर छोडेर मूलसडक नाघ्न थाल्यो । हामी मेकोन शहर हुँदै रोन् नदीलाई दाहिने पार्दै स्विट्जरल्याण्डतर्फ बढिरहेका थियौं । संझनाका बरातहरु मस्तिष्कभरि राख्दै यूरोप भ्रमणको आज चौंथो दिनमा हामी भ्रमणदलका साथीहरुसँग झ्याम्मिइसकेका थियौँ । हामीसँग सिंगापुरका तथा मलायसियाबाट आएका चाइनिजसाथीहरुले धेरै कुराकानी गर्न थालेका थिए । बुरियाको धारावाहिक क्यान्टोनिज भाषाबाट उनीहरु प्रभावित भएका थिए । आजलाई यहीँसम्म…. फेरि अर्को श्रृंखलामा भेटौंला ।