हे राजधानी ! समय खित्का छाडेर हाँसेकी छिन्

हे राजधानी ! समय खित्का छाडेर हाँसेकी छिन्


-सुमल कुमार गुरुङ,
हे राजधानी !
समय हाँस्छिन् किन खित्का छाड्दै ?
जब-जब लुगा फेर्छ्यौ तिमी !
तिम्रो च्यात्तिएको लुगाभित्र
केही लुकेको छैन
जंगबहादुरको कोतपर्व
०७ साल बनेर उदाउँदा
खोक्रिएर बूढो भैसकेकी तिमी
पुनः लुगा फेर्छ्यौ अनि बन्छ्यौ
भर्भराउँदी १७ सालकी युवती
फेरि समय हाँस्छिन् एकपटक
प्रजातन्त्रमाथिको राजतन्त्र बनेर ।
हे राजधानी !
समयको डोब बन्दै
फक्रेर आयौ ३६ बोकेर,
कान्तिको पुरभित्र बज्न थाल्यो ढ्याङ्ग्रो
हल्लाउँदै नारायणहिटी,
चोला फेर्ने धोको लिएर ।
अनि,
प्रजातन्त्रको नयाँ चित्कार
ब्युँझाउदै गाउँ-टोल बज्न थाल्यो घण्टी नयाँ आवाज,
शहर, सारा देश शंखनाद गुँजियो
उठ्यो नयाँ नेपालको नयाँ जनलहर,
तिम्रो वक्षमाथि सडक सडक भएर
लहर लहरको रंगी विरंगी झण्डाहरु
हावाको वेगमा ओइरिए जनताका आशाहरु ।

३६ सालमा छाडेको उफान
४६ सालको जन आँधी बन्दै
अघि लाउँदै लोकतन्त्र
फेर्यौ नयाँ काँचुली, नयाँ लुगा
समय मुस्काइन् जनलहरसँगै ।
हे राजधानी !
१० वर्षे जनयुद्ध के फरक भो र !
त्यही आत्मा लिएर उभिन्छ्यौ भने
अधिनायक हाबी हुँदै
तिमीभित्रको न्याय नै हराए
निशाप कुन चरा बनेर उड्छ
तिमीलाई थाहा नै छैन,
किनभने,
जति योगी आए कानै चिरुवा,
बाल्दै धूँवामुश्लो टायरहरु
जंगल कानून भाग्दै आयो
बन्दको नाउँमा,
जसले जे पायो त्यही गर्‍यो,
अर्को पटक समय हाँस्छिन् आवेगमा ।
हे ! राजधानी !
डुब्यो नारायणहिटी रक्तकुण्डमा
लाचार बन्यौ तिमी
रक्त मुकुट क्षणिक देखें
यतिबेला समयमात्र होइन, म पनि हाँसे खित्का छाडेर ।
हे ! राजधानी !
तिमीभित्र समाहित हुन
हुरी आयो बनजंगल ढाक्दै लोकतन्त्रको
तब देखें मैले
कंकाल जिर्ण शरीर ढाक्दै नयाँ लुगा लोकतन्त्रको
तिमी सज्जिएकी पुतली बन्दै,
यो रुपमा बौलाउन थाले मतियारहरु,
हे राजधानी !
हात हातको खिलौना बन्दै
निर्वस्त्र बनाउने होडमा
तिम्रो बलात्कार हुँदैछ
६०१ को जमातमा तिमी नांगिदैछ्यौ
तिमी हराउँदै गरेको देखेर
हे राजधानी ! समय खित्का छाडेर हाँसेकी छिन् ।