जुन्रे वालाविङ संसारकै पुड्केमान्छे

जुन्रे वालाविङ संसारकै पुड्केमान्छे


लण्डन । फिलिपिनो जुन्रे वालाविङ आजदेखि संसारकै सबैभन्दा पुड्को अर्थात् होँचो मान्छेमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता भएका छन् । आजैको मितिदेखि जुन्रे वालाविङ १८ वर्षमा प्रवेश गरेका छन् ।
२३.५ इन्च (६० सेन्टिमीटर) का जुन्रे वालाविङ, हिजोसम्म संसारका होँचा व्यक्तिमा रेकर्डमा रहेका नेपालका खगेन्द्र थापामगरभन्दा ७ सेन्टिमीटर होँचा छन् । फिलिपिन्सको सिन्डागान नामको सानो गाउँमा सयौं गाउँलेहरु, पत्रकारहरु अनि गिनिज बुक अफ वर्ल्ड रेकर्डका कर्मचारीहरु भेला भएर आधिकारिक रुपमा जुन्रे वालाविङको उचाइको नाप लिएका थिए । ६० सेन्टिमीटर उचाइलाई नयाँ रेकर्डको रुपमा दर्ता गर्नासाथ त्यहाँ उपस्थित भएका भीडले जुन्रे वालाविङको जयजयकारका साथ हर्षोल्लासमा बेलूनहरु आकाशमा उडाएका थिए । र उपस्थित सबैले केक तथा मिठाइँहरु खाएर खुशियाली मनाएका थिए ।
गिनेज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधि क्रेग ग्लेडेले जुन्रे वालाविङलाई संसारको सबैभन्दा होँचा वयस्क व्यक्तिको उपाधि प्रधान गरेका थिए । जुन्रे वालाविङको घुँडामा भएको रोगको कारणले गर्दा उनी राम्ररी उभिन पनि सक्दैनन्, त्यसैलाई मध्यनजर गरेर क्रेगले आफ्नो सानो मन्तव्यमा…अन्तर्राष्ट्रिय प्रसिद्धीले गर्दा जुन्रे वालाविङलाई नामका साथै विविध उपहारहरु अनि रकमहरु पनि प्राप्त होस्, र त्यसैको आडमा उनको उपचार होस्… भन्ने कामना गरेका थिए । फलामका औजार बनाउने काम गर्ने गरीव परिवारका जन्म लिएका जुन्रे वालाविङलाई ४५० माइल टाढा रहेको मनिलाबाट शुभकामनाहरु पठाइएको छ ।
नीर, श्रोतः नेट