नेपाल पर्यटन बर्ष-२०११ चीनमा

नेपाल पर्यटन बर्ष-२०११ चीनमा


हंगकंग । गत २९ मे २०११ का दिन चीनको झुहाई शहरको ओक्स्फोर्ड स्ट्रिटमा नेपाली मेला भब्य रुपमा सम्पन्न भएको छ । नेपाल सरकारको आह्वानअनुसार नेपाल पर्यटन बर्ष-२०११ को प्रबर्द्धन गर्ने उद्देश्यले हंगकंगका कलाकारहरु हरि श्रेष्ठ र चेतमान गुरुङको बिशेष सक्रियतामा सो कार्यक्रमको आयोजना गरिएको थियो । चिनका लागि नेपाली राजदूत टंक प्रसाद कार्कीले चीनको प्रचलित बाजा ढोल बजाएर उदघाटन गरिएको कार्यक्रममा हंगकंगका महा-वाणिज्यदूत बिनोद कुमार उपाध्यायलगायत TPR का संस्थापक सिमोन झू, जुली चेंग, पेट्रिकका साथै स्थानीय शहरका मेयर अनि थुप्रै अन्य बिशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको दोश्रो चरणमा हंगकंगका कलाकारहरु गायक चेतमान गुरुङ र तबला बादक हरि श्रेष्ठका साथै देवी थापा, मोहन बिक, कृष्ण भक्त महर्जन, तर्जुना थापा, धिरज लिम्बू अनि रीता गुरुङले नेपालको राष्ट्रिय गान ‘सयौ थुंगा फूलका हामी’ देखि शुरु गरेर अन्य नेपाली गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । उक्त मेलामा गीत तथा नृत्यहरुका साथै नेपाली खाना, अनि नेपालमा उत्पादन भएका सामानहरुको बिक्री तथा प्रदर्शन गरिएको थियो । नेपाली पहिरन, नेपाली सामानका साथै चारैतिर नेपालको झन्डाहरु फहराइरहेको अनि मेलामा आएका थुप्रै चिनियाँहरु हातमा नेपालको झन्डा लिएर गालामा नेपालकै झन्डा रंगाएर ढाका टोपी ढल्काएर नेपाली गीत र नृत्यहरुमा स्टेजमा गएर रमाउदै नाच्दा त्यो ठाउँ चीन नभएर नेपालको कुनै एक शहर नै हो कि भन्ने भान पर्दथ्यो ।
मे २८ र २९ दुर्इ दिनसम्म चलेको उक्त मेला भब्य रुपमा सफल बनाउन हंगकंग जस्तो ब्यस्त शहरमा रहेर आफ्नो कार्य व्यस्तताको बाबजूद पनि मातृभूमिको परिचय अन्य मुलुकका व्यक्तिहरुलाई गराउने जुन योगदान गायक चेतमान गुरुङ र तबला बादक हरि श्रेष्ठले गरे त्यो अति नै प्रशंसनीय हुनुका साथै अनुकरणीय थियो । सो कार्यक्रममा हंगकंगबाट हंगकंग नेपाली महासंघ,हिन्स,ए-वन सुपर मार्केट,नेपाल फेन्सी इम्पोरियम,नेवार समाज,भेटघाट इन्टरप्राइजेज, जेम्स म्यूजिक ग्रुप आदिको उल्लेखनीय सहभागिता थियो ।-चेत, हंगकंग तस्वीरसहित